ग्राहकले हेड अफिसमा पाइलो टेक्नु पर्दैन; काठमाडाैं र बाजुराकाे सेवा एउटै हुन्छ

  २०७५ मंसिर २३ गते ८:३१     विकासन्युज

पोषक राज पौडेल सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । मेटलाइफ इन्स्योरेन्समा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका पौडेलले त्यसअघि ६ वर्ष अडिट फर्ममा काम गरेका थिए भने शिक्षण पेशा र एनजीओ/आइएनजीओमा समेत काम गरेको अनुभव छ उनीसँग ।

चितवन स्थायी घर भएका पौडेलले गृह जिल्लामै स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । २०५३ सालमा काठमाडौं आएका उनले मेटलाइफमा काम गर्दागर्दै अमेरिकाबाट फिलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट (एफएलएमआई) डिग्री समेत लिएका छन् ।

डेढ वर्षअघि बीमा समितिले ९ ओटा बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय पछि सिटिजन्स लाइफ इन्स्योरेन्सले बीमा सञ्चालन अनुमतिपत्र प्राप्त गरेको थियो । अनुमतिपत्र प्राप्त गरी कारोबार सञ्चालन गरेदेखि नै आक्रामक बजार रणनीति अपनाएको सिटिजन्स लाइफ इन्स्योरेन्सको आन्तरिक व्यवस्थापन, बीमा पोलिसी लगायतका विषयमा केन्द्रित भई सीईओ पौडेलसँग गरिएको विकास बहस प्रस्तुत गरिएको छः


सिटिजन्स लाइफले कारोबार सञ्चालन गरेको पनि एक वर्ष भइसकेको छ, हालसम्ममा यसले कति प्रगति हासिल गर्यो ?

सिटिजन्स लाइफ इन्स्योरेस कम्पनी बीमा समितिबाट अघिल्लो आर्थिक वर्ष (२०७४/७५) मा लाइसेन्स प्राप्त गरी सञ्चालनमा आएको जीवन बीमा कम्पनी हो । यो कम्पनीले स्थापना कालदेखि नै राम्रो प्रगति गर्दै आएको छ । यो अवधिमा हामीले हरेक कोणबाट आफूलाई स्थापित गरिसकेका छौं । कम्पनीको संरचनागत प्रणाली र प्राविधिक पक्षहरु सबै तयार भइसकेका छन् । कर्मचारीको तालिम र वृत्ति विकासको सन्दर्भमा हामीले एउटा चरण पार गरिसकेका छौं । प्रोडक्टको हिसाबमा पनि हामीले ‘डाइभर्सिफाइड प्रोडक्ट’हरु लिएर आएका छौं । नेपालमै अहिलेम्म नभएको ‘युनिक प्रोडक्ट’ लन्च गरेका छौं । शाखाहरु पनि ५० भन्दा बढी भइसकेको छ । यसरी सबै कोणबाट हामीले स्थापना चरणको अबस्थाबाट माथि उठेका छौं ।

युनिक प्रोडक्ट ल्याएका छौं भन्नुभयो, त्यो कस्तो बीमा योजना हो ?

यसलाई हामीले ‘सिटिजन्स जीवन सारथी योजना’ नाम दिएका छौं । यो प्रोडक्टले वृद्धावस्थामा पेन्सनको विकल्प दिन्छ । यो आजीवन जीवन बीमा योजना हो । यो योजनाअन्तर्गत कुनै बीमितले बीमा गरेमा उसले ६० वर्षसम्म प्रिमियम भुक्तानी गर्नुपर्छ । ६० वर्ष पूरा भइसकेपछि उसले संकलन भएको प्रिमियम र बोनस एकमुष्ट पाउँछ । त्यसपछि बीमितले भुक्तानी गर्नु पर्दैन तर ७० वर्षसम्म बीमा कायमै रहन्छ भने त्यसपछि ७० वर्ष, ७५ वर्ष, ८० वर्ष, ८५ वर्ष र ९० वर्ष गरी प्रत्येक ५/५ वर्षमा २०/२० लाख रुपैंया फिर्ता गरिन्छ । यसप्रकार एउटै बीमा योजनाले दोब्बर लाभ प्राप्त गर्नु नै यो योजनाको मुख्य विशेषता हो ।

सामान्यतया, अन्य जीवन बीमा पोलिसीहरुमा निश्चित बीमा परिपक्व भएपछि बोनस र बीमाङ्क रकम फिर्ता गरेपछि बीमा करारको अन्त्य हुन्छ तर हामी बीमितको जीवनभर आइपर्ने वित्तीय समस्यामा सहायक बन्छौं ।

अहिलेको पुस्ता वर्तमानका साथ साथै आफ्नो भविष्यको बारेमा समेत चिन्तित हुने गरेको हामीले पाएका छौं । पारिवारिक संरचना र जीवनशैलीमा परिवर्तन आइरहँदा नेपाली समाज पनि अब एकल परिवारिक संरचनायुक्त जीवनशैलीमा प्रवेश गरेको सन्दर्भमा यस्तो चिन्ता स्वाभाविक पनि हो । त्यस्तै आवश्यकता पूरा गर्न हामीले यो ‘युनिक प्रोडक्ट’ ल्याएका हौं । यसले वृद्धावस्थामा अरुको भर पर्ने अवस्थाबाट मुक्ति पाइन्छ, वृद्धावस्थामा अरुको भर पनुपर्दा आइपर्ने हीनता बोधबाट समेत मुक्ति पाइन्छ । अहिले छोराछोरीले दिने १०/२० हजार भन्दा सरकारबाट पाउने २/४ हजार भत्तामा हाम्रा बुबाआमालाई गर्व हुन्छ । किनकी त्यो उहाँहरुको आफ्नो कमाई हुन्छ । यो योजनाले पनि भविष्यमा गर्वान्वित भएर बाँच्नसक्ने अवस्था सिर्जना गर्छ भन्ने हामीले ठानेका छौं ।

तपाईँले भन्नुभएजस्तो युनिक प्रोडक्टको विकल्पमा सरकारले विभिन्न योजनाहरु ल्याउँदैछ, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता कोषहरु आइरहेका छन्, छोराछोरीले आफ्नो कमाईको निश्चित हिस्सा बाबुआमालाई दिनैपर्ने कानून पनि बन्दै छ । यस्तो अवस्थामा सिटिजन्स जीवन सारथी योजनाको भविष्य कस्तो देख्नुहुन्छ ?

कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष जस्ता संस्थाहरुले बचतकर्तालाई एकमुष्ट रुपमा भुक्तानी गर्छन्, त्यसैले त्यो योजनासँग हाम्रो बीमा योजना मेल खाँदैन । जबसम्म अन्य दुई योजना र व्यवस्थाको सन्दर्भ छ, त्यो सामाजिक बीमामा आधारित छ, यस्तो अवस्थामा हामी हाम्रो योजनालाई व्यवसायिक बीमा योजनाको रुपमा अघि बढाउन सक्ने विकल्प रहन्छ । यस्तो सामाजिक सुरक्षा विकसित देशहरुमा समेत छन् तर व्यवसायिक बीमा योजनाहरु फस्टाइरहेका छन् । यद्यपि हाम्रो लागि त्यो केही चुनौती भने अवश्य हो ।

हालसम्म कति बीमा पोलिस बिक्री भए ? अन्य कस्ता प्रोडक्टहरु छन् ?

हामीले अहिलेसम्म ८० हजारको हाराहारीमा पोलिसीहरु बिक्री गरिसकेका छौं । त्यसमध्ये सबैभन्दा बढी बिक्री सिटिजन्स जीवन सारथी योजना भएको छ । त्यसबाहेक पनि अन्य योजनाहरु पनि हामीले ल्याएका छौं । जस्तै, २० प्रकारका जटिल रोगहरुमा सुरक्षा दिने योजना ल्याएका छौं । त्यति धेरै सुरक्षा दिने अन्य कुनै पनि कम्पनीको योजना छैन । बाल भविष्य योजनामा समेत हामीले ‘युनिक फिचर’ ल्याएका छौं, त्यसमा बीमित बालकको बुबाआमाको मृत्यु हुँदा वा अशक्त हुँदा उनीहरुका छोराछोरीको विद्यालय शुल्क तिरिदिने सुविधा त्योे योजनामा छ । अन्य धेरै योजनाहरु छन् जुन व्यवहारिक धरातलमा टेकेर बनाइएको छ र ती योजनाहरु हाम्रा ग्राहकहरुको हरेक अप्ठ्याराहरुसित जुध्न सहयोगी बन्नेछन् भन्ने हाम्रो विश्वास छ ।

छोटो अवधिमा ५० भन्दा बढी शाखा खोलिसक्नु भएको छ । ती शाखाको संरचना कस्तो छ ? सेवास्तर कस्तो छ ?

हामीलाई छिटोभन्दा छिटो धेरैभन्दा धेरै जनतामा पुग्नु छ, त्यसैले शाखा विस्तार पहिलो र अनिवार्य शर्त हो । शाखा विस्तारको कसरी र कति गर्ने भन्ने सन्दर्भमा अध्ययन गर्न हामीले छुट्टै विभाग बनाएका छौं, सोही विभागले गरेको सिफारिसका आधारमा नयाँ शाखाहरु खोलिएका हुन् र खुल्दै जानेछन् ।

हामीले प्रत्येक शाखाहरुलाई आइक्लाउड सिस्टममा आधारित केन्द्रिकृत प्रणालीमा जोडेका छौं, सबै शाखाहरु अत्याधुनिक प्रविधिको प्रयोग छ । प्रत्येक शाखामा २५ देखि ४० जनासम्म अभिकर्ता अट्न सक्ने ट्रेनिङ हलसहित पूर्ण प्रविधियुक्त संरचना र आवश्यक कर्मचारीको व्यवस्था गरेका छौं । हामी हरेक किसिमबाट बढ्दो प्रतिस्पर्धायुक्त वातावरणसँग जुध्न सक्ने संरचना बनाइसकेका छौं ।

कम्पनीको व्यवस्थापन कस्तो छ ?

हाम्रो व्यवस्थापन एकदमै राम्रो छ, हामीसँग अहिले करिब १५० कर्मचारी छन् । सबै कर्मचारीहरु एकदमै योग्य, सक्रिय एवं उत्साहित छन् । उनीहरुलाई सहज रुपमा काम गर्नसक्ने भौतिक सुविधा समेत छ । नयाँ बीमा योजनाहरुको विकासका लागि हामीसँग बीमाङ्कीय मुल्याङ्कन गर्न सक्ने क्षमता भएका कर्मचारीहरु पनि छन् । समग्रमा प्रभावकारी कार्यसम्पादनका लागि हामी अब्बल छौं ।

अभिकर्ता कति भए ? उनीहरुलाई परिचालन गर्नु कति चुनौतीपूर्ण छ ? अभिकर्तालाई तालिम र वृत्ति विकासको व्यवस्था चाहिँ कस्तो छ ?

हामीले अहिलेसम्म ७ हजार अभिकर्ता बनाइसकेका छौं, त्यसमध्ये २० प्रतिशत भन्दा बढी अत्यन्त सक्रिय छन् । अभिकर्तामुखी व्यवसाय भएकोले उनीहरुको संख्या बढाउने र उनीहरुलाई राम्रो तालिम दिनेतर्फ हामी बढी केन्द्रित छौं । अभिकर्ता परिचालन भन्दा हामीले अभिकर्ताको भर्नालाई सबैभन्दा बढी चुनौतीपूर्ण मानेका छौं । हामीलाई थाहा छ, हरेक व्यक्ति राम्रो कामदार बन्न सक्छ तर हरेक व्यक्ति राम्रो बिक्रेता बन्न सक्दैन । हामीले व्यक्तिमा भएको लगनशीलतालाई सेल्सम्यानसीपको क्षमतामा बदल्न सक्नुपर्छ, उनीहरुलाई यो क्षेत्रको सम्भावना छ र कमाई छ भन्ने बुझाउन सक्नुपर्छ । यो नै अहिलेको प्रमुख चुनौती हो ।

कुनै पनि अभिकर्ताले बीमा प्रोडक्ट बजारमा लिएर गएपछि सबैभन्दा पहिले ऊ ‘नियर एण्ड डियर’कहाँ जान्छ, त्यो चरण उसको लागि चुनौतीपूर्ण हुँदैन । तर जब त्यो चरण सिद्दिएर ऊ व्यवसायिक वृत्तमा पुग्छ, त्यो अवस्था उसको लागि चुनौतीपूर्ण बन्न सक्छ । धेरैजसो अभिकर्ताहरु त्यही समयमा असफल हुने सम्भावना हुन्छ । त्यस्तो अवस्थामा आइपर्ने समस्या र त्यस्तो समस्याबाट जुध्ने उपायबारे हामीले अभिकर्तालाई तालिम दिने गरेका छौं ।

बीमा क्षेत्रमा ‘पुस सेल’को प्रवृत्ति चाहिँ किन बढिरहेको ? एउटा व्यक्ति बीमा कम्पनीकहाँ मेरो बीमा गरिदिनुस् भन्दै जाने दिन चाहिँ कहिले आउला ?

यो बीमाको आवश्यकता र सम्भावनाको कारणले भएको हो । अहिलेसम्म पनि अधिकांश मानिसहरुमा बीमा गनुपर्छ भन्ने भावना नै आउन सकेको छैन भने कतिपयलाई त बीमा योजनाहरुको बारेमा थाहै हुँदैन । यस्तो अवस्थामा उनीहरुलाई सचेत र जागरुक गराउनु ‘पुस सेल’ होइन । विस्तारै मानिसहरु जागरुक हुँदै गएपछि र राम्रो प्रोडक्टहरु आफै छान्न सक्ने भएपछि तपाईँले भन्नुभएकोजस्तो अवस्था आउन सक्छ ।

तर व्यवसायिक वृत्तमा पुग्दा बढी चुनौती हुन्छ भन्नुको अर्थले त यो क्षेत्रले बीमितलाई बढी नै प्रेसर दिनु पर्ने अवस्था रहेको पुष्टि गर्छ नि होइन ?

तपाईँले भन्नुभएको कुरा एक हदसम्म ठिक हो तर यसको कारण छ । नेपालको आर्थिक अवस्थाको कारणले अझै पनि बीमा क्षेत्र अत्यावश्यक सेवाको श्रृंखलामा पर्दैन । विकसित देशहरुमा एउटा व्यक्तिले जागिरे जीवनको सुरुवात गरेपछि पहिलो महिनाको आम्दानीको खर्च सूचीमा बीमा पोलिसी पर्छ, नेपालमा त्यस्तो अवस्था नआएको अवस्थामा अभिकर्ताहरुलाई आवश्यकता महशुस गराउने सन्दर्भमा केही चुनौती थपिएको अवस्था हो । त्यसको लागि हाम्रो सामाजिक–सांस्कृतिक अवस्थाले पनि निर्धारण गरेको हुन्छ । हाम्रो समाजमा अहिले पनि सम्पत्ति सिञ्चित गर्ने पद्धति छ त्यसको सट्टामा बीमा सिञ्चित गर्ने पद्धति विकास हुँदै जानुपर्छ ।

राम्रो पोलिसीको लागि तपाईले धेरै गरेका छौं भन्नुभयो, राम्रो सेवाका लागि चाहिँ तपाईँहरुले के गरिरहनुभएको छ ?

हामीले जति पनि शाखाहरु खोलेका छौं ती सबै शाखाहरुले ए–क्लासको सेवा दिन्छ । काठमाडौं र जाजरकोटको हाम्रो शाखामा पाइने सेवा एउटै हुन्छ । हामीले सिस्टममा यस्तो क्षमता विकास गरेका छौं किदाबी भुक्तानीका लागि समेत बीमित केन्द्रीय कार्यालयसम्म धाउनु पर्दैन, जबकी यस्तो सुविधा अरु कसैसँग पनि छैन । हामीलाई थाहा छ, राम्रो सेवाले नै दीर्घकालसम्म ग्राहकको मन जित्न सकिन्छ, त्यसतर्फ हामी सचेत छौं ।

तर सेवा जति नै भए पनि पहिले त ग्राहकले प्रतिफल नै हेर्छ, वर्षौ अघिदेखि चल्दै आएका कम्पनीहरुसँग प्रतिफलमा तपाईहरुले कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?

अवश्य पनि एउटा ग्राहकले बीमा गर्नुअघि प्रतिफल हेर्छ तर उसले प्रतिफल मात्र हेर्दैन, डाइभर्सिफाइड बीमा योजना अनुसार आफ्नो आवश्यकता पूरा हुने किसिमको योजना ग्राहकको पहिलो रोजाइमा हुन्छ । हामीले अहिले दिने भनेको राम्रो सेवा र विविधतायुक्त बीमा योजनाहरु नै हो । हाम्रो यही सबलताको आधारमा हामी एउटा गतिलाई समात्छौं, केही वर्षमा हामी पनि उच्च प्रतिफल दिनसक्ने बन्छौं ।

लगानीकर्तालाई चाहिँ कहिले प्रतिफल दिनुहुन्छ ?

सञ्चालनमा आएको पहिलो वर्ष नै हामीले नाफा कमाउन सफल भएका छौं । यो वर्ष पनि प्रगति राम्रो छ, नाफामा धेरै ठूलो वृद्धि हसिल गर्न सक्ने अवस्था छ । हामीसँग करिब २०० जना संस्थापकहरु हुनुहुन्छ । स्थापना भएको पहिलो वर्षदेखि नै उपयुक्त नाफा कमाउन सफल भएकोले हामी राम्रो प्रतिफल दिनसक्नेमा विश्वास दिलाउन सक्छौं । यसबाट हाम्रा लगानीकर्ताहरु खुसी नै हुनुुहुन्छ भन्ने मलाई लाग्छ ।

कम्पनीको आईपीओ कहिले आउँछ ?

आईपीओका लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएका छौं । साधारणसभाले प्रस्ताव पारित गरेपछि बीमा समिति र धितोपत्र बोर्डमा जाने प्रक्रिया अघि बढ्छ । ती नियामकहरुबाट स्वीकृति पाएपछि हामी आईपीओ निष्कासन गर्छौं । हामीसँग अहिले १ अर्ब ७५ करोड पुँजी छ, हामी कुल चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ७५ करोडको आईपीओ जारी गरेर २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउँछौं ।

आफैंसँग बीमाङ्कीय मूल्यांकन गर्ने क्षमता भएका कर्मचारी छन् भन्नुभयो, पहिलो वर्ष बोनस रेट कुन रेन्जमा हुने प्रक्षेपण छ ?

त्यसमा हामी अध्ययनको चरणमा छौं । यति नै हुन्छ भन्ने तय त भइसकेको छैन । तर हाम्रो संस्थाको व्यवसायिक प्रगगिको आधारमा प्रतिस्पर्धात्मक रुपमा हामी उच्च प्रतिफलदर तय गर्न सक्छौं ।

बीमाङ्कीय मूल्यांकन आफ्नै कर्मचारीहरु पूर्णरुपमा सक्षम छन् कि अन्य कन्सल्टेन्टहरु एक्वायर गर्नुपर्छ ?

यसमा हामीसँग भएको स्रोत नै पर्याप्त छ । यसमा १५ ओटा पेपरहरु तयार गर्नुपर्छ, हाम्रै म्यानपावरबाट त्यसमध्ये ६ ओटा तयार भइसकेका छन् भने बाँकी ९ ओटा पेपर पनि तयार हुने क्रममा छन् । ती सबै पेपरहरु तयार भइसकेपछि कम्पनीको कोर बिजनेसको नाफा/नोक्सान, बोनस दर लगायतको सबै विवरण आउँछ ।

सञ्चालनमा आएका अधिकांश बीमा कम्पनीहरु पहिलो वर्षमै नाफामा गएका छन्, यस्तो अवस्था सबै वर्षहरुमा आउन सक्ला ?

त्यो समग्र आर्थिक अवस्थाले पनि प्रभावित पार्न सक्छ । यो वर्ष हामीलाई ब्याजदरले धेरै हदसम्म सपोर्ट गर्यो, किनकी हाम्रो पुँजी लगानीकतो प्रतिफल राम्रो आयो । यसमा आउने सानो उतारचढावले आगामी वर्षहरुमा पनि खासै असर नगर्ला । तर मुख्य कुरा भनेको व्यवसायिक दक्षता र प्रभावकारिता हो । हामीले हाम्रो स्रोतहरुको प्रभावकारी सञ्चालन गर्न सक्यौं भने घाटाको वित्तीय विवरण आउँदैन ।

एकैपटक ठूलो संख्यामा बीमा कम्पनीहरु थपिनाले बजारले सबै कम्पनीहरु बजारले थेग्ने सक्दैन कि भनिन्छ, तपाईको विश्लेषण के छ ?

नेपालमा अहिले पनि बीमाको पेनिट्रेसन एकदमै कम मात्रामा छ । अहिले १०/११ प्रतिशत रहेको यो दरलाई जनतामा चेतना जगाएर बढाउन सकियो भने त्यस्तो अवस्था आउँदैन । अर्को सकारात्मक पक्ष पनि छ, एकपटक जीबन बीमा गरेको व्यक्तिले बर्षौसम्म भुक्तानी गर्दै जाने र लामो समयपछि मात्र फिर्ता गर्नुपर्ने भएकोले दीर्घकालसम्मको तरलता सुविधा र सुधार गर्ने समय जीवन बीमा कम्पनीहरुलाई प्राप्त हुन्छ, त्यसैले विश्वमा नै जीवनबीमा कम्पनीहरु टाट पल्टेको उदाहरण हामी कमै पाउँछौं ।

यद्यपि, उच्च व्यवस्थापन खर्च गर्ने र स्रोतहरुको प्रभावकारी रुपमा उपयोग गर्न नसक्ने कम्पनीहरुका लागि भने बजारमा टिक्न गाह्रो हुन्छ भन्ने कुरा सत्य नै हो भन्ने लाग्छ । तर हामीलाई टिक्ने चुनौती भन्दा पनि दीर्घकालसम्म हामीले लिएका लक्ष्यहरु हासिल कसरी गर्ने भन्नेमा चिन्तनशील छौं ।

जीवनबीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवनबीमाको संख्यालाई समेत रिपोर्टिङ गरेर धेरै संख्यामा बीमालेख बिक्री भएको देखाउने प्रचलन छ, यसमा तपाईँको कम्पनीको हिस्सा चाहिँ कति छ ?

प्रचलित संरचना र स्ट्यान्डर्डअनुसार हामीले रिपोर्टिङ गर्ने हो । जीबनबीमा कम्पनीले म्यादी जीबनबीमा गराउने सुविधा समेत प्राप्त गरेको अवस्थामा त्यो संख्या नदेखाउनु त झन् फल्स रिपोर्टिङ भइहाल्छ, हाम्रो सन्दर्भमा भन्ने हो भने म्यादी जीवन बीमाको हिस्सा २५/३० प्रतिशत मात्र छ ।

अहिले बजारमा देखिएको ब्याजदर वृद्धिको प्रतिस्पर्धाले चाहिँ जीवनबीमो व्यवसायमा कस्तो असर गर्ने सम्भावना देख्नुभएको छ ?

यसलाई दुई तरिकाबाट हेर्न सकिन्छ । ब्याजदर बढ्दा हामीले गरेको बैंक तथा वित्तीय संस्थाहरुमा गरेको लगानीको मुनाफा बढी प्राप्त हुन्छ, त्यो सकारात्मक कुराहो । तर अर्कोतिर उच्च ब्याज हुँदा स्पेकुलेटिभ प्रकृतिका ग्राहकहरु बीमा क्षेत्रमा आकर्षित नहुने सम्भावना हुन्छ । यसैले हामीले बदलिँदो परिस्थितिअनुसार वित्तीय र बजारीकरणसम्बन्धी रणनीतिहरु तय गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.