नाफा विरोधीहरु अर्थमन्त्रालयको नेतृत्वमा पुगे, फलानोलाई ऋण देऊ भनेर फोन गर्न मिल्छ ?

  २०७५ मंसिर २६ गते १७:५८     विकासन्युज

काठमाडौं । ‘निजी क्षेत्रलाई प्रोत्साहन गरिएन, उद्योगी आतंकित छन्, गृहमन्त्रीले थुनिदिन्छु भन्छन्, उद्योगीलाई जेल हालेर दुई अंकको आर्थिक वृद्धिदर कसरी आउँछ ?’, यो प्रश्न कुनै उद्योगीको नभएर पुर्व अर्थमन्त्री डा. रामशरण महतको हो ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा पुर्व मन्त्री डा. महतले रेल र पानी जहाजको सपना बाढेर जनताका दैनिक समस्यामा सरकारले खेलवाड गरिरहेको आरोप पनि लगाए ।

उनले अर्थमन्त्रालयबाट विभिन्न बैंकहरुमा फोन गरेर ‘फलानोलाई ऋण देऊ’ भन्ने गरिएको आरोप पनि लगाए । ‘अर्थमन्त्रालयले माइक्रो मेनेजमेन्टको काम भैरहेको छ, बैंकहरुमा अर्थमन्त्रालयबाट फोन जान्छ रे, फलानोलाई ऋण देऊ भन्छन् रे, यस्तो गर्न पाइन्छ ?’, डा. महतले भने । उनले बैंकहरु मार्फत सहुलियत कर्जा प्रवाह हुनु ठीक भएपनि मेला लगाएर ऋण दिने परिपाटी भने गलत भएको बताए । ‘आवश्यकतामा आधारमा सहुलियत कर्जा दिनु ठिक हो तर यहाँ त मेला लगाएरै ऋण दिन थालिएको छ, त्यस्तो पनि हुन्छ ?’, डा. महतले प्रति प्रश्न गरे ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि अर्थमन्त्रालयले ब्याजदरमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । ‘ब्याजदरको निर्धारण राष्ट्र बैंक वा अर्थमन्त्रालयले गर्ने होइन, त्यो त बजारले निर्धारण गर्छ, तर यहाँ त ब्याजदरमा अनावश्यक हस्तक्षेप भैरहेको छ’, डा. भट्टले भने ।

उनले नाफा कमाउनेहरुलाई गाली गरेर कस्तो आर्थिक समृद्धि ल्याउन खोजेको भन्दै डा. भट्टले पनि प्रति प्रश्न गरे । ‘अर्थमन्त्रालयको नेतृत्वमा नाफा कमाउनेहरुलाई गाली गर्नेहरु पुगेका छन्, नाफा कमाउनै हु्न्न भन्नेहरुले चलाएको देशले कसरी समृद्धि पाउँछ’, उनले भने ।

अर्थमन्त्रालयले राष्ट्र बैंकको स्वायत्तता खोसेको आरोप पनि उनले लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.