३ वर्षमा नाफा ३ सय प्रतिशत बढाउने नेको इन्स्योरेन्सको योजना

  २०७४ माघ ९ गते १५:०३     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ गुणा बढाउने भएको छ । कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा ३ सय प्रतिशत बढाएर ५९ करोड ७० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष ०७३/०७४ मा उसले २० करोड ८५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालु आवमा कम्पनीले नाफालाई बढाएर ३२ करोड ४१ लाख, आव ०७५/०७६ मा ४५ करोड ९ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण सार्वजनिक गरेको छ ।

कम्पनीको नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ७४ पैसा पुर्याउने लक्ष्य लिएको छ । गत आवमा कम्पनीको ईपीएस २९.२५, आगामी वर्ष २७.५६ र आव ०७५/०७६मा ३३.३४ रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै नेकोको आम्दानी पनि बढेर ३ वर्षमा ९६ करोड ४१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत आवमा कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढेर ५४ करोड ४३ लाख, आगामी वर्ष ७४ करोड ५६ लाख रुपैयाँ पुग्ने छ । जगेडा कोष बढेर ३३ करोड ३१ लाख रुपैयाँ पुर्याउने उसको लक्ष्य छ ।

यसैगरी नेकोले बीमा शुल्क आर्जन बढाएर १ अर्ब ४८ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा कम्पनीले ७४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवमा बढाएर ९४ करोड ९३ लाख र आगामी वर्ष ०७५/०७६ मा १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ पुग्ने छ ।

हाल कम्पनीको चुक्तापुँजी ७१ करोड २८ लाख रुपैयाँ छ । आगामी ३ वर्षमा यसलाई बढाएर १ अर्ब ५५ करोड रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । चुक्तापुँजी बढाउन नेकोले आउदो माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.