ब्याजदर अझै बढ्ने संकेत, वाणिज्य बैंकहरुको आधार दर ११ प्रतिशत नजिक

  २०७५ जेठ २८ गते ९:२७     विकासन्युज

काठमाडौं । बजारमा तरलताको अवस्था सहज हुँदै गएपनि वाणिज्य बैंकहरुको ब्याजदर अझै नघट्ने संकेत देखिएको छ ।वाणिज्य बैंकहरुको आधार ब्याजदर (वेसरेट) ग्राफ माथि चढेपछि ब्याजदर नघट्ने देखिएको हो ।

बैंकहरुले सञ्चालन खर्च बढाउँदा आधार ब्याजदर माथि पुगेको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “निक्षेप लागतको तुलनामा आधारदर धेरै माथि गएको छ” उनले भने “ब्याजदर मंहगो भएपछि यसले उद्योग व्यवसायमा असर पर्ने देखिएको छ । यसलाई अंकुश लगाउनु पर्नेछ ।”

गत वैशाखसम्म बैंकको अाैसत आधार ब्याजदर बढेर १०.९४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष आधारदर ९ प्रतिशत रहेकोमा एक वर्षको अवधिमा झण्डै २ प्रतिशत बढेको हो । बैंकको आधार दर बढेपछि यसको असर कर्जामा पर्ने देखिएको हो । औसत निक्षेप लागत ६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

आधारदरमा ५ प्रतिशत स्प्रेडदर थप्दा कर्जाको ब्याजदर औसत १७ प्रतिशत पुग्ने देखिन्छ । यसले कर्जाको ब्याजदर बढेपछि व्यवसायको लागत बढ्ने र अधिकाँश आयोजना आर्थिक रुपमा संभाव्य नहुने देखिएको छ । अधिकाँश आयोजना, उद्योग व्यवसाय बढ्दो ब्याजको मारमा परेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक परिदृष्यमा लगानी र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको देखाएको छ । वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ ।

पछिल्लो समयमा लगानीयोग्य पुँजी संकट चुलिएपछि अधिकाँश वाणिज्य बैंकले महंगोमा निक्षेप उठाएका छन् । महंगोमा निक्षेप उठाएपछि मुद्धति निक्षेपको ब्याजदर बढेर १४ प्रतिशतसम्म पुगेको थियो । पछि बैंकहरुले मुद्धतिको ११ र साधारण वचतमा ८ प्रतिशत ब्याजदर दिने आन्तरिक सहमति गरेका थिए । यस्तै शाखा विस्तार र कर्मचारीको दायित्व थप हुदा सञ्चाल खर्च बढेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

बैंकले सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा कृषि विकास बैंकको सबैभन्दा बढी कृषि विकास बैंको आधार दर १२.७२ र सरकार स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको ६.२० प्रतिशत छ । गत बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.७८ प्रतिशत रहेकोमा यो वैशाखमा बढेर ५.१५ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ वैशाखमा २.७३ प्रतिशत रहेकोमा बढेर वैशाखमा ४.५३ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेर ३ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशत बढेको छ ।

यस्तै कर्जा लगानी १९.६ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप परिचालन भन्दा बढी कर्जा लगानी गरेपछि बजारमा लगानीयोग्य पुँजीको अभाव भई कर्जाको ब्याजदरमा बढेको छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.