७ वर्षदेखि हुन सकेन राष्ट्रिय बीमा कम्पनीको एजीएम, बीमा समिति भन्छ-स्पष्टीकरण खोई ?

  २०७६ असार ३१ गते १४:५०     नबिन पोखरेल

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा(एजीएम) ७ वर्षदेखि रोकिएको छ । आर्थिक बर्ष २०६८/६९ देखि हालसम्म कम्पनीले साधारण सभा नभएको हो ।

कम्पनीले आव २०६८/०६९ को १ सय २० प्रतिशत बोनश प्रस्ताव गरी वित्तीय विवरण बीमा समितिमा बुझाएको थियो । तर समितिले सो वित्तीय विवरणलाई स्वीकृत प्रदान गरेन, हालसम्म पनि सो समस्याको निकास नआउँदा सात वर्षदेखि साधारण सभा रोकिएको हो ।

समितिले यस समन्धमा कम्पनीसँग स्पष्टिकरण माग गरेपनि कम्पनीले स्पष्टिकरण बुझाउन अटेरी गर्दै आएको छ । समितिले स्पष्टिकरण माग गरेको अवधि १ वर्ष नाघि सकेको छ ।

यस सम्बन्धमा राष्ट्रिय बीमा कम्पनीको कम्पनी सचिव निरञ्जन आचार्यले भने-‘हामी चुक्तापूँजी पुर्याउने तयारीमा छौँ, राष्ट्रिय बीमा संस्थान र कम्पनी अलग भए केही कमजोरी देखिएका छन्, त्यसले काम गर्न केही समस्या भएको हो ।’

आचार्यले आर्थिक बर्ष २०६८/६९ को वित्तीय विवरण बीमा समितिमा पठाएको र सोही विषयमा १२० प्रतिशत बोनश नराख्न समितिले निर्देशित गरेको बताए । छिट्टै समस्याको निकास आउने पनि उनले बताए ।

कम्पनीका एक अधिकारीले भने-‘आव २०७५/०७६ को तेस्रो क्वाटरको रिर्पोट हेर्नुस्, हामीसँग ५६ करोड रुपैयाँ नाफा रहेको छ ।’ ती अधिकारीले पूँजीकोषमा समेत १ अर्ब रुपैयाँ रहेकोमा जोड दिए ।

लामो समयदेखि कम्पनीको रोकिएको वार्षिक साधारण सभा गर्नका लागि बीमा समितिले बाटो फुकुवा गर्नु पर्ने ती अधिकारीको तर्क छ ।
यस सम्बन्धमा विकासन्युजको जिज्ञासामा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले भने–‘हामी कहाँ राष्ट्रिय बीमा कम्पनीले प्रस्ताव ल्याएको कुरा सहीँ हो, तर सो प्रस्ताव आए पश्चात हामीले केही कुराको सफाई माग गरेका छौ, त्यो अहिलेसम्म प्राप्त भएको छैन ।’ विगत केही वर्षदेखिको समस्याको समाधान कम्पनी आफैले गर्नु पर्छ-अध्यक्ष चापागाईँले भने ।

सेयरको अवस्था:
राष्ट्रिय बीमा कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २६ लाख ६६ हजार कित्ता सेयर सूचीकृत छ । कम्पनीको बजार पूँजीकरण २५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर मूल्य प्रति कित्ता ९ हजार ४ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्यले लगानीकर्तामा रहेको विश्वास झल्काउँछ । सो विषयमा कम्पनीले आफूहरुले आर्जन गर्ने नाफा, बलियोे पूँजीकोष लगायतका कुरा कम्पनीलाई विश्वास गर्ने बलियो आधारको रुपमा रहेको दाबी गरेको छ ।

बीमा समितिले दिएको निर्देशन अनुसार कम्पनीको चुक्तापूँजीको विषयमा पनि आफ्नो प्रयास जारी रहेको बतायो । सो विषयमा भने केही दिनमा बोर्ड बैठकले निर्णय गर्ने कम्पनीले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीले विगतका बोनश लगायतका विषयमा छानबिन गर्न सिए समेत नियुक्त गरेको जनाएको छ । सिएले ५–६ महिना लगाएर वित्तीय अनुसन्धानपनि गरेका छन् । सोही अनुसन्धानले निकास दिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.