१५ महिनामा ६० अर्ब रुपैयाँको सेयर थपिदै, कस्तो असर पर्ला बजारमा ?

  २०७५ चैत २४ गते १९:४७     विकासन्युज

काठमाडौं । सेयरमा लगानी गर्न बीमा समितिले खुकुलो नीति बनाएपछि बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको सेयर भटाभट किनिरहेका छन् । एक महिना अघिसम्म दैनिक कारोबार २०/२५ करोड हुने बजारमा हाल दैनिक ५०/५५ करोड हुन थालेको छ । करिब १ महिनामा नेप्से परिसूचक ११०० बाट ११८२ अंकमा चढेको छ ।

बैंकहरुले निक्षेपको व्याज घटाउन थालेका छन् । बैशाख १५ पछि कर्जाको व्याज पनि घट्ने अपेक्षा गरिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने र बैकिङ बजारमा लगानी योग्यपुँजी पनि बृद्धि हुने अपेक्षा यो क्षेत्रमा गरिएको छ ।

गत एक वर्ष नेप्से परिसूचक ११०० देखि १४०० को बीचमा रह्यो । अधिकांश समय ११०० देखि १२०० बीचमा रह्यो । अब बजार घट्दैन, बढ्ने नै हो ।

सरकारले नयाँ बजेट ल्याउने समय भएको छ । लगत्तै राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गर्छ । केही न केही नयाँ काम हुन्छन् । सेयर बजार बढ्छ । आशावादी लगानीकर्ताको यहि छ मूल्याङकन ।

आपूर्तिको दवाव जारी

गत वर्ष आर्थिक वृद्धि राम्रो भयो । बैंक तथा वित्तीय संस्थाको नाफा पनि बढेकै हो । राम्रा कम्पनीले लगानीकर्तालाई लोभ्याउने लाभांश पनि बाढेकै हुन् । तर समग्रमा सेयर बजारका लगानीकर्ताको लागि गत वर्ष निराशाजनक नै रह्यो ।

धितोपत्र बोर्डका अनुसार गत वर्ष २५ अर्ब ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको थियो भने ३३ अर्ब ८ करोड बोनस सेयर थपिएको थियो । केही नयाँ साधारण सेयर पनि निष्काशन भए ।

सामान्यतया सेयरको आपूर्ति वृद्धिले मूल्य घटाउन दवाव दिन्छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा यस्तै भयो । र, आगामी आर्थिक वर्ष २०७६/७७ मा पनि सेयर आपूर्ति उल्लेख्य रुपमा हुने देखिएको छ ।

आगामी १५ महिना अर्थात आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म ६० अर्ब रुपैयाँ भन्दा बढी धितोपत्रहरु (सेयर, बैंकहरुको ऋणपत्र तथा म्यूचल फण्डहरु) निष्काशन हुने देखिन्छ, सरकारी ऋणपत्र बाहेक ।

चालु आर्थिक वर्षको स्थिति
आर्थिक वर्ष २०७५/७६ को पहिलो ९ महिनामा १६ अर्ब २७ करोड रुपैयाँ बराबरको साधारण सेयर थपिएको छ । यस अवधिमा २० वटा कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति लिई ६ अर्ब ३० करोडको साधारण सेयर निष्काशन गरेका छन् ।

अझै २ अर्ब २९ करोडको साधारण सेयर निष्काशनको प्रक्रियामा छन् । साधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृतिको प्रतिक्षमा १७ कम्पनी मध्ये अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु रहेका छन् ।

त्यस्तै, ३ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन हुँदैछ । यसै वर्ष ५ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन भईसके ।

चालु आर्थिक वर्षमा १५ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र निष्काशन भईसकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले अझै ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दैछन् ।

चालु आर्थिक वर्षमा ७ अर्ब ५० करोड रुपैयाँको म्यूचल फण्ड थपिएका छन् । त्यसमा ग्लोबल आईएमईले १ अर्ब २० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० करोडको म्यूचल फण्ड धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ ।

नेप्सेमा सूचिकृत २२१ वटा कम्पनी मध्ये यस वर्ष ७१ वटा कम्पनीले मात्र वार्षिक साधारणसभा गरेका छन् । अहिलेसम्म ५७ वटा कम्पनीले १७ अर्ब ३५ करोडको बोनस सेयर दिएका छन् । केही कम्पनीहरुले नगद लाभांश दिएका छन् भने केही कम्पनीले आफ्ना लगानीकर्तालाई रित्तो घर फर्काए ।

म्यूचल फण्डतर्फ पनि १ अर्ब २० करोड थपिएको छ । ७ अर्ब ७५ करोड रुपैयाँको म्यूचल फण्ड थपिने क्रममा रहेको छ । यसै आर्थिक वर्षमा यी फण्डहरु निष्काशन हुँदैछन् ।

नयाँ सेयर आपूर्ति अरु पनि हुँदैछन् । अझै आधाभन्दा बढी कम्पनीहरुको वार्षिक साधारणसभा हुन सकेको छैन । नेप्सेमा सूचिकृत कुनै पनि बीमा कम्पनीले यस वर्ष वार्षिक साधारणसभा गर्न सकेका छैनन् । अधिकांश बीमा कम्पनीहरुले बोनस सेयर दिने निश्चित छ । साथै, तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन उनीहरुले हकप्रद सेयर जारी गर्नुपर्ने बाध्यता ।

निर्जीवन बीमा कम्पनीहरुले २०७६ असार मसान्तसम्ममा १०० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने बाध्यता छ । १५ वटा कम्पनीले करिव ६ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा बोनस सेयर निष्काशन गर्दैछन् ।

पुराना ९ वटा जीवनबीमा कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ वाहेक सबैले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्काशन गर्दैछन् । हकप्रद सेयर निष्काशन नगर्नेले पनि बोनस सेयर निष्काशन गर्दैछन् । पुराना ९ वटा जीवन बीमा कम्पनीबाट करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस र हकप्रद सेयर निष्काशन हुँदैछ ।

आगामी आर्थिक वर्ष

अबको १५ महिनामा ९ वटा जीवन बीमा कम्पनीले साधारण सेयर निष्काशन गर्छन । प्रत्येक नयाँ जीवन बीमा कम्पनीले कम्तिमा ६० करोड रुपैयाँका दरले साधारण सेयर निष्काशन गर्नुपर्छ । यस आधारमा साढे पाँच अर्ब रुपैयाँ बराबरको सेयर थपिन्छ ।

पूर्वाधार विकास बैंकले ८ अर्बको साधारण सेयर निष्काशन गर्दैछ भने नेपाल पुर्नबीमा कम्पनीले १ अर्ब ६० करोडको साधारण सेयर निष्काशन गर्दैछन् । दुबै सेयर २०७६ सालभित्रै निश्काशन हुनेछन् ।

चालु आर्थिक वर्षमा अझै धेरै बैंक तथा वित्तीय संस्थाको साधारणसभा हुन बाँकी छ । एनसीसी, सिभिल, सेन्चुरी लगायतका वाणिज्य बैंकहरुले समेत साधारसभा गरेका छैनन् । २०७६ आसर मासन्तसम्ममा अझै धेरै बैंक तथा वित्तीय संस्थाले बोनस सेयर जारी गर्नेछन् ।

आक्रामक बजार विस्तार गरिरहेका बैंकहरुको क्यापिटल एडेक्वसी टाईट हुँदै गएकोले फेरि पनि नविल, इन्भेष्टमेन्ट, एनआईसी एशिया, ग्लोवल आईएमई, प्रभु बैंक लगायतले सेयरधनीलाई बोनस सेयर दिनेछन् । बजारमा सेयरको आपूतिलाई चाप पारिराख्नेछ । र, अबको १५ महिना भित्र कम्तिमा ६० अर्ब रुपैयाँ अंकित मूल्यको धितोपत्र बजारमा आउने छ ।

यसैबीचमा नेपाल टेलिकमको सेयर डाईल्युट गर्ने सरकारी निर्णय कार्यान्वयनमा आयो, साधारण सेयर निष्काशन गर्ने निर्णय गरिसकेका डिस होम, चन्द्रगिरी हिल्स लगायत १०० करोड भन्दा बढी पुँजी भएका कम्पनीहरु पुँजी बजारमा आएभने सेयरको आपूर्ति अझै बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.