अर्थमन्त्रीको प्रश्नः भेडा उफ्रे जसरी लगानी गर्ने अनि घाटा हुँदा म तिर किन फर्कनु ?

  २०७५ वैशाख २६ गते १६:३१     डा. युवराज खतिवडा, अर्थमन्त्री

काठमाडौं । पुँजी बजारका बारेमा धेरै पढियो, लेखियो र बोलियो । हल्लै हल्लाको बजार भन्ने चर्चा हुन्थ्यो, के भनेको होला भन्ने लाग्थ्यो आज देख्दैछु । कहिले काँही एउटा कुरा गर्यो अर्काे व्याख्या गरिदिने । अर्थमन्त्रीले यसो भने भनेर बजारलाई बेवकुफ बनाएर फाइदा लिएर हिडिदिने । त्यसकारण आज मैले प्र्रत्यक्ष संवाद गर्न पनि चाहेको हो । कसैले लुकिछिपी रेकर्ड गर्नु पनि नपरोस् र अर्थमन्त्रीले यसो भने भनेर गलत सूचना पनि नजाओस भन्नका लागि म यहाँ आएको हुँ ।

यो सरकारमा हुनु भन्दा पहिले नै म युवराज खतिवडा हो । नेपाल राष्ट्र बैंकको कर्मचारी हुँदा देखि नै युवराज खतिवडाले दर्जनौं अनुसन्धान गरेको छ । तपाईहरुले पुँजी बजारके क, ख, ग, घ जान्न नपाउँदै मैले किताब लेखेर छापिसकेको थिए २०४२।४३ सालमा ।

त्यतिबेलाको पुँजी बजारको तुलनामा अहिलेको बजारले धेरै फड्को मारिसकेको छ । त्यतिबेला नेप्सेमा जम्मा जम्मी ५० को हाराहारीमा कम्पनी थिए । आज त्यो संख्या १९६ वटा पुगेको छ । तर संख्या बढेको भएपनि एकै खालका कम्पनीहरुको हिस्सा धेरै छ त्यहाँ । उत्पादन, निर्माण, सेवासँग सम्बन्धित कम्पनी नेप्सेमा किन सूचिकृत हुँदैनन् ? मलाई मान्छेहरुले भन्ने गरेका छन्, बैंक तथा वित्तिय संस्थाहरुले वासलात नियमित प्रकाशित गर्छन् । समयमै साधारण सभा गर्छन्, समयमै अडिट भएको विवरण सार्वजनिक गर्छन् । राम्रो नगरे केन्द्रिय बैंकले कारवाही गर्छ । त्यसकारण लगानी कर्ता बैंक तथा वित्तिय संस्थामा लगानी गर्न तयार भएका हुन रे । त्यसमा आंशिक सत्यता छ तर के नेपालमा अरु व्यवसाय नै छैनन् ।

५० औं अर्ब नाफा कमाउने कम्पनी पनि त नीजी क्षेत्रमै छन् नी । एक करोड पुँजी भएको लघुवित्त चाँही पुँजी बजारमा अनि ५० अर्ब नाफा कमाउने कम्पनी चाँही धितोपत्र बजार बाहिर । यस्तो पनि कहिँ हुन्छ ? यो अब हुँदैन र यो व्यवस्थाले धितोपत्र बजार कहिले सफल हुन्न, विस्तार हुन्न र कहिले पनि जोखिम रहित हुन्न । वित्तिय प्रणालीमा भनेको अलिकति तलमाथी हुन्छ । तर नियमनकारी निकाय राम्रो भयो भने त्यसले संकट आउन दिँदैन् । कम्पनीहरुको पनि कारोबार तलमाथी हुन्छ । तर वित्तिय संस्था भन्दा बाहिरका कम्पनी पनि पारदर्शी हुनु पर्छ । समयमै बासलात बनाउने, आफ्नो वासलातले भ्याउने गरि बैंकबाट ऋण लिनुभयो र त्यस्तो कम्पनी धितोपत्र बजारमा आउनुभयो भने राम्रो हुन्छ । कम्पनी र धितोपत्र बजारका लगानी कर्ताहरुले लगानीलाई बिबिधिकरण गर्नु आवश्यक छ । त्यसले जोखिम घटाउँछ । त्यस्ता कम्पनीहरुलाई सरकारले पनि नीतिगत सहयोग गर्छ । सरकारले पब्लिक कम्पनी बन्नका लागि सहजीकरण गर्छ, सुबिधा दिन्छ ।

लगानीकर्ताले अबका दिनमा बुझ्नै पर्ने कुरा भनेको बजारमा अब नयाँ कम्पनीहरु आउँछन् । जलविद्युत कम्पनी, उत्पादनमुलक कम्पनी, सेवा मुलक कम्पनीहरु पनि आउँदैछन् । ती कम्पनीहरु चाँडै सेयर बजारमा आउँदैछन् भन्ने हेक्का लगानी कर्ताले राख्नु पर्छ । त्यस्ता कम्पनीमा सेयर बजारमा ल्याउन सरकारले केहि न केहि गर्छ । सेयर बजारलाई अघि बढाउन सरकारको ध्यान जानु परेको छ । यो सरकार भनेको राष्ट्रिय पुँजी निर्माण गर्ने सरकार हो । त्यसको आधार भनेको बचत परिचालन हो । बचत परिचालन भनेको वित्तिय बचत परिचालन मात्रै हो । उत्पादन विनियोजन हुनका लागि पुँजी बजार मार्फत पुँजी परिचालन हुनु पर्छ । धेरै मानिस पुँजी बजारमा प्रवेश गर्नु पर्छ । त्यसका लागि संस्थागत सुधार, बजारको पहुँच विस्तार, छरितो सेवा, विद्युतिय माध्यमको कारोबार, लगानी कर्तालाई धेरै रोजाईका अवसर दिने नै हो । धेरै भन्दा धेरै नेपालीहरु सेयरका मालिक बनुन् भन्ने सरकारको चाहाना हो । खासगरि जलविद्युतका क्षेत्रको सेयरमा नागरिकहरुको पहुच बढोस भन्ने हो ।

पुँजी बजारको विस्तारका लागि भौतिक पुर्वाधार, प्राबिधिक, कानुनी र संस्थागत क्षमताका क्षेत्रमा सरकारले सहयोग गर्छ । बीमा, धितोपत्र र वित्तिय क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा गराउन सरकार सहयोगी बन्नेछ । अहिले हामी हेज फण्डको कुरा गरिरहेका छौं । स्वास्थ्य बीमा त झन सरकारले नै चलाईरहेको छ । हामीले केन्द्रिय बैंकमा हुँदा म्युचुअल फण्ड ल्याएका थियौं तर त्यो अझै राम्रोसँग अघि बढ्न सकेन् । एनआरएनहरुलाई म्युचुअल फण्डमा आउनुस भनेर मैले नै भनेको हुँ तर उहाँहरु अझै पनि आउनु भएन् । साना बचत कर्ताहरुको संस्थागत रुपमा जोखिम वहन गरिदिनका लागि म्युचुअल फण्डहरु ल्याएका थियौं, त्यसले राम्रो काम गर्नु पर्छ ।

१९८७ मा ब्ल्याक मण्डे भनिन्छ, जुन दिन न्युयोर्क स्टक एक्सचेञ्ज कोल्याप्स भएको थियो । सेयरमा हर्ड साइकल भन्ने शब्द हुन्छ । भेडालाई अघि राख्नुस् । डोरीले बाँधेर उफ्रन लगाउनुस् । त्यसपछि डोरी झिक्नुस्, तर अरु सबै भेडाहरु धमाधम उफ्रन थाल्नेछन् । अघिल्लो भेडाले जे गरेको थियो बाँकी सबैले त्यहि गर्छन् । डोरी छैन भन्ने ख्यालै गर्दैनन् । यो मनोविज्ञानबाट सेयरमा लगानी नगर्नुस् । डोरी छ की छैन भनेर लगानीकर्ता आफैंले हेर्नुस्, अर्काको डोरीका भरमा उफ्रेर लगानी गर्न थाल्नुभयो भने बजार कस्तो होला ? तपाईको लगानी के होला ? सेयर बजार भनेको जोखिमको व्यवसाय हो । व्यक्तिगत जोखिम लिन सक्नु हुन्न भने म्युचुअल फण्डमा लगानी गर्नुस् ।

मेरो एक जना साथीले जागिर छाडेपछि सञ्चय कोषबाट सबै पैसा झिकेर सेयरमा लगानी गर्नु भएछ, मसँग आएर म त डुबेँ भन्नुभयो । मैले उत्तर दिएँ, मैले पनि जागिर छाडेको हुँ, मैले पैसा बैंकमा राखेको छु र म सुरक्षित छु । मलाई थोरै मुनाफाले पुग्ने भएकाले मैले सेयर बजारमा लगानी गरिन् । मेरो साथीले सेयर बजारमा भोली नै दोब्बर हुन्छ की भन्ने ठानेर जोखिम लिनु भयो । धेरै नाफा लिन चाहनेले धेरै जोखिम भोग्न पनि तयार हुनुपर्छ । नाफा धेरै खोज्नेले घाटा सहन पनि तयार हुनुपर्छ । नाफा पनि आफैं खाने हो, जोखिम पनि आफैं व्यहोर्ने हो । नाफा भयो भने आफु खाने तर घाटा भयो भने हामी तिर धारे हात नलगाउनु होला । हामीले बिगार्ने काम कहिल्यै गर्दैनौं । सरकारको काम धितोपत्रको स्वस्थ, व्यवस्थित र पारदर्शी विकास गर्ने हो, त्यहाँ बिगार्यौं भने भन्नु होला । करका दरमा अनिश्चितता छ, कर प्रणालीबारे दुविधा छ । करलाई पारदर्शी र स्पष्ट पार्ने काम हामी गर्छाै ।

पुँजी बजारलाई अस्वस्थ ढंगले अघि बढ्न प्रेरित गर्ने खालका कुनै कानुनहरु बनायौं भने हामी त्यसको जिम्मेवार हुन्छौं । पुँजी बजारमा कहिले काँही तरलता तलमाथी हुन्छ । त्यसको व्यवस्थापनको काम सरकारले गर्छ, हामी गरिरहेकै छौं । पुँजी बजारको स्वस्थ र दिगो विकास नै सरकारको एजेण्डा हो । तर जोखिम लिने र तपाईको सेयरको मूल्य तोक्ने काम सरकारको होइन् । घटबढ हुँदैन भनेर तय गरिदिने काम सरकारको होइन् । सेयरको मूल्य र प्रतिफल तपाईले लगानी गरेको कम्पनी र बजारले निर्धारण गर्छ । मुनाफा, लाभ, सेयर मूल्य तपाईहरुले तयार पार्ने हो, सरकारले केहि पनि हेर्दैन् । म केन्द्रिय बैंकमा हुँदा भन्ने गरेको थिए, तपाईहरुलाई बैंकमा निक्षेप राख्नुस भन्छौं तर सबै निक्षेपको ग्यारेण्टी हुन्न, २ लाखसम्मको निक्षेपको मात्रै सुरक्षा गरिएको हुन्छ । त्यो पनि कर्जा सुरक्षण निगमले ग्यारेण्टी गर्ने हो ।

सेयर बजारको लगानीको ग्यारेण्टी सरकारले गर्दैन् । सरकारले त लगानीको वातावरण बनाईदिने हो । बजारलाई स्वस्थ र स्थिर ढंगले अघि बढाउने सघाउने हो । कतिमा सेयर किन्ने, कतिमा बेच्ने भन्ने कुरा तपाईहरुकै कुरा हो । मैले भन्नै पर्ने हुन्छ, लगानी गर्ने बेलामा मलाई सोधेर गर्नु भएको थियो र ? अनि नाफा कमाउँदा पनि मलाई त बाढ्नु हुन्न र बाढ्ने कुरा पनि भएन् । घाटा भएको दिन चाँही म तिर किन फर्कनु ? यस्तो दोहोरो मापदण्डका कुरा नगर्नु होला ।
हेज फण्ड अनिवार्य छ । भेञ्चर क्यापिटलमा जानै पर्छ । पुँजी लगानी गर्दा जोखिम हुन्छ । जोखिम बाडफाँट गरिनुपर्छ । बैंकहरुको चाहना हुन्छ, जोखिम व्यवसायीलाई सारौं अनि नाफा आफु कमाऔं भन्ने प्रवृत्ति हुन्छ । व्यवसायीमा पनि जोखिम चै बैंक तिर सारेर नाफा चाँही आफु मात्रै कमाऔं भन्ने सोँच देखिन्छ । अब जोखिम बाढ्नु पर्छ । इक्वीटी होल्डर र बैंक दुबैले बाढ्नु पर्छ, त्यसका लागि भेञ्चर क्यापिटल ल्याउनु पर्छ ।

अलि लामो समयका लागि विनिमय दर कायम गराउनका लागि पनि अब सोच्ने बेला भएको छ । त्यसले वैदेशिक लगानी भित्र्याउन सघाउँछ । फरवार्ड एक्सचेञ्ज रेट कायम गराउनका लागि हेज फण्ड ल्याउनु अघि अर्काे कुनै उपाय खोज्नुपर्ने देखिएको छ । समग्रमा धितोपत्रको बजारमा बोर्डको नियमनमा नेप्से बस्नु पर्यो र नेप्सेको अण्डरमा ब्रोकर, मार्केट मेकर बस्नु पर्छ । जोखिम लिन सक्छु भन्ने आश्वस्त भएर मात्रै लगानीकर्ताहरुले लगानी गर्नु पर्छ ।(प्रथम पुँजी बजार प्रदर्शनीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.