२०७५ जेठ २ गते १६:४० पृथराज थेगिम
काठमाडौं । सरकार स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेडले ६० हजार टन रासायनिक मल ल्याउने भएको छ । आयात गर्न कम्पनीले विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर ) आब्हान गरेको हाे। कृषि बालीको लागि अत्यावश्यक मलको अभाव हुन नदिने मल खरिद गर्न कम्पनीले ग्लोबल टेन्डर गरेको हो ।
कम्पनीका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले ६० हजार टन रासायनिक मल ल्याउन ग्लोबल टेन्डर गरेको बताए । टेण्डर अनुसार ३० हजार टन युरिया, २५ हजार टन डीएपी र ५ हजार टन पोटासको आयात गरिनेछ । ‘बीचमा कुनै समस्या नआए ती रासायनिक मल कात्तिक भित्रै भित्रिसक्नेछ,’ उनले भने ‘किसानमाझ मलको कुनै पनि अभाव हुन नदिन आगामी वर्षको लागि बेलैमा टेन्डर आहवान गरेका हौं ।’
उनको अनुसार उक्त टेन्डर भर्ने म्याद खुलेको ४५ दिनसम्म रहनेछ । त्यसपछि आएका प्रस्तावको २१ दिनभित्रमा मुल्याङकन गरि सकिनेछ । सम्पुर्ण प्रक्रिया पुरा गरी अबको ५ महिनामाभित्रमा मल आउने उनको दावी छ ।
फागुनमा समेत कम्पनीले ५५ हजार टन रासायनिक मलको ग्लोबल टेन्डर खोलेको थियो । उक्त डेन्डरअन्तर्गत पनि ३० हजार टन युरिया र २५ हजार टन डीएपी मल ल्याउने कम्पनीको भनाइ छ । उक्त मलको लागि अबको दुई हप्ताभित्रै बीडमा आएका अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको तयारी भइरहेको सूचना अधिकारी पोखरेलले बताए ।
‘सम्झौता गरिएको मल साउन र भदौदेखि मुलुकमा भित्रन शुरु गर्नेछ,’ उनले भने । हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मुल्य प्रतिटन २५४, डीएपी ४१३ र पोटासको मुल्य २१० अमेरिकी डलर छ ।
स्टकमा ७१ हजार ७८० टन रासायनिक मल
हाल कृषि सामाग्री कम्पनीसँग स्टकमा ७१ हजार ७८० टन रासायनिक मल रहेको छ । जसमा ४१ हजार १२७ टन युरिया, २७ हजार डीएपी र ३ हजार ४५५ टन पोटास रहेको उनले जानकारी गराए । आउदो असारमा मलको अभाव नहुने उनले स्पष्टपारे । ‘कहीँबाट मल अभावको गुनासो आएको छैन,’ उनले भने ‘त्यस्तै आवश्यकताअनुसारका कम्पनीले मल निरन्तर भित्रिइरहेको छ ।’
कम्पनीको अनुसार हाल मुलुकमा ७ लाख ८५ हजार टन युरिया मलको माग छ । यद्यपि वैधानिक रुपमा करिब ३ लाख टन मात्र अयात भइरहेको छ । बाँकी केही मलहरु चोरी पैठारीबाट आउने गरेका छन् । मागअनुसार पर्याप्त मात्रामा मलको उपलब्धता हुन नसक्दा विगतदेखिनै सिजमा किसानहरुले मल अभाव वेहोर्दै आउन परेको देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.