२०७४ भदौ ३० गते ८:२९ विकासन्युज
काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गरेको हो । सहयोगसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । अमेरिकाले एकमुष्ठ गरेको हालसम्म कै सबैभन्दा ठुलो सहयोग हो ।
अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।
यो कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ । नेपालले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना ५ वर्ष्भित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको एमसीसीले जनाएको छ । यसबाट २१३ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र सडक विस्तारमा खर्च गरिने भएको छ ।
पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पु¥याउन पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोशेढुंगा सावित भएको बताए ।
कार्यक्रममा एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नासाले एमसिसी च्यालेन्जको माध्यमबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको चर्चा गर्दै दक्षिण एशियाली देशमध्ये नेपालको गरिबी निवारणका लागि यो रकम सहयोग गरिएको जानकारी दिए ।
डिसीस्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत एलिना वी टेप्लीज, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्की, न्यूयोर्कका लागि कन्सुलेट जनरल मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, स्टेट डिपार्टमेन्टका अधिकारी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायतको उपस्थिति थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.