२०७६ मा होटल/रेष्टुरेन्टको नाफा उच्च हुने, २३ अर्ब ५९ करोडले लगानी बढ्ने प्रक्षेपण

  २०७५ चैत २२ गते ८:४५     खेमराज श्रेष्ठ

काठमाडौं । होटल तथा रेष्टुरेन्टमा लगानी गर्नु भएको छ ? होटल रेष्टुरेन्ट चलेन भनेर चिन्तित हुनु हुन्छ भने नयाँ वर्ष २०७६ ले तपाईँको लागि खुशीको बहार ल्याउँदै छ । नयाँ वर्ष २०७६ मा होटल तथा रेष्टुरेन्टको ब्यापार बढ्ने देखिएको छ ।

राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको ५ वर्षको तथ्याङ्कले आर्थिक वर्ष ०७६/७७ मा होटल/रेष्टुरेन्टमा लगानी बढ्ने र कारोबार समेत उच्च हुने देखाएको हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । भ्रमण वर्षले नै लगानी र कारोबार बढाउने अनुमान आयोगले गरेको छ ।

चालू आर्थिक वर्षमा ४१ अर्ब ९४ करोड होटल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानी हुँदैछ । अर्को आर्थिक वर्ष ०७६/७७ मा २३ अर्ब ५९ करोड बढेर ६५ अर्ब ५३ करोड पुग्नेछ । आव ०७७/७८ मा २२ अर्ब ३८ करोडले बढेर ८७ अर्ब ९१ करोड लगानी पुग्नेछ । यस्तै आव ०७८/७९ मा ५ अर्ब ७० करोड बढेर ९३ अर्ब ६१ करोड लगानी पुग्नेछ । आव ०७९/८० मा ९ अर्ब ४७ करोड बढेर १ खर्ब ३ अर्ब ८ करोड लगानी पुग्नेछ ।

यस्तो छ १५ औं पञ्चवर्षीय योजना
चालु आर्थिक वर्षमा १०१२ डलर रहेको प्रतिव्यक्ति आय पाँच बर्षपछि अर्थात आर्थिक वर्ष ०८०/८१ मा ५ सय ८८ डलरले बढाएर १६ सय डलर पुर्याउने लक्ष्य तय गरिएको छ । आगामी पाँच बर्षमा देशको आर्थिक वृद्धि दर औषतमा १०.३ प्रतिशत कायम गराउने योजना छ ।

निरपेक्ष गरिबीको रेखा मुनी रहेको १८.७ प्रतिशतको जनसंख्यालाई १३ प्रतिशतमा झार्ने, औषत आयु हालेको ६९.६७ बर्षबाट ७२ बर्ष पुर्याउने, साक्षरतालाई ५८ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याउने, बेरोजगारीलाई ६ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । ७६ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने, ११२ किलोमिटर रेलमार्गको निर्माण सम्पन्न गर्ने योजना पनि बनेको छ ।

हाल ७६.९ प्रतिशत परिवार मात्रै आधा घण्टाको यात्रापछि यातायातको पहुँचमा पुग्छन्, आगामी पाँच बर्षपछि ९५ प्रतिशत नागरिकले आधा घण्टा पैदल हिडेपछि यातायातको सुविधा पाउनेछन् । ७५ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच विस्तार हुनेछ जुन हाल ५५.४ प्रतिशत रहेको छ । हाल १०२० मेगावाट जलविद्युत उत्पादन भैरहेको छ तर पाँच बर्षपछि त्यो बढेर ५ हजार मेगावाट हुनेछ ।

अर्थतन्त्रमा योगदान
चालु आर्थिक बर्षमा ३४ खर्ब ४९ अर्ब ८ करोड हुने अपेक्षा गरिएको कूल गार्हस्थ उत्पादन आगामी पाँच बर्षपछि ५५ खर्ब ७५ अर्ब १९ करोडका हुनेछ । यसमा कृषि वन र खानीको योगदान २८.२ प्रतिशतबाट घटाएर २३ प्रतिशत कायम गराइनेछ भने उद्योगका योगदान १४.२ प्रतिशतबाट बढाएर १९ प्रतिशत पुर्याइनेछ । सेवा क्षेत्रको योगदान भने ५७.६ प्रतिशतबाट बढेर ५८.७ प्रतिशत पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.