एनसीसी बैंकको साधारणसभा निर्णय विवादमा, कम्पनी रजिष्टारले अध्ययन गर्न निरीक्षक पठाउदै

  २०७५ वैशाख २५ गते १४:३४     विकासन्युज

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालयले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको साधारणसभाको निर्णय (माइन्युट) को अध्ययन गर्ने भएको छ ।  कार्यालयले माइन्युट अध्ययनका लागि निरीक्षक पठाउने भएको छ । निरीक्षक पठाउने फाइल अहिले कार्यालयको कानून विभागमा पुगेको छ ।

विभागबाट निरीक्षक टोली खटाउने कार्यालयले जानकारी दिएको छ । कर्मचारीको अभावले गर्दा निरीक्षक खटाउन ढिलाइ हुन गएको कार्यालको भनाई छ । गत भदौ १६ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाले गरेको निर्णय फर्जि भएको दावी गर्दै त्यसलाई अवैध घोषणाको माग गर्दै संस्थापक लगानीकर्ता जीतबहादुर र लक्ष्मीबहादर श्रेष्ठले उजुरी दर्ता गराएपछि कार्यालयले छानविन थालेको हो ।

साधारणसभाले हकप्रद सेयर निष्कासन गर्नका माइन्युटमा अंक उल्लेख नगरेको पाइएको कार्यालयका एक अधिकारीले बताए । अन्य विषयमा समस्या नरहेको उनको भनाई छ । एनबी ग्रुपले रजिष्टारको कार्यालयका अतिरित्त नेपाल धितोपत्र बोर्डमा समेत उजुरी दिएपछि एनसीसीको हकप्रद सेयर निष्कासन रोकिएको छ । कम्पनी रजिष्टारले निरीक्षक खटाउन ढिलाइ गरेपछि हकप्रद सेयर निष्कासन गरेर आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ योजना प्रभावित हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार साधारणसभाले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । आफु अनुकुल नभएपछि एनबी समूहले हकप्रद सेयर निष्कासन रोक्नका लागि बोर्ड र रजिष्टार कार्यलयमा उजुरी दिएको हो । एनसीसीमा एनबी समूहको १५ प्रतिशत अर्थात झण्डै ७५ लाख कित्ता संस्थापक सेयर छ ।

नियायमक निकायले समयमा निर्णय नगर्दा हकप्रद सेयर निष्कासनमा ढिलाइ भएको एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । “नियामकले हुन्छ वा हुदैन स्पष्ट भन्नु पर्यो, यसरी रोकेर राख्नु भएन” उनले भने । धितोपत्र बोर्डले अनुमति नदिनका कारण हकप्रद निष्कासन गर्न नपाएको उनको भनाई छ । राष्ट्र बैंकले पुँजी बढाउन दवाव दिएको छ ।

यता बोर्डका प्रवत्ता निरज गिरी एनसीसीको विषयमा रजिष्टार कार्यालयमा उजुरी परेकाले त्यहाँबाट निर्णय नभएसम्म बोर्डले अनुमति दिन नमिल्ने बताए । कम्पनी राजिष्टारबाट क्लियरेन्स हुनसाथ अनुमति दिने उनको तर्क छ ।

बोर्ड र रजिष्टार कार्यालयले हकप्रद निष्कासनका लागि बाटो खुला नगरेपछि पुँजीवृद्धिको योजना प्रभावित हुन लागेको हो ।

साधारणसभाबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित भएपछि एनसीसीले गत मंसिर २० गते साविकका सेयरधनीलाई २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।
हकप्रद निष्कासन गर्ने साधारणसभाको निर्णयको विरुद्धमा एनबी ग्रुपले उजुरी हालेर रोकेपछि आउदो असारसम्म पनि चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुग्ने अवस्था आएपछि बैंक सञ्चालक समितिले राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाललाई भेटी समस्या समधानको उपाय खोजेको थियो ।

एनसीसीको हाल चुक्तापुँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । इन्टरनेसनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फाष्टक्चर डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएपछि चुक्तापुँजी बढेर ४ अर्ब ६७ करोड ९० रुपैयाँ पुगेको हो ।

हकप्रद निष्कासन र गत आवमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिएर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पुँजीवृद्धिको योजना बैंकले राष्ट्र बैंकले पेश गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.