३ अर्ब भन्दा बढी लगानीका भएका कम्पनी ५० वटा, कसको कति ?

  २०७६ वैशाख ४ गते १९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा सञ्चालित ५० ठूला कम्पनीहरुको चुक्ता पुँजी सवा ५ खर्ब भन्दा बढी रहेको देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ३ अर्ब भन्दा धेरै चुक्ता पुँजी कायम गरी दर्ता भएका कम्पनीहरुको जम्मा संख्या ५० रहेकोमा उक्त कम्पनीहरुको चुक्ता पुँजी ५ खर्ब रुपैयाँ छ ।

३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका ५० कम्पनीमध्ये २९ वटा बैंक छन् । १५ वटा जलविद्युत कम्पनी रहेका छन् । २ वटा बीमा कम्पनी, २ वटा सिमेन्ट र दूरसञ्चार र पेट्रोलियमसँग सम्बन्धित १/१ वटा कम्पनी रहेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

२९ बैंकहरुमध्ये एउटा पूर्वाधार विकास बैंक र २८ वटा वाणिज्य बैंक छन् । त्यस्तै बीमा कम्पनीमा एउटा पुनर्बीमा कम्पनी र एउटा लाइफ इन्स्योरेन्स कम्पनी छ । दूरसञ्चार कम्पनीमा नेपाल टेलिकम र पेट्रोलियमसँग सम्बन्धित कम्पनीमा बी बी पेट्रोलियम ३ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको रुपमा रहेको छ । त्यस्तै, शिवम् सिमेन्ट र सौर्य सिमेन्ट इन्डष्ट्रिज पनि सो क्षेत्रमा समेटिएका छन् ।

सर्वाधिक चुक्ता पुँजी भएको कम्पनीहरुको संख्या र कुल चुक्ता पुँजीका आधारमा बैंकिङ क्षेत्रकै वर्चस्व देखिए पनि सबैभन्दा ठूला ५ कम्पनीहरुमा भने बैंकिङ क्षेत्रको नेपाल इन्फास्ट्रक्चर बैंक मात्रै परेको छ । त्यो पनि पूर्वाधार क्षेत्रमै लगानी गर्ने उद्देश्यले यसै वर्ष खुलेको बैंक हो । यस बैंकले २० अर्ब चुक्ता पुँजी पुर्याउने उद्देश्य भए पनि हाल यसको चुक्ता पुँजी १४ अर्ब मात्रै छ, बाँकी ६ अर्ब बराबरको साधारण शेयर जारी गर्दैछ ।

५० वटा कम्पनीको ५ खर्ब २५ अर्ब बराबरको चुक्ता पुँजीमध्ये ३ खर्ब ८९ अर्ब रुपैंया बैंक तथा वित्तीय संस्थाको तथा १ खर्ब ३५ अर्ब रुपैंया अन्य क्षेत्रको रहेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयबाट प्राप्त विवरण अनुसार चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो कम्पनी अरुण ३ पावर डेभलमेन्ट कम्पनी हो । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने उद्देश्यले स्थापित कम्पनीको चुक्ता पुँजी २४ अर्ब ७५ करोड रहेको कार्यालयले जनाएको छ ।

यसमा भारतीय सरकारी लगानीको एसजेवीएनले लगानी गरेको छ । देशकै सबैभन्दा ठूलो कम्पनीको रुपमा सञ्चालित छ । नेपाल सरकार र सर्वसाधारण समेतको लगानी भएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (साविकको जलविद्युत् लगानी तथा विकास कम्पनी) २२ अर्ब चुक्ता पुँजीसहित देशकै दोस्रो ठूलो कम्पनीको रुपमा कायम भएको छ । यसमा सबैभन्दा बढी लगानी नेपाल सरकारको छ । यस कम्पनीले सर्वसाधारणको लागि पनि सेयर निष्काशन गरेको थियो ।

दोस्रो बजारमा शेयर कारोबार हुने कम्पनीमध्ये सबैभन्दा धेरै बजार पुँजीकरण भएको कम्पनीको रुपमा रहेको सरकारी लगानीको दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने चुक्ता पुँजीका आधारमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ ।

बैंकिङ क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी भएको बैंक भने कृषि विकास बैंक हो । कुल १४ अर्ब ५० करोड चुक्ता पुँजी भए पनि ६ अर्ब पुँजी भने फिर्ता नहुने प्रकृतिको ६ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको हिस्सासहित उक्त परिमाणमा चुक्ता पुँजी कायम भएको हो । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक (१२ अर्ब ६२ करोड) र मेगा बैंक १० अर्ब ४८ करोड रुपैंया चुक्ता पुँजीसहित दश अर्ब भन्दा माथि चुक्ता पुँजी भएको कम्पनीको रुपमा रहेका छन् ।

अन्य बैंकहरुको चुक्ता पुँजी ८ अर्बदेखि १० अर्ब छन् । एनसीसी बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डूको चुक्ता पुँजी अघिल्लो वर्ष ८ अर्ब नपुगेको भए पनि यो वर्ष हकप्रद र बोनस शेयरमार्फत् ती बैंकहरुले पनि ८ अर्ब चुक्ता पुँजी पुर्याइसकेका छन् ।

पूर्वाधार क्षेत्रतर्फ भने १५ अर्बको नेपाल टेलिकम पछि ७ अर्ब ९४ करोडको अपर तामाकोशी बढी चुक्ता पुँजी भएको कम्पनी हो । ९८ प्रतिशत भौतिक प्रगति सकेको उक्त कम्पनीले निर्माण गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोशीको विद्युत् उत्पादन मंसिरदेखि सुरु हुने बताइएको छ भने सर्वसाधारणलाई आईपीओ जारी समेत गरिसकेको छ । यो कम्पनी देशकै सबैभन्दा बढी शेयरधनी भएको कम्पनी समेत हो ।

त्यसबाहेक बीबी पेट्रोलियमको ५ अर्ब १० करोड, तनहुँ हाइड्रोपावर, पुनर्बीमा कम्पनी र सिचुवान वाङ्गपिङग ईनर्जी साईन्स एण्ड टेक्लोजीको ५/५ अर्ब चुक्ता पुँजी छ । यी बाहेक बाँकी १३ वटा कम्पनीको भने ३ अर्ब देखि ५ अर्बसम्म चुक्ता पुँजी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.