जलविद्युत लगानी तथा विकास कम्पनीले ल्यायो ५ वर्षे योजना, ३२३८ मेगावाट बनाउन ३६ अर्ब लगानी गर्ने

  २०७४ भदौ ३० गते २०:३५     विकासन्युज

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने भएको हो ।

कम्पनीको व्यवसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ ।

आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने भएको छ ।

सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले जानकारी दिए । सबै आयोजनामा सहवित्तीयकरणमा लगानी गर्ने छ ।

कम्पनीसंग हाल १० अर्ब रुपैयाँ मात्र पुँजी भएकाले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट लगानी जुटाउने उनले बताए । सकेसम्म स्वदेशी लगानीमा आयोजना बनाउने तयारी भइरहेको उनको भनाई छ ।

यस्तै एसियाली विकास बैंक (एडीबी) बाट ५० लाख डलर ऋण लिने तयारी भइरहेको उनले बताए । सरकारले ल्याएको योजनाअनुसार जलविद्युत आयोजना बनाउन खर्बौ रुपैयाँ लगानी जुृटाउनु पर्ने अवस्था रहेको पोखरेलले बताए ।

स्थापनाको ७ वर्षको अवधिमा कम्पनीले ५४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ ।
यस्तै ५ कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

कम्पनीले हालसम्म १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरी ९० करोड रुपैयाँ लाभांश वितरण गरेको उनले बताए । गत आवमा कम्पनीले ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.