नेपाल औषधीले असोजदेखि सिटामोल उत्पादन थाल्ने, १० प्रतिशत सस्तोमा पाइने

  २०७४ भदौ ५ गते १०:२७     पवन तिमल्सिना

काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आगामी असोजदेखि सिटामोल पनि उत्पादन थाल्ने भएको छ ।
हाल जीवनजल मात्र उत्पादन गरिरहेको लिमिटेडले आफनो उत्पादनमा विविधिकरण गरी सिटामोलको पनि उत्पादन गर्न लागेको हो ।

हप्तामा ५ लाख सिटामोल ट्याब्लेट उत्पादन गर्ने लक्ष्य लिएको लिमिटेडका महाप्रवन्धक रोभस कुसम सुवेदीले बताए ।
उनका अनुसार १ ब्याचमा साढे ३ लाख ट्याब्लेटसम्म सिटामोल उत्पादन गर्न सकिन्छ । एक ब्याजका लागि ३ देखि ४ दिनसम्म लाग्छ । लिमिटेडले बिक्री गर्ने सिटामोल बजार मूल्य भन्दा १० प्रतिशत सस्तो पर्ने सुवेदीले जानकारी दिए । सिटामोल उत्पादन थाल्न नयाँ उपकरण जडान भइसकेको उनले बताए ।

बन्द भएको ८ वर्षपछि उद्योग पुनः सञ्चालनमा आएको हो । औषधि लिमिटेडले सुरुवाती दिनदेखि जीवनजल उत्पादन गर्दै आइरहेको छ ।
दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दाबढी प्रकारका औषधि उत्पादन गर्ने उनको भनाई छ ।

तेस्रो चरणमा क्याप्सुल, पेनसिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा सञ्चालनमा ल्याई स्लाइन र हेमोडाइलसिस फ्युल्ड जस्ता अति आवश्यक औषधिको उत्पादनका लागि काम अगाडि बढाएको छ ।

तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा उद्योग सञ्चालनमा आएको हो । उद्योग सञ्चालनका लागि सरकारले १४ करोड रुपैयाँ अनुदान दिएको छ । औषधी उत्पादन गर्नका लागि नयाँ उपकरण खरिद गरि सञ्चालनमा ल्याइएको छ ।

वि.सं. ०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तराष्ट्रिय मापदण्डअनुसार असल उत्पादन प्रणाली (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस, जिएमपी) अनिवार्य र निरन्तर नोक्सानमा गएपछि उद्योग बन्द भएको थियो ।

बाढी प्रभावित क्षेत्रमा जीवनजल वितरण

लिमिटेडले बाढी प्रभावित क्षेत्रमा जीवनजल वितरण गरिरहेको छ । पछिल्लो समयमा अविरल वर्षाका कारण तराईका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावितका लागि लिमिटेडले जीवनजल वितरण गरिरहेको छ । हालसम्म सप्तरी र मोरङ गरी दुई ठाँउमा ३ हजार पुरिया जीवनजल वितरण गरिसकेको सुवेदीले जानकारी दिए ।

अन्य प्रभावित जिल्लामा पनि १५ हजारसम्म जीवनजल वितरण गर्ने लक्ष्य रहेको उनले बताए । “बाढी प्रभावित क्षेत्रमा झाडा पखाला लाग्ने सम्भावना प्रबल भएपछि तत्कालका लागि हामीले समयमा नै जिवन जल पठाउन सकेनौं भने महामारीको रुप लिने सम्भावना हुन्छ”उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.