दुई महिनाभित्र ३५२ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन

  २०७४ जेठ २९ गते १२:१२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्नु पर्ने भएको छ । वाणिज्य बैंकहरुको शाखा स्थापना नभएको स्थानीय तहमा तत्काल शाखा खोल्नको लागि संसदको विकास समितिले सरकारलाई निर्देशन दिने निर्णय भएको विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए ।

सोमबार सिंहदरबारमा बसेको विकास समितिको बैठकले बजेटमा व्यवस्था भएअनुसार स्थानीय तहमा बजेट निकासा गर्न वाणिज्य बैंकहरुको शाखा अनिवार्य खोल्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

समिति  बैठकमा सहभागि सरकारका मुख्यसचिव, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयको सचिवहरुले उक्त निर्णय स्वभाविक भएको र कार्यान्वयनमा पनि लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अर्थसचिव शान्तराज सुवेदीले स्थानीय तहका लागि सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत २ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरेको, सो रकम स्थानीय तहको संचित कोषमा सोझै निकासा गर्ने व्यवस्था गरिएको र स्थानीय तहले संचित कोष खाता ‘क’ वर्गको बैंकमा मात्र खोल्न सक्ने व्यवस्था गरिएको बताएका छन् । सोही व्यवस्था कार्यान्वयन गर्नको लागि स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा अनिवार्य भएको सभासदहरुले बताएका छन् ।

अर्थसचिव सुवेदीका अनुसार ७४४ स्थानीय तह मध्ये हालसम्म ३९२ वटा स्थानीय तहमा मात्र ‘क’ वर्गको बैंक शाखा भएको र ३५२ वटा स्थानीय तहमा अझै ‘क’ वर्गका बैंक नपुगेको बताए । विकास समितिको निर्णय र निर्देशन अनुसार २ महिनाभित्र ती स्थानमा वाणिज्य बैंकहरुलाई शाखा खोल्ने व्यवस्था राष्ट्र बैंक मार्फत गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.