नेपाली बजारमा प्याजको भाउ २० प्रतिशतले घट्यो, निर्यातमा भारतको अंकुश कायमै

  २०७४ मंसिर १७ गते १२:१३     पवन तिमिल्सिना

काठमाडौं । चार दिनमा प्याजको भाउ २० प्रतिशतले घटेको छ । भारतमा प्याजको मूल्य सस्तिदा नेपाली बजारमा त्यसको प्रभाव परेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत विहिबार थोक मूल्य अनुसार १ सय १६ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको प्याजको भाउ चार दिनमा २३ रुपैयाँले घटेको छ । अहिले थोक बजारमा प्याजको मूल्य ९३ रुपैयाँ प्रति किलो पुगेको छ ।

कालिमाटी तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाका अनुसार भारत मै प्याजको भाउ घटेकाले नेपाली पनि त्यसको प्रभाव देखिएको हो । उनले भने, ‘भारतमा ८५ भारु प्रति किलोमा पाने प्याजको मूल्य घटेर ५६ रुपैयाँ पुगेको छ ।’

नेपाली बजारमा ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । गत विहिबार एशियाकै ठुलो बजार भारतको महाराष्ट्रस्थित लसल गाँउमा प्याजको भाउमा २५ प्रतिशतले गिरावट आएको थियो । प्याजको आपूर्ति सहज बन्दै जाँदा त्यहाँको प्याजको मूल्य पनि घट्दै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

लसल गाँउको कृषि उत्पादन बजार समितिका अनुसार, ‘पछिल्लो दुई सातामा प्याजको आपूर्ति दोब्बरले बढेको छ । दुई सातामा प्याजको आपूर्ति १० हजार क्विन्टलबाट बढेर २० हजार क्विन्टल पुगेको छ ।’

टाइम्स अफ इण्डियाका अनुसार गत मंगलबार २७ सय भारु प्रति क्विन्टल पुगेको प्याजको भाउ घटेर विहिबार २५ सय भारु प्रति क्विन्टल पुगेको थियो । आगामी डिसेम्बरसम्म भारतीय बजारमा प्याजको भाउ २ हजार भारु प्रति क्विन्टलसम्म घट्ने अनुमान गरिएको छ ।

भारतको अंकुश कायमै

भारतमा प्याजको आपूर्ति सहज बन्दै गएपनि त्यहाँको सरकारले न्युनतम निर्यात दर हटाएको छैन । जसको कारण डिसेम्बरको अन्तिमसम्ममा नेपाली बजारमा प्याजको भाउ घट्दै जानेमा संशय कायमै छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार व्यवसथापक मनोज धितालले   डिसेम्बरको अन्तिम दिनसम्म प्याजको भाउ यकिन गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘प्याज र सुनको भाउको ट्रेण्ड उस्तै भइसक्यो । डिसेम्बर सम्म भारत सरकारले न्युनतम निर्यात मूल्य नहटाएसम्म प्याजको भाउमा खासै प्रभाव देखिने अवस्था छैन ।’

घरेलू बाजारमा ५ महिनामा प्याजको भाउ सात गुणाले बढेपछि भारतले गत मंसिर ७ गते यसको निर्यातको न्यूनतम मुल्य ८५० अमेरिकी डलर प्रति टन कायम गरेको थियो । अन्तर्राष्ट्रीय बाजारमा प्याज औषतमा ७ सय डलरसम्म पाइन्छ भइरहेको छ । त्यसैले बिक्रेताहरु यो भन्दा बढी मूल्य तिर्न तयार छैनन् । जुलाईमा भारतमा औषत १८६ डलर प्रति टनको मूल्यमा निर्यात भएको थियो ।

एशियाभरी प्याजको तनाव

भारत विश्वकै सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुक हो ।  भारतले प्याजको निर्यातमा कडाई गरेपछि नेपालसँगै बंगलादेश, मलेशिया लगायतका अन्य एशियाली मुलुकहरुमा प्याजको महंगिको मार खेपिरहेका छन् ।

गत वर्ष अत्याधिक आपूर्तिका कारण प्याजको भाउ निकै सस्तिएको थियो । यसपाली भारत र पाकिस्तानका किसानले गर्मीयाममा यसको उत्पादन कम गरेका थिए । भारतले प्याजको भाउ बढाएपछि सबै एशियाली मुलुकहरुले चीनमा विकल्प खोजिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपी चीनसँग पर्याप्त उत्पादन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.