१७ हजार भेँडा च्याङ्ग्रा निकासी

  २०७५ असोज २९ गते ११:०९     विकासन्युज

काठमाडौं। दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो ।

दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिए। उनका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् ।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडाच्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताए।

उहाँका अनुसार, सबै भेँडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भेँडाच्याङ्ग्राको पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडाच्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ।

जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडाच्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडाच्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताएका छन्।

हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.