मेलम्ची आयोजना छोटो प्रक्रियाबाट बनाउने मन्त्रिपरिषद्को निर्णय

  २०७६ जेठ ८ गते १५:५०     विकासन्युज

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छोटो प्रक्रियाबाट सम्पन्न गर्ने निर्णय गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खानेपानी मन्त्री बीना मगरले मेलम्ची बाँकी काम सम्पन्न गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेकी हुन् । इटालियन कम्पनी सीएमसीले कम्पनीले सुरुङ निर्माणको ठेक्का तोडेर भागेपछि यो योजना कार्यन्वयमा गतिरोध आएको थियो ।

विगत पाँच महिनादेखि मेलम्ची परियोजना निर्माणको काम ठप्प भएपछि प्रधानमन्त्री ओलीले सक्रिय भएका थिए । मेलम्ची परियोजनाको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडिबी) र परामर्शदाता कम्पनी इप्टिसाले दिएको प्रतिवेदनलाई आधारित बनाएर नयाँ निर्णय भएको र अब काम फटाफट हुने बताईएको छ ।
एडिबी र इप्टिसाले करिब १० वटा प्याकेज बनाएर काम अघि बढाउन सुझाव दिएका थिए । मेलम्चीमा अब हेड वक्र्स, भेन्टिलेशन, सुरुङ फिनिसिङ, गेट निर्माण लगायतका गरि कुल २ अर्ब ५० करोड रुपैंयाँ बराबरको काम बाँकी रहेको प्रतिवेदन एडिबी र इप्टिसाले तयार पारेका छन् । यी दुबै निकायले केहि काम सिधै दिन सकिने, केहि काम सपिङ गर्नुपर्ने र केहिलाई सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का लगाउनु पर्ने प्रतिवेदन तयार पारेर बुझाएका थिए ।

एडीबीले मार्च ७ तारिखका दिन अर्थमन्त्रालयमा आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो भने इप्टिसाले मार्च २१ तारिखका दिन मेलम्ची खानेपानी विकास समितिलाई आयोजनाको बाँकी काम सम्पन्न गर्ने सम्बन्धी विस्तृत योजना बुझाएको थियो । मेलम्चीको बाँकी काम छोटो बाटोबाट सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले माघ १४ गते निर्देशन दिएको थियो ।

मेलम्चीको सुरुङ र हेड वक्र्सको निर्माण जिम्मेवारी लिएको इटालियन कम्पनी सिएमसीले डिसेम्बर १४ तारिखका दिन ठेक्का तोडेको थियो । सोही दिनदेखि मेलम्चीको काम रोकिएको हो । मेलम्चीमा स्थानीय ठेकेदारहरुको डेढ अर्ब रुपैंयाँ भुक्तानी सबै भन्दा पेचिलो बिषय बन्दै आएको छ । सिएमसीसँग लिन बाँकी डेढ अर्ब नपाए मेलम्चीको बाँकी काम अघि बढ्न नदिने स्थानीय ठेकेदार तथा सप्लायरहरुले बताउँदै आएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउनेबारे सरकारले वृहत सर्वदलीय सहमति खोज्ने भएको छ । एक हप्ताभित्रै सर्वदलीय सहमति खोजेर मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने निष्कर्षमा सरकार पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.