नेपाल टेलिकमको पैसामा विवाद हुँदा नविल सीईओमा लफडा ! जोशी किन गए, शाह किन आए ?

  २०७४ माघ २१ गते ८:१२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको पैसाका कारण नबिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बैंकबाट हात धुनु परेको तथ्य उजागर भएको छ ।

एनसेलले नबिल बैंकमा राखेको निक्षेप फिर्ता लिने निश्चित भएपछि सीडी रेसियो मिलाउन बैंकका प्रमुख कार्यकारी अधिकृतले सशीन जोशीले नेपाल टेलिकमले गरेको निक्षेप टेण्डरमा उच्च व्याजदर विड गरेका थिए ।

१३ प्रतिशतभन्दा माथि गएर करिव ३ अर्ब रुपैयाँ निक्षेप टेलिकमसँग लिएपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकरी अधिकृत जोशीसँग असन्तुष्टि जनाएको थियो ।

सञ्चालक समितिसँग समन्वय नगरी महंगो ब्याजदरमा निक्षेप लिएको भन्दै अध्यक्ष शम्भु पौडेलले केरकार गरेपछि सशीन जोशीले राजीनामा दिएको स्रोतले बतायो ।

जोशीले फागुन ५ गतेदेखि लागु हुने गरि मंसिर दोस्रो साता राजीनामा दिएका थिए । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच ठाकठूकले निम्त्याएको राजीनामा बैंक सञ्चालक समितिले मंसिर १९ गते स्वीकृत गरेको थियो ।

जोशीको राजीनामा स्वीकृतसँगै बैंक थप समस्यामा परेको थियो । खासगरी निक्षेप संकलनमा बैंकले धेरै मिहेनत गर्नु पर्ने अवस्था थियो । राजीनामा स्वीकृत भईसकेको सीईओले त्यसमा जोड नदिएपछि बैंकको निक्षेप घट्न थालेको थियो ।

गत असोजमा १२३ अर्ब रुपैयाँ निक्षेप भएको नविलमा पुस मसान्तमा १२१ अर्ब रुपैयाँ निक्षेप भएको छ । सोही अवधिमा एनआईसी एशिया बैंकले करिव २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ ।

चर्को दवावपछि अनिल शाहलाई डेपुटी सीईओ

नविललाई निक्षेपको अभाव खड्किँदै गएको थियो । बैंक सञ्चालकका नजरमा निक्षेप बढाउन सक्ने एक मात्र सिईओ अनिल शाह मात्रै देखिए । सञ्चालक समितिले अनिललाई सेञ्चुरी बैंकबाट नबिल ल्याउने निर्णय गरे । तर केन्द्रिय बैंकले कुलिङ पिरियडको मापदण्ड ल्याएर अनिललाई नबिल जानबाट रोक लगायो । त्यसपछि नविलले आफूलाई झन् असुरक्षित महसुस गर्यो ।

माग १५ गतेसम्म २७ वटा वाणिज्य बैंकहरु वित्तीय विवरण सार्वजनिक भयो । पुस मसान्तको रिपार्टमा नविल बैंकले आफ्नो पोजिशन गुमाउने स्थिति देखियो । खुद नाफामा नविल भन्दा इन्भेष्टमेन्ट बैंक ७३ लाख रुपैयाँ पछाडि देखियो । निक्षेप नविलको भन्दा ८ अर्ब बढी इन्भेष्टमेन्ट बैंकको देखियो । अहिलेकै वृद्धिदर कायम भएमा चैत मसान्तसम्ममा निक्षेप र कर्जा दुबैमा एनआईसी एशिया बैंक अगाडि आउने भयो ।

त्यसले नविल बैंक सञ्चालक समितिलाई झनै तनावमा पुर्यायो । अनिल शाहलाई ६ महिना कुर्दा असार मसान्तसम्ममा नबिल बैंकले यसअघि अगुवाई गरेका सूचकाङ्क मध्ये धेरैमा अरु बैंकले अगुवाई गर्नेस्थिति देखियो ।

उता अनिल शाह पनि आफ्नो नविलमा पुन सीईओ बन्ने आफ्नो प्रयासलाई अर्जुन दृष्टि लगाएका थिए । विनोद चौधरी देखि गभर्नरसम्मका व्यक्तिसँग लविङ गर्दै उनी डेपुटी सीईओ स्वीकार गर्न तयार भएको थिए ।

नविलमा अनिल प्रभाव

यसअघि अनिल शाहले नै नबिललाई स्ट्याण्डर्ड चाटर्ड बैंक भन्दा अगाडी पुर्याएर निजी क्षेत्रका बैंकमा अब्बल बैंकको उपमा उभ्याएका थिए । अनिलकै नेतृत्वमा नबिलले नाफा, सेयर मूल्य, व्यवसाय लगायतका सूचांकमा अन्य बैंकलाई उछिनेको थियो ।

कुलिङ पिरियड लाग्ने र नयाँ सिइओ ल्याउन नसक्दा असार मसान्तको वित्तीय विवरणमा नबिललाई नेपाल इन्भेष्टमेन्ट बैंकले धेरै सुचांकमा जित्ने खतरा मडारिरहँदा सञ्चालकहरुले विकल्प निकाले । र अनिल शाहलाई डेपुटी सिईओका रुपमा नियुक्ती दिलाए । कुलिङ पिरियडको बन्देज हटे लगत्तै नबिलले शाहलाई नै सिईओ नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.