कर्मचारीको तलब बढेपछि अर्थमा कारवाहीको चर्चा ! ७५ साउन १ गते लेख्ने को ?

  २०७६ जेठ १९ गते १९:२०     विकासन्युज

काठमाडौं । कर्मचारीको तलब वृद्धिको प्रशंगले यतिबेला अर्थ मन्त्रालयमा खैला बैला मच्चिएको छ । कर्मचारीको तलब वृद्धि गरेपछि खुसी बाढ्नुपर्नेमा उल्टै कारवाहीको चर्चाले अर्थमन्त्रालयलाई तताएको छ । बजेटले राजपत्रांकित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ । यसले तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरुमा खुसियाली ल्याउनु पर्ने हो ।

तर अर्थमन्त्रालयमा भने माथिल्ला तहका कोहि कर्मचारीलाई कारवाहीको चर्चा चलेको छ । २०७६ साउन १ गतेदेखि कर्मचारीको तलब बढ्नुपर्ने थियो । तर बजेट लेख्नेहरुले २०७५ साल साउन १ गतेदेखि तलब बढ्ने भनेर लेखिदिए । अर्थमन्त्रीले सोही व्यहोरा संसदमा वाचन गरे । यसरी बजेट लेखनमा गम्भिर त्रुटि गर्ने कर्मचारीलाई कारवाही हुन्छ की हुन्न ? भनेर एकथरी कर्मचारी कुरिरहेका छन् । ‘यत्रो गम्भिर त्रुटि गर्नेहरुलाई कारवाही हुन्छ की हुन्न, हामी हेरिरहेका छौं, यहि वक्तव्य पास हुन्थ्यो भने एक वर्षअघिदेखि तलब वृद्धि गर्नुपर्ने हुन्थ्यो’, अर्थमन्त्रालयका एक अधिकारीले भने ।

अर्थमन्त्री डा. युवराज खतिवडाको बजेट निर्माणमा संलग्न कोर टिमले गम्भिर त्रुटि गरेको पनि उनीहरुको आरोप छ । ‘कोर टिम भनेर सबै काम अत्यन्तै गोप्य राखियो, तर बजेट वक्तव्यमा यत्रो गम्भिर त्रुटि गरियो, कोर टिमले के हेर्यो ?’अर्थका कर्मचारीको प्रश्न छ । अर्थमन्त्री डा. खतिवडाले बजेट वक्तव्यमा आगामी २०७५ साउन १ गतेदेखि लागु हुने गरि तलब वृद्धि गरिएको भनेका छन् । संसद वेभसाइटमा राखिएको भिडियोको २ घण्टा २० सेकेण्डपछि अर्थमन्त्रीले २०७५ साउन १ गतेदेखि लागु हुनेगरि तलब बढेको भनेका छन् ।

तलब वृद्धि सम्बन्धी बुँदामा त्यसरी गम्भिर त्रुटी भेटिएपछि सकेसम्म वितरण गरिएका बजेट वक्तव्य फिर्ता गर्ने प्रयास गरियो । यतिबेला नयाँ प्रिन्ट गरेर वितरण गर्ने काम भैरहेको छ । त्यति मात्रै होइन, बाल मृत्युदर घटाउने योजनालाई बढाउने भनि लेखिएको, तथ्यांकको हिसाब किताब नमिलेका जस्ता अन्य त्रुटिहरु समेत फेला परिरहेका छन् । आर्थिक सर्वेक्षणमा अर्बलाई खर्ब लेखिएपछि केरमेट गरेर सच्याउँदै सांसदलाई बाढीएको थियो ।

अर्थमन्त्रीको भाषण डिलिट हुन्छ
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बजेट वक्तव्य वाचनका क्रममा भएको त्रुटिलाई रेकर्डबाट हटाइने बताए । ‘मानवीय त्रुटिहरुलाई रेकर्डबाट हटाउने गरिएको छ, अर्थमन्त्रीज्यूले बजेट वक्तव्य वाचन गर्दा भएका त्रुटिहरु रेकर्डबाट डिलिट गर्छाै’, प्रवक्ता डा. पाण्डेले भने । उनले बजेट वक्तव्यमा मानविय त्रुटि भएकाले त्यसलाई सच्याइनुलाई अन्यथा लिन नहुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.