नागढुङगा-नौबिसे सुरुङमार्ग निर्माणको तयारी पुरा, जाइकाको पत्रपछि टेण्डर

  २०७५ जेठ २७ गते १४:३०     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित नागढुङगा-नौबिसे सुरुङ मार्ग निर्माणको सम्पूर्ण तयारी सम्पन्न भएको छ । सुरुङ मार्ग आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार लागत अनुमान तयार पारेर जाईकालाई पठाई सकिएको छ । जाइकाले लागत अनुमानलाई स्वीकृत गरेर आयोजना अघि बढाउन सहमति पत्र दिएसँगै ग्लोबल टेण्डर आव्हान गरिनेछ ।

सुरुङ मार्गको लागत कति हुनेछ भन्ने विकासन्युजको प्रश्नमा आयोजना प्रमुख पौडेलले भने–लागत अनुमान सार्वजनिक गर्न मिल्दैन, जाईकासँग १७ अर्बको ऋण सम्झौता भैसकेको छ, टेण्डर निकाल्न तयार भएर बसेका छौं’, आयोजनाका प्रमुख पौडेलले विकासन्युजसँग भने ।
जाइकाले एक महिनाभित्रै सुरुङ मार्गको लागत अनुमान र आयोजना अघि बढाउने स्वीकृति प्रदान गर्ने र त्यस लगत्तै ग्लोबल टेण्डर निकाल्ने पौडेलले जानकारी दिए । ‘हामी जाईकाको पत्र कुरेर बसेका छौं, हाम्रो तर्फको सबै काम सम्पन्न भैसकेको छ’, पौडेलले भने ।
काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकिएको छ ।

काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । ती दुबै ठाउँको जमिन अधिग्रहण भने सरकारले आफ्नै श्रोतबाट गरिदिनेछ । जाईकाले दिने सहयोगले भने सुरुङ मार्गको निर्माण गरिनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ ।

२.७ किलोमिटर सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने प्रारम्भिक सोँच तयार भएको छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि ऋण दिएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.