घरेलु उद्योगमा विदेशी लगानी ल्याउने प्रक्रियाबाट सरकारपछि हट्यो

  २०७५ चैत १ गते ९:४७     विकासन्युज

काठमाडौं । लघु घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने अडानबाट सरकार पछि हटेको छ । सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको विधेयकमा घरेलु उद्योगमा समेत विदेशी लगानी भित्र्याउन सकिने व्यवस्था अघि सारेको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका प्रतिनिधी मुलक संस्थाहरुको व्यापक विरोधपछि सरकार पछि हटेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले घरेलु तथा साना उद्योगमा लगानी भित्रिन नदिने स्पष्ट पारेका हुन् । मौलिक प्रकृतिका र आत्मनिर्भरताको बाटोमा रहेका घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउन लागिएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्त्री खतिवडाले सरकारको धारणा राखेका हुन् ।

उनले निश्चित सिमा भन्दा साना विदेशी लगानी स्वीकार नगर्ने व्यवस्था ऐनमा प्रस्ताव गरिएकाले घरेलु उद्योगमा विदेशी लगानी आउने सम्भवनै नरहेको स्पष्ट पारेका हुन् । घरेलु प्रकृतिका लाग्ने केहि उद्योगमा विदेशी लगानी आवश्यक देखिएकाले ऐनमा त्यस्तो प्रस्ताव गरिएको उनले स्पष्ट पारे । तर घरेलु उद्योगमा खुद्रे विदेशी लगानी भने नलिने उनले बताए ।

त्यस्तै, मन्त्री खतिवडाले गाई पालनका लागि पनि विदेशी लगानी नल्याउने जानकारी दिए । यद्यपी मिल्क होलिडेको सामना गरिरहेका किसानलाई विदेशी लगानीमा दुग्ध प्रशोधन केन्द्रमा विदेशी लगानी ल्याएर राहत दिन लागेको उनको भनाई थियो । उनले दुग्ध प्रशोधन केन्द्रमा विदेशी लगानी भित्र्याएर विश्वस्तरिय गुणस्तरका दुग्धजन्य उत्पादन तयार पारेर निर्यात गर्ने दावी पनि गरे । त्यस्तै, कृषिमा पनि विदेशी लगानी भित्र्याएर प्रशोधन र निर्यातको वातावरण तयार पार्न लागेको उनको स्पष्टीकरण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.