धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिक स्थलमा प्रदूषण मापन

  २०७५ भदौ ७ गते ११:०८     विकासन्युज

काठमाडौँ। तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो ।

सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा परीक्षण गरेर जानकारी दिने उपमहानगरले जनाएको छ ।

तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ । पुराना गाडीबाट निस्कने धँुवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न ध्यान दिनुपर्ने सुझाव दिइएको छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा बिरुवा लगाउने गरेको तर नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको डा चिरञ्जीवि खड्काले बताए ।

वायुप्रदूषणका दृष्टिले नेपाल अछुतो नभएको बताउँदै चेक रिपब्लिकका प्राध्यापक पावेलले जनतालाई यसबारे सचेत गराउनु आवश्यक रहेको बताए। “विश्वमा प्रतिक्युविक ५० माइक्रोमिटरसम्मको वायु प्रदुषणलाई सामान्य मान्ने गरेकामा तुलसीपुरमा तीन सय माइक्रोमिटरसम्म वायुप्रदूषण भएको पाइएकाले बाटो र घर सफा हुँदैमा वायुप्रदूषणको अवस्था राम्रो छ भन्ने हुँदैन” उनले भने।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए। तुलसीपुर नगरलाई वायुप्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीमा बिरुवा लगाउने कामलाई निरन्तरता दिएको उनको भनाइ थियो । “हामीले गरेको फोहरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन,” नगरप्रमुख पाण्डेले भने। रासस
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.