नेपाली बामपन्थीको ‘सरकार चलाउने अमेरिकी मोडल’, राजनीतिक नियुक्ती सबै खारेज गरिने

  २०७४ फागुन २१ गते १४:१९     नारायण पौडेल

काठमाडौं । बामपन्थी सरकारले अमेरिकी मोडलमा राज्यको शासन प्रशासन सञ्चालन गर्ने भएको छ । अमेरिकी शासनलाई साम्राज्यवादीको संज्ञा दिने बामपन्थीहरुले राज्य सञ्चालनका सवालमा भने अमेरिकी मोडल नै उपयुक्त हुने प्रतिवेदन तयार पारेका हुन् । एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा माओवादी केन्द्रका प्रभावशाली नेताहरु सम्मिलित सुशासन तथा आर्थिक समृद्धि कार्यदलले तयार पारेको प्रतिवेदनमा अमेरिकी मोडलमा राज्य सञ्चालन गर्ने उल्लेख गरिएको हो ।

‘हामीले अमेरिकी मोडलमा सरकार सञ्चालन गर्नुपर्छ भने प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका छौं, नयाँ सरकार आएसँगै पुरानो सरकारले गरेका सबै राजनीतिक नियुक्ती खारेज गरिनुपर्छ भन्ने त्यसको न्युनतम मान्यता हो’, एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले विकासन्युजसँग भने । उनले नयाँ सरकार गठनसँगै पुरानो सरकारले गरेका सबै राजनीतिक नियुक्तीहरु खारेज गरेर नयाँ नियुक्त गरिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको बताए ।

अमेरिकामा पनि नयाँ राष्ट्रपति निर्वाचित भएसँगै अघिल्लो सरकारले नियुक्त गरेका करिब ६ हजार नियुक्ती खारेज हुने व्यवस्था छ ।माओवादी केन्द्रका नेता बर्षमान पुनले केहि समय अघि नयाँ सरकारका योजनाहरु कार्यान्वयनमा कर्मचारी सयंन्त्र बाधक हुने गरेको आरोप लगाए ।

‘सरकारले नयाँ योजना ल्याउँछ तर कर्मचारीतन्त्रले असहयोग गर्छन्, त्यसकारण नयाँ सरकार गठन भएपछि पुरानो सरकारले गरेका राजनीतिक नियुक्ती स्वतः खारेज हुने व्यवस्था अघि सारेका हौं’, पुनले भने । उनले पुरानो सरकारका राजनीतिक नियुक्तीलाई नयाँ सरकारले उल्ट्याउन सक्ने गरि कानुन निर्माण गरिने र सो भन्दा अघि मन्त्रिपरिषद बैठकबाट बिषेश कार्यादेश ल्याएर कार्यान्वयन गर्ने स्पष्ट पारे । ‘तत्कालका लागि मन्त्रिपरिषदबाट बिशेष कार्यादेश जारी गर्ने र कानुन निर्माणलाई उच्च प्राथमिकता दिने गरि अघि बढेका छौं’, पुनले भने ।

कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयन भएमा मुख्य सचिव, प्रहरी प्रमुख, अनुसन्धान विभागका प्रमुख, केन्द्रिय बैंक, बिभिन्न संस्थानका प्रमुख, राजदुतहरु लगायत हजारौंले जागिरबाट हात धुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.