२२ करोड सरकारी अनुदान कुर्दै बीमा कम्पनी

  २०७४ भदौ ११ गते १९:०१     विकासन्युज

काठमाडौं । गत आर्थिक बर्ष २०७३/०७४ मा निर्जीवन बीमा कम्पनीले कृषि र पशुधन बीमा वापत २९ करोड ७६ करोड भुक्तानी दिएका छन् ।
सरकारले कृषि तथा पशुधन बीमामा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । कृषक तथा किसानसँग २५ प्रतिशत प्रिमियम असुली गरेपछि स्वतः कृषि तथा पशुधन बीमा हुने व्यवस्था छ ।

सोही व्यवस्था अन्तर्गत गत आवमा गरिएको बीमा र त्यसमा परेका दावी वापत निर्जीवन बीमा कम्पनीले २९ करोड ७६ करोड भुक्तानी गरेका हुन् । किसानलाई बीमा दावी वापत भुक्तानी गरिसकेको भएपनि कम्पनीहरुले भने अझै सरकारबाट अनुदान वापतको रकम पाएका छैनन् ।

बीमा कम्पनीले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयले दिनुपर्ने अनुदान वापतको २१ करोड ७९ लाख रुपैंया नपाएका हुन ।
‘बीमा कम्पनीहरुले दावी वापतको भुक्तानी दिईसकेका छन्, अब सरकारको तर्फबाट कोषमा प्राप्त अनुदान वापतको रकम बीमा कम्पनीहरुलाई दिइनेछ’, बीमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले भने ।

पशु पंक्षी विकास मन्त्रालयका अनुसार पशुधन बीमाको दावी भुक्तानी वापत मन्त्रालयले ९ करोड २४ लाख रकम बीमा समिति मातहतको कोषमा उपलब्ध गराईसकको छ । मन्त्रालयले पशुपंक्षी बीमाको दावी वापत कुल १९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

उता, मन्त्रालयका अधिकृत शिरिश पुनका अनुसार सो मन्त्रालयमा कृषि बीमा वापत सरकारले दिने अनुदानका लागि ३ करोड १० लाख रुपैंयाँको दावी परेको छ । त्यसमा १ करोड रुपैयाँ थप हुने सम्भावना रहेको पनि उनले बताए । उता, पशुपंक्षी विकास मन्त्रालयमा भने ४ करोडको मात्रै बजेट रहेको थियो ।

‘हामीले दावी वापतको भुक्तानी दिईसकेका छौं तर सरकारका तर्फबाट पाउनुपर्ने अनुदान पाउन सकेका छैनौं’, सगरमाथा इन्स्योरेन्स कम्पनीका पुर्वप्रमुख कार्यकारी अधिकृत तथा वर्तमान सल्लाहकार केबी बस्नेतले भने । बस्नेतका अनुसार कृषि तथा पशुधन बीमा वापत कम्पनीले आर्थिक बर्ष २०७२/०७३ कै ५ लाख ६० हजार रुपैंयाँ सरकारी अनुदान पाएको छैन् । गत आवमा मात्रै २ करोड ५० लाख रुपैंयाँ पाएको छैन् ।

बीमा समितिले बीमा पोलिसीको पुरा प्रिमियम तिरेपछि मात्रै बीमा गर्ने व्यवस्था रहेपनि कृषि तथा पशुधन बीमामा भने त्यो व्यवस्थामा छुट दिँदै आएको छ । २५÷२५ प्रतिशत प्रिमियम तिरेपछि बीमा गर्ने व्यवस्थालाई बीमा कम्पनीले भने उधारो बीमा मान्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.