वायुसेवा निगमसँग संचयकोष र नागरिक लगानी कोषबीचको ऋणसम्झौता भाेली, ऋण र व्याज समान

  २०७४ जेठ २७ गते ९:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न भोली आइतबार ऋण सम्झौता गर्ने भएको छ । वायुसेवा निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता रविन्द्र श्रेष्ठले आइतबार कर्मचारी संचय कोष र नागरिक लगानी कोष दुबै संस्थासँग ऋण सम्झौता हुने मिति तय भएको जानकारी दिए ।

उनका अनुसार भोली दुबै संस्थासँग समान रकम र समान व्याजदरमा सम्झौता हुने भएको छ । त्यसपछि भोली नै वा ऋण सम्झौता भएको ३ दिन भित्र जहाज खरिद गर्ने कम्पनीलाई पहिलो किस्ता वापतको ८ अर्ब रुपैयाँ पठाउने पनि श्रेष्ठले विकास न्युजलाई जानकारी दिए ।निगमले एयरवस कम्पनीकाे ए ३३० नामक २८० सिट क्षमताकाे जहाज खरिद गर्दै छ ।

उनका अनुसार निगमले २५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । यो ऋण मध्ये साढे १२ अर्ब रुपैयाँ संचय कोषबाट र त्यति नै रकम नागरिक लगानी कोषबाट लिइने भएको छ । दुबै संस्थालार्ई तिर्नुपर्ने व्याजदर भने बार्षिक ९ प्रतिशतको समान दर तय भएको पनि श्रेष्ठले जानकारी दिए ।

यस अघि निगमले जेठ पहिलो साता नै ऋण सम्झौता गर्ने र जहाज खरिद गर्न बैना रकम पठाइसकेको कम्पनी एएआरलाई ८ अर्ब रुपैयाँ पहिलो किस्तावापत पठाउने तयारी गरेको थियो । प्राविधिक कारणले अहिलेसम्म ऋण सम्झौता हुनै नसकेको पनि उनको भनाइ छ ।

जहाज विक्रेता कम्पनीलाई भने १० करोड रुपैयाँ बैना रकम पठाइसकिएकोले एक दुई साताको समय ढिलो भएर कुनै असर नपर्ने भनाइ पनि उनको छ । जहाज दिने कम्पनीसँग निरन्तर सम्पर्कमै रहेको र हामीले गरेको सबै तयारीको वारेमा उसलाई जानकारी भएकोले पनि पहिलो किस्तावापतको रकम पठाउन ढिलाई हुँदा पनि कम्पनी चुप लागेको उल्लेख छ ।

श्रेष्ठका अुनसार सबै प्रक्रिया अगाडि बढिसक्यो, अब भोली आइतबारै औपचारिक रुपमा सम्झौता गर्न हुने र तत्काल रकम निकास भैहाल्ने भएको छ । दुबै संस्थाबाट निगमले आधाआधा ऋण लिने विषय सुरुदेखि नै उठान गर्दै आएको थियो । यो ऋण लिएर निगमले तत्कालै जहाज विक्रेता अमेरिकी कम्पनी एएआरालाई पहिलो किस्तावपत ८ अर्ब रुपैयाँ पठाइहाल्ने भएको छ ।

निगमका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउन लागिएको हो । निगमले जेठ ८ गतेभित्रै रकम पठाइसक्नुपर्ने गरेर अनौपचारिक छलफल गरेको भएपनि आन्तरिक कारण तीन साताको सयम पर थकेलिएको हो ।

निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्ने भएपनी कर्मचारी व्यवस्थापन, पाइलट तालिम, इन्जिनियरिङसहितका कामकाे लागि २५ अर्ब रुपैयाँ नै ऋणा लिने पनि उल्लेख छ ।

निगमले यो जहाज किन्न गत चैत २५ गते गरेको सम्झौता अनुसार अबको एक वर्षमा नयाँ वाइडवडि जहाज पाउने भएको छ ।

२८० सिट क्षमतासम्मको यो जहाज आएपछि निगमले दशकौदेखि उडान रद्द गरेका गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । निगमले आगामी वर्षको वैशाखदेखि अर्थात विसं २०७५ को नयाँ वर्षबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया लगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएकाे छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु भैसकेको वायुसेवा निगमले जानकारि दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.