आन्तरिक वायुसेवाको उडान काठमाडौंमा, पार्किङ पोखरा र विराटनगरमा

  २०७४ असार २३ गते १०:१७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप घटाउन नयाँ विकल्पको खोजी गरेको छ । प्राधिकरणले आगामी पर्यटकीय सिजनदेखि काठमाडौं विमानस्थलको हवाई चाप घटाउन बाहिरका विमास्थनमा जहाज पार्किङ गनुपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंलाई आधार बनाएर उडान गरिरहेका आन्तरिक उडानका अग्रणी वायुसेवा यती, बुद्ध, तारा, सिम्रिक, सीतासहितको वायुसेवालाई दिनभर काठमाडौंबाटै उडान अनुमति दिने र राती पार्किङ गर्न भने विरानगर र पोखरासहितका बाहिरका विमानस्थलमा पठाउने भएको छ । 

तत्कालका लागि जहाज पार्किङ गर्ने ह्याङ्गर विराटनगरमा भएको, रात्री उडानको सुविधा पनि उक्त विमानस्थलबाट रहेको र काठमाडौंबाट अधिकांश वायुसेवाको उडान प्राथमिकता पनि यो विमानस्थलमा पर्ने गरेको छ । जुन विमानस्थलमा धेरै उडान हुन्छ अब त्यहि आधार बनाएर उडान गर्ने व्यवस्था आगामी पर्यटकीय सिजनबाट हुने भएको छ ।

काठमाडौंबाट पोखरा र विराटनगर जाने होइन अब उताबाट चाहिँ काठमाडौं आउनुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने आवश्यकता देखिएको विमानस्थल स्रोतको दाबी छ । यती, बुद्ध, तारा र सिम्रिकको काठमाडौ आधार भएकोले अरु थोरै उडान भएका वायुसेवालाई मात्रै बाहिर जाउँ भन्न सकिएन, अब सबैलाई उडान तालिका अनुसार र जहाज संख्या अनुसार बाहिर पठाएर काठमाडौंको चाप घटाइने भएको  पनि प्राधिकरण स्रोतको दाबी छ ।

हाल काठमाडौं विमानस्थलमा आन्तरिक वायुसेवाका लागि जम्मा २७ वटा पार्किङ स्थल रहेको छ । ३ वटा जहाज विग्रिए वा लामो समय राख्नुपर्दा रनवेबाट पश्चिमको रिमोट पार्किङ क्षेत्र रहेको छ ।

कुन बायुसेवाका कति जहाज
वायुसेवा कम्पनी             जहाज संख्या
बुद्ध एयर                            ९ वटा
तारा एयर                          ७ वटा
यति एयरलाईन्स              ६ वटा
गोमा एयर                        ६ वटा
नेपाल वायुसेवा                 ७ वटा
सिम्रिक एयरलाईन्स         ४ वटा
श्री एयरलाइन्स                ३ वटा
सीता एयर                       २ वटा
सौर्य एयर                        २ वटा
मकालु                             १ वटा
काष्टमण्डप                    १ वटा

अहिले अत्यावश्यक पार्किङ आन्तरिकको लागि ४० वटा आवश्यक छ । तर मुस्किलले ३० वटा सम्म मात्रै प्रयोग गर्न सकिने अवस्थामा हुने पनि विमानस्थलका प्रवक्ता प्रमनाथ ठाकुरले बताए । उनका अनुसार आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको चार ५ वटा जहाज सधै पार्किङमै थन्किएको हुन्छ ।

अन्य वायुसेवाको पनि जहाज विग्रिने र आवश्यक मर्मतको लागि पार्किङ स्थल प्रयोग भइरहने भएकोले पनि व्यवस्थापन मिलाउनै समस्या भएको विमानस्थल कार्यालयको भनाइ छ । हाल आन्तरिक वायुसेवाको उडानमा एक दर्जक कम्पनीबीच तीब्र प्रतिस्पर्धा चल्न थालेको छ ।

वायुसेवा कम्पनीबीच एकपछि अर्कोले जहाज थप गर्ने र सेवा संचालनको दायरा बढाउने गरि भएको प्रतिस्पर्धाले पनि विमास्थल सेवा सुविधा पुर्याउँनै हम्मे परिरहेको छ ।

काठमाडौं विमानस्थलाई आधार बनाएर मात्रै भएको यस्तो प्रतिस्पर्धाले दुर्गम क्षेत्रका नागरिकको यातायात समस्या भने ज्यूँकात्यूँ छ ।

हाल नेपालका विभिन्न १० वटा आन्तरिक वायसेवासँगले करिब चार दर्जन  जहाज संचालन गरिरहेका छन् । यी जहाजमार्फत काठमाडौं विमानस्थलबाट मात्रै दैनिक साढे तीन सय वटासम्म उडान हुने गरेको छ । यो जहाज सख्या नियमित उडानका वायुसेवाको मात्रै हो ।

पर्यटकीय सिजनमा सबैभन्दा बढी उडान तथा अवतरण हुने गरेकोले काठमाडौं बाहिरबाट सेवा दिन र पुर्याउँन नयाँ व्यवस्था हुन लागेको हो । अहिले नै दैनिक ११० वटा उडान र सोही नै संख्यामा अवतरण हुने गरेको छ ।

पर्यटकीय सिजनमा भने दैनिक रुपमा साढे ३ सय देखि ४ सय वटा सम्म आन्तरिक वायुसेवाको उडान तथा अवतरण हुने गरेको छ । यस्तो समयमा पार्किङ गर्न समस्या हुने गरेकोले अकासमै जहाज होल्ड गर्नुपर्ने समस्या बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.