मागको ९० प्रतिशत सिमेण्ट नेपालमै उत्पादन

  २०७६ जेठ १३ गते १९:००     विकासन्युज


काठमाडौँ । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा मागको ९० प्रतिशत सिमेण्ट नेपालमा नै उत्पादन भइरहेको जनाइएको छ । सिमेण्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेखनीय सफलता प्राप्त भई वार्षिक ४५ लाख टन सिमेण्ट उत्पादन भई मागको ९० प्रतिशत सिमेण्ट स्वदेशमै उत्पादन भई सिमेण्टको आयातमा कमी आएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षणअनुसार हालसम्म २० हजार टन दैनिक सिमेण्ट उत्पादन गर्ने क्षमता भएका २६ सिमेण्ट उद्योग स्थापना भई सञ्चालन छन् । यस्तै छ सिमेण्ट उद्योग निर्माणाधीन अवस्थामा छन् । यस्तै सर्वेक्षणमा १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको उल्लेख छ । जम्मा ६४ करोड टन प्रमाणित, ११ करोड टन अर्ध–प्रमाणित र ३२ करोड टन सम्भाव्य गरी कूल १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सरकारले उदयपुर, धनकुटा, खोटाङ्, सिन्धुली, मकवानपुर, ललितपुर, धादिङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, दाङ, सल्यान, सुर्खेत, बैतडी लगायतका जिल्लामा चुनढुङ्गा अन्वेषण गरेको हो ।

यस्तै, शीघ्र आर्थिक तथा वित्तीय प्रतिफल प्राप्त हुने खनिज खरी, मार्बल, जेम्स स्टोन, कोइला, क्वार्जाइट, क्यालासाइट र रातोमाटोमा आधारित साना तथा मझौला स्तरका खनिज भण्डारको अन्वेषणदेखि उत्पादनसम्मको कार्यका लागि आव २०७४÷७५ सम्म १२९ उत्खनन र ३६२ खोजतलास कार्यको प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, हेटौँडा, धरान, विराटनगर, सुर्खेत, नेपालगञ्ज, जनकपुर, धनगढी, महेन्द्रनगर, भरतपुर, विदुर, जलेश्वरलगायत शहरको व्यवस्थित शहरी विकास र फोहरमैला व्यवस्थापनका लागि भू–इञ्जिनीयरिङ तथा भू–वातावरणीय अन्वेषणको सर्वेक्षणको कार्य सम्पन्न भएको जनाइएको छ ।

यसैगरी, चुनढुङ्गा, पत्थर, कोइला, खरी टुर्मालिन, काइनाइटलगायत ११ खनिजमा आधारित जम्मा १३१ खानी सञ्चालनमा छन् । ती खानीमा छ हजार ५०० जनशक्तिले रोजगारी पाएका छन् । खनिजमा आधारित ६७ उद्योगमा करीब रु ४।५ अर्ब वैदेशिक लगानी स्वीकृत भई सोबाट थप करीब आठ हजार छ सय रोजगारी सिर्जना हुने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.