कर्णालीमा राष्ट्रिय प्रणालीमार्फत बिजुली आपूर्ति गर्न ४ सय केभी प्रसारणलाइन निर्माण हुदै

  २०७४ भदौ १२ गते ९:०६     विकासन्युज

काठमाडौं । सरकारले कर्णाली क्षेत्रमा राष्ट्रिय प्रणालीबाट बिजुली आपूर्तिको काम थालेको छ । राष्ट्रिय प्रणालीको विद्युत आपूर्तिबाट बञ्चित कर्णालीबासीका लागि सरकार स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले कञ्चनपुरको कर्मादेवदेखि कालिकोटको फुकोटसम्म १३० किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारणलाइनको काम अघि बढाएको छ ।

प्रसारणलाइनको अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढेको छ । कम्पनीले पहिलो चरणमा परामर्शदाताबाट आशयपत्र (ईओआई) मागेको छ । यसका लागि आउदो भदौ ३० गते भित्र प्रस्ताव पेश गर्न भनेको छ ।

प्रसारणलाइन नेपाल–भारत सीमा न्युकर्मादेव, न्युलम्की, सुर्खेतको वेतान हुँदै कालिकोटको फुकोटसम्म पुग्ने छ । यस्तै सवस्टेशन निर्माणका लागि पनि काम सुरु हुने छ । कम्पनी गठन भएपछि यो पहिलो आयोजना हो । आयोजनाको लागत अध्ययनपछि मात्र तय हुने छ ।

पहिलो चरणमा यो प्रसारणलाइनको अध्ययन गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले बताए । ईओआईको काम सकिएपछि बोलपत्र आब्हान गरेर परामर्शदाता छनौट गरिने उनले बताए । उनकाअनुसार केही महिनाभित्र परामर्शदाता छनौट हुने छ ।

प्रसारणलाइको सर्वेका लागि सरकारले बजेटको व्यवस्था गरेको उनले बताए । कम्पनीको यो पहिलो आयोजना हो । मुलुकभरी प्रसारणलाइनको काम यो कम्पनीमार्फत अघि बढाउन सरकारले बेग्लै संस्था स्थापना गरेको हो ।

चालु आर्थिक वर्षमा सरकारले थप १ किलोमिटर लामो विभिन्न क्षमताको प्रसारणलाइनको सम्पन्न गर्ने लक्ष्य लिएको छ । चालु आवमा प्रसारणलाइन थप भएर ३ हजार ३०४ किलोमिटर पुग्ने छ । गत आव सम्ममा ३ हजार २०४ किलोमिटर प्रसारणलाइन निर्माण भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.