एफपीओ बिक्न छाडेपछि धितोपत्र बोर्डको स्पष्टीकरण: मूल्य निर्धारणमा दायाँबायाँ गरेका छैनौं

  २०७५ असार १९ गते १७:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय जारी भएको एफपीओहरु नबिकेपछि नेपाल धितोपत्र बोर्ड मूल्य निर्धारण विधिबारे स्पष्टीकरण जारी गरेको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन तथा थप सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा हालै प्रकाशित समाचार प्रति यस बोर्डको ध्यानाकर्षण भएको जनाउँदै मूल्य एफपीओको मूल्य निर्धारण विधिसम्मत भएको र कसैको प्रभावमा नपरेको जनाएको छ ।

विभिन्न कम्पनीकाे एफपीअाेका लागि अावश्यक अावेदन नपरेपछि मूल्य निर्धारण विधि र यसकाे प्रभावबारे वहस शुरू भएकाे छ ।

बोर्डका प्रबक्ता निरज गिरीले जारी गरेको विज्ञप्तीमा अहिलेसम्म जारी भएका एफपीओहरुको मूल्य कसरी निर्धारण भएको हो र त्यसमा बोर्डको भूमिका कस्तो रह्यो भनेर प्रष्टिकरण गर्ने प्रयास गरिएको छ ।

यस्तो छ विधि

प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा मुख्यतः एफपिओको मूल्य निर्धारण सम्बन्धमा तत्कालिन धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ र धितोपत्र निष्काशन निर्देशिका, २०६७ मा स्पष्ट व्यवस्था नभएको अवस्थामा संगठित संस्थाहरुले आफ्नै विधि तथा तरिकाबाट प्रिमियम मूल्य निर्धारण गर्ने अवस्था रहेको र कतिपय संगठित संस्थाहरुले अस्वाभाविक प्रिमियम मूल्य निर्धारण गरी प्रस्ताव गरेको अवस्था रहेकोमा प्रिमियम मूल्य निर्धारणलाई पारदर्शी र यर्थाथपरक बनाउन बोर्डले २०७३ साउन २५ गते अन्तर्राष्ट्रिय अभ्यास अनुरुपको थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण सम्बन्धी विधि लागू गरेको थियो । जस अनुसार थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य गणना गर्दा पूँजी कृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो), संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर खुद सम्पती र १८० दिनको औषतबजार मूल्य विधिबाट प्राप्त हुने मूल्यहरुको कूल मूल्यको सामान्य औषत गणना गरी प्रिमियम मूल्य निर्धारण गर्ने व्यवस्था रहेको थियो ।

बाेर्डकाे हस्तक्षेप

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप सार्वजनिक निष्काशन गर्न आवेदन दिंदाप्रति शेयर २ हजार ९५१ रुपैयाँ मूल्य प्रस्ताव गरेकोमा उर्पयुक्त विधि लागू भए पश्चात उक्त कम्पनीले सो विधिअनुसार प्रति शेयर १ हजार ४२५ रुपैयाँमा थप सार्वजनिक निष्काशन गरेको थियो । तत्पश्चात सोही विधि बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडले प्रति शेयर ९७१ रुपैयाँमा, स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रति शेयर १ हजार २९० रुपैयाँमा प्रिमियम मूल्य निर्धारण गरी थप सार्वजनिक निष्काशन गरेका थिए ।

धितोपत्रको सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण सहित संरचनात्मक सुधार गर्नको लागि नेपाल सरकारको स्वीकृतिमा नयाँ नियमावली धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २५ ले संगठित संस्थाले प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने व्यवस्था गरे पश्चात अन्तर्राष्ट्रिय अभ्यास अनुरुप प्रिमियम मूल्य निर्धारण प्रकृयालाई व्यवस्थित बनाउँदै धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण विधिहरु तय गरेको छ ।

त्यसमा थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (खुद नाफा), भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सातदिन अगाडिको १८० दिनको औषतबजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुन कम हुन्छ सो मूल्यलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।

साथै उल्लेखित विधि बमोजिम निर्धारण गरिएको प्रिमियम मूल्य र मूल्य निर्धारण गर्दा अपनाईएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट ड्यू डेलिजेन्स अडिट गरिएको विवरणलाई संगठित संस्थाको लेखापरीक्षकबाट समेत प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको साथै प्रिमियम मूल्यको यथार्थपरक विश्लेषण होस् भन्ने उद्देश्यले प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

उक्त धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरिएको व्यवस्था बमोजिम पोखरा फाइनान्स लिमिटेडले प्रति शेयर २२० रुपैयाँमा बुटवल पावर कम्पनी लिमिटेडले प्रति शेयर ५०१ रुपैयाँमा, एनएमबि बैंक लिमिटेडले प्रति शेयर ३३३ रुपैयाँमा र नेपाल बैंक लिमिटेडले प्रति शेयर २८० रुपैयाँ मूल्य निर्धारण गरेको र सोही बमोजिम बोर्डले ती संगठित संस्थाहरुलाई थप सार्वजनिक निष्काशन गर्न अनुमतिप्रदान गरेको छ ।

शिवम् सिमेन्टस्काे मूल्य यस कारण ४ सय

त्यस्तै, प्रारम्भिक सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण गर्दा अर्को व्यवस्था गरिएको छ । वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजार मार्फत पूँजी परिचालन गर्न आकर्षित गर्न सरकार तथा यस बोर्डबाट प्रोत्साहन मूलक नीति अपनाएको सन्दर्भमा नेपाल सरकारले बजेट मार्फत धितोपत्रबजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई आयकरमा १५ प्रतिशत विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निष्काशन गरे पुग्ने लगायतका सुधारहरु गरिएको छ । त्यस अनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य वा पछिल्लो लेखापरीक्षण भएको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुनकम हुन्छ सोलाई प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । सोही वमोजिम सार्वजनिक निष्काशन गर्न लागेको पहिलो उत्पादनशील कम्पनी शिवम् सिमेन्टस् लिमिटेडले उद्योग प्रभावित क्षेत्रका वासिन्दालाई प्रति शेयर ३०० रुपैयाँ र सर्वसाधारणको लागि प्रति शेयर ४०० रुपैयाँ प्रिमियम मूल्य निर्धारण गरेकोमा बोर्डले नियमानुसार प्रारम्भिक सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ ।

सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण प्रचलित नियम तथा निर्देशिका बमोजिम पारदर्शी हिसावले गराउन बोर्ड पूर्ण सजग रहेको र उल्लेखित विधिहरु बमोजिम प्रिमियम मूल्य निर्धारण गरेको सुनिश्चित गरे पश्चात मात्र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशनको अनुमति प्रदान गर्दै आएको छ । पूँजीबजार मार्फत पूँजी निमार्ण गरी समग्र अर्थतन्त्रको विकास तथा विस्तारमा अभिवृद्धि ल्याउन बोर्डले धितोपत्र सम्बन्धी ऐन, नियम तथा निर्देशिका बमोजिम आफ्नो कार्यसम्पादन गर्दै आएको सम्बन्धित सबैमा जानकारी गराउँदै बजारमा फैलिएका अफवाह तथा गलत प्रचार प्रसारबाट भ्रमित नहुन समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

थप सामाग्री

किन भयाे एफपीओको बेहाल ? सोच, नीति र विधिमा खोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.