कसले भत्कायो मेलम्चीको पानी बाँड्ने २९ किलोमिटर पाइपलाइन ?(सूचिसहित)

  २०७६ असार ११ गते ८:२१     विकासन्युज

काठमाडौं । राजधानीबासीका धारासम्म मेलम्चीको पानी वितरण गर्न भन्दै बिछ्याईएका पाइपहरु धमाधम बिग्रिन थालेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हालसम्म २९ किलोमिटर भन्दा बढी पाइपमा क्षति पुगेको छ । त्यसबाट निर्देशनालयलाई १६ करोड ४ लाख ५० हजार ९८ रुपैंयाँ नोक्सानी भएको छ ।

‘सडक, महानगर, ढल लगायतका निकायहरुले आफ्ना संरचना निर्माण तथा मर्मतका क्रममा हाम्रा पाइप भत्काए’, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेस प्रसाद खत्रीले भने । त्यसरी क्षति पुगेका पाइपहरु बिछ्याउने कामका लागि रकम उपलब्ध गराउन पटक पटक ताकेदा गर्दा समेत कुनै पनि निकायले चासो नदिएको आरोप पनि लगाए । ‘जसले जति क्षति पुर्याएको हो, उसैले मर्मत वा मर्मतका लागि आवश्यक रकम दिनुपर्ने व्यवस्था छ,, हामीले पटक पटक पत्राचार गरेका छौं तर कुनै पनि निकायले पैसा दिएका छैनन्’, निर्देशनालय प्रमुख खत्रीले भने ।

खत्रीका अनुसार सबै भन्दा धेरै काठमाडौं महानगरपालिकाले ४ करोड १९ लाख ५४ हजार ३ सय ९८ रुपैंयाँ मूल्य पर्ने ७ किलोमिटर भन्दा लामो पाइप लाइन बिगारिदिएको छ । त्यस्तै, चक्रपथ विस्तार आयोजनाले १ करोड ६२ लाख ३० हजार ८ सय ५५ रुपैंयाँ बराबरको ८३४ मिटर थोक वितरण लाइनको पाइप बिगारेको छ ।

बिछ्याईएका पाइपलाइनमा धमाधम क्षति पुग्न थालेपछि आयोजना कार्यान्वयन निर्देशनालय थप चिन्तित बनेको छ । ‘हामी बनाउँदै गैररहेका छौं, अन्य निकायहरु भत्काउँदै गैरहेका छन्, मेलम्चीको पानी काठमाडौं आउँदासम्म पाइपहरु कुन अवस्थामा पुग्ने हुन चिन्ता हुन लागेको छ’, खत्रीले भने ।

संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले त्यसरी भत्काईएका पाइपहरुको मर्मतका लागि तत्काल रकम उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएकी छिन् । ‘मेलम्चीको पानी वितरण गर्न बिछ्याईएका पाइप भत्काउने निकायहरुले तत्काल त्यसको मर्मतका लागि आवश्यक रकम उपलब्ध गराउनु पर्छ’, सभापति खड्काले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.