२०७४ भदौ १५ गते १२:५३ विकासन्युज
बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब ३ करोड रूपैयाँको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन ५ टन बढेको छ । मह प्रतिकिलो ९०० देखि १ हजार रूपैयाँ सम्ममा बिक्री हुन्छ । दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले १ लाख ८० हजार रूपैयाँका दरले सरकारी अनुदान पाएका थिए । युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन् ।
हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ । कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करिब ४ हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ ।
“कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन”, उहाँले भने । गत आवमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो ।
अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रुपमा अघि बढाएका छन् । कम लगानीमा मनग्य आम्दानी हुनथालेछि किसान मौरीपालनतर्फ आकर्षित हँुदै गएका छन् । अनुदानले किसान उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यस वर्ष ५५० वटा घार वितरण गरिसकेको छ । किसानले २ हजार ६०० पर्ने घार अनुदान सहयोगमा १ हजार ९५० मा प्राप्त गरेका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.