माग व्यवस्थापन गर्न पूर्वबाट ३० मेगावाट बिजुली ल्याउने प्राधिकरणको तयारी

  २०७४ मंसिर १५ गते ९:५५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माग व्यवस्थापन गर्न कोसीपुर्वको बिजुली पश्चिमतर्फ ल्याउने तयारी थालेको छ । पूर्वक्षेत्रमा बिजुली बढी भएपछि कोसी पश्चिममा आपूर्ति गर्ने प्राधिकरणले तयारी थालेको हो ।

सबैभन्दा बढी बिजुली खपत मध्यक्षेत्रमा हुने गरेको छ । पूर्वको बिजुली पश्चिममा ल्याउन प्राविधिक अध्ययन भइरहेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्ण श्रेष्ठले बताए । प्रसारणलाइनमा केही सुधारको काम गरे पूर्वबाट थप ३० मेगावाट बिजुली आपूर्ति गर्न सकिने उनको भनाई छ ।

प्रसारणलाइन सानो क्षमताको भएकाले पूर्वबाट पश्चिम धेरै बिजुली आपूर्ति हुन सकेको छैन् । हाल पूर्वक्षेत्रमा भारतबाट १२५ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । यस्तै सानिमामाई, हेवाखोलालगायत अन्य साना आयोजनाबाट बिजुली आपूर्ति भइरहेकाले  बढी हुने बिजुली पश्चिमतर्फ ल्याउन तयारी थालिएको श्रेष्ठले जानकारी दिए ।

उनले विद्युतभार कटौती (लोडसेडिङ) हुन नदिनका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको उनले जानकारी दिए । प्राधिकरणले शुक्रबारदेखि औद्योगिक क्षेत्रमा साँझ ५ देखि राती ८ बजेसम्म लोडसेडिङ गर्न लागेको छ ।

यसअघि साँझ साढे ५ देखि राती साढे ८ सम्म लोडसेडिङ हुदै आएको छ । बढी बिजुलीको माग हुने समय साँझमा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा लोडसेडिङ गर्दै आएको छ । पहिलाको भन्दा आधघण्टा अघि औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

आन्तरिक उत्पादन घट्न थाल्यो

सुख्खायाम सुरु भएपछि नदीमा जलप्रवाहमा कमी आएपछि बिजुली उत्पादन पनि क्रमश कम हुदै गएको छ । अहिले प्राधिकरणका आयोजनाबाट दैनिक २८० र निजी क्षेत्रबाट २९० मेगावाटको हारहारीमा बिजुली आपूर्ति भइरहेको श्रेष्ठले जानकारी दिए ।

यस्तै कुलेखानी कहिलेकाही आवश्यकता अनुसार मात्र सञ्चालन हुने गरेको छ । भारतबाट ३२५ मेगावाटसम्म आपूर्ति भइरहेको छ । १४४ मेगावाटको कालिगण्डकी ९८, ७० मेगावाटको मध्यमस्र्याङदी ४८, ६९ मेगावाटको मस्र्याङदी ५२ र ६० मेगावाटको खिम्ती ५४ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.