६८ वर्ष पुरानो पुस्तकालयकाे रूप फेरियाे, पाठकको गन्तव्य स्थल बन्दै

  २०७५ पुष २ गते १५:४७     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालित ६८ वर्ष पुरानो जनज्योति पुस्तकालयको काँचुली फेरिएको छ । विगत लामो समय भक्तपुर दरबार क्षेत्रस्थित साँघुरा कोठामा सञ्चालन भइरहेको भक्तपुरको ऐतिहासिक पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको काँचुली फेरिएको हो ।

जनज्योति पुस्तकालयको स्थापना विसं २००७ मा भएको हो । तत्कालीन राजा त्रिभुवनले घट्खामा उद्घाटन गरी सञ्चालनमा आएको यो पुस्तकालय करीब पाँच दशकभन्दा बढी दरबार क्षेत्रस्थित नपा भवनमा सञ्चालन हुँदै आइरहेको थियो । नगरपालिकाले यसको व्यवस्थित सञ्चालनका लागि भनपा–२ नःपुखुस्थित नगरपालिकाको नयाँ भवनमा गत जेठमा स्थानान्तरण गरेसँगै यो पुस्तकालयको काँचुली फेरिएको हो ।

गत जेठ ७ गते नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनप्रतिनिधिले काम थालेको एक वर्ष पूरा भएका अवसरमा पुस्तकालय उद्घाटन गरी नयाँ भवनमा सञ्चालन गरेको हो । पुस्तकालयमा पाठकको मागबमोजिम किताब राख्ने ठाउँ र भौतिक पूर्वाधारको अभाव भएपछि गत जेठमा नयाँ भवनमा स्थानान्तरण गरेर थप व्यवस्थित गरी सञ्चालनमा ल्याएको पुस्तकालयका प्रमुख भूपाल मूलको भनाई रहेको छ । उक्त पुस्तकालय सरेसँगै पाठकलाई पोखरीको मनोरम दृश्य, शान्त र फराकिलो कोठामा बसी पुस्तक र पत्रपत्रिका पढ्न एकदमै सजिलो भएको बताएका छन् ।

पुस्तकालय यता सरेपछि पहिलेभन्दा सङ्ख्यात्मक रुपमा अध्ययन गर्न आउने पाठकको सङ्ख्यामा समेत वृद्धि आएको छ । नयाँ भवनमा स्थानान्तरण गरेसँगै नगरपालिकाको आर्थिक सहयोगमा पाँच लाख बराबरको पाठकको मागअनुसार बजारमा आएका नयाँ साहित्य, राजनीतिक दर्शन, विद्यार्थीका लागि आवश्यक पुस्तक थपिएको छ ।

पुस्तकालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक र साहित्यकारका तस्बीरले थप पठनीय देखिएका छन् । पुस्तकालयमा नयाँ र पुराना गरी हाल एक हजार २ सय भन्दाबढी सदस्य रहेका छन् । पुस्तकालय थप व्यवस्थित गर्न सिसी क्यामरा जडान गरिनुका साथै पाठकलाई सहज तुल्याउन १२ हजारभन्दा बढी पुस्तक विद्युतीय दर्ता गर्ने अन्तिम तयारी भइरहेको छ । पुस्तकालयमा पढ्नका लागि राष्ट्रियस्तरका सबै दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाको व्यवस्थासमेत गरिएको छ । पुस्तकालयमा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषालगायत विभिन्न साहित्यिक क्षेत्रसँग सम्बन्धित पुस्तकसमेत सङ्कलनमा राखिएका छन् ।

पुस्तकालयमा गोरखापत्र दैनिकको विसं २०५६ यताका सबै अङ्क व्यवस्थित रुपमा अभिलेख राखिएको छ । साथै अन्य विभिन्न राष्ट्रिय पत्रपत्रिकाको दुई दुई वर्षका अभिलेख राख्ने गरिएको छ । आम पाठकको सहजताका लागि शनिबारसमेत खुला रहने पुस्तकालय जाडो महीनामा बिहान ११ बजेदेखि ५ बजेसम्म र गर्मी मौसममा ११ बजेदेखि ६ बजेसम्म खुला गर्दछ ।

पछिल्लो समय पुस्तकालय व्यवस्थित भएसँगै पाठकका लागि निःशुल्क इन्टरनेट सुविधादेखि अध्ययन कक्ष र शौचालयका समेत छुट्टै व्यवस्था गरिएको छ । पुस्तकालयमा आधुनिक तबरले विकास गर्न वैज्ञानिक पद्धतिलाई अवलम्बन गरी पुस्तक राखिएका छन् । भक्तपुरको इतिहास बोकेको यस पुस्तकालय ख्वपः विश्वविद्यालयको आधारका रुपमा विकास गर्दै जानुका साथै भविष्यमा इ–लाइबेरीका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.