पाँच वर्षमा काठमाडौं दक्षिण एसियाकै नमुना शहर बन्नेछः विद्यासुन्दर शाक्य

  २०७४ वैशाख २३ गते १३:२३     विद्यासुन्दर शाक्य

तपाईँले काठमाडौँको मेयरमा जित्ने आधार के–के छन् ?
नेकपा (एमाले)तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । काठमाडौँ महानगरपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जनताको घर–दैलोमा पुगेको मर्दाको मलामी र बाँच्दाको जन्ती बनेको पार्टी पनि एमाले नै हो । सुख–दुःखमा साथ दिएको पार्टी पनि एमाले नै हो । अहिले एमाले महानगवासीका लागि एमाले स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र होइन आत्मीयरुपले पनि नजिक छ । त्यसैले उहाँहरु सबै काठमाडौँको मेयर विद्यासुन्दरलाई बनाउन चाहनुहुन्छ । त्यसैले विद्यासुन्दरले जित्ने सबै भन्दा बलियो आधार यही हो ।

विद्यासुन्दर शाक्य ,एमालेका तर्फबाट काठमाडौँ महानगपालिकाका मेयरका उम्मेदवार

मैले अघि पनि भने एमालेले लिएको राष्ट्रियताको स्पष्ट अडान, सामाजिक न्यायका क्षेत्रमा एमालेको गरेको काम, एमालेले लिएका नीति, विचार, सिद्धान्त र एमालेले महानगर विकासका लागि अघि सारेको कार्यक्रम अन्य सबै राजनीतिक दलहरुको भन्दा उत्कृष्ट छ । एमाले कसैका छोरी–बुहारी वा ज्वाईँलाई मेयर बनाउने योजना बोकेर चुनावी मैदानमा आएको छैन । काँग्रेस–माओवादीका साथीहरुले गरेको चुनावी तालमेल केका लागि हो भन्ने कुरा तपाईँहरुले स्पष्ट रुपमा बुझ्नु भएको छ । हामी छोरी–बुहारी वा ज्वाईँ होइन संवृद्ध नेपाल बनाउने, सबैले आहा भन्ने महानगर बनाउने योजनासहित चुनावी मैदानमा आएका छौँ । अहिले नेपालमा जहानीय राणाशासन छैन तर काँग्रेस–माओवादीले जहानीय शासन अझै बाँकी छ भन्ने झल्को दिने गरी चुनावी तालमेल गरेर आफ्ना छोरी–ज्वाईँलाई मेयर–उपमेयर बनाउनका लागि पार्टीमा योगदान गरेका, लामो अनुभव बटुलेका नेता–कार्यकर्तालाई पाखा लगाएका छन् । यो कुरा पनि आम जनताले राम्ररी बुझेका छन् भन्ने मैले ठानेको छु । देशभक्त र राष्ट्रियता कमजोर बनाउने गठबन्धनका पक्षमा नेपाली जनताले मतदान गर्नुहोला भन्ने मैले ठानेको छैन । यो हामीले चुनाव जित्ने अर्को वलियो आधार हो ।

मैले काठमाडौँमा मेयर जित्ने तेस्रो आधार भनेको म दुई–दुई पटक यही महानगरपालिकाका जनताबाट चुनिएको जनप्रतिनिधि हुँ । काठमाडौँको वडा २१ बाट म दुई पटक जनप्रतिनिधि भएँ । पहिलो पटक म वडा अध्यक्ष भएर गरेको कामको मूल्याङ्कन गरेर फेरि ०५४ सालमा भएको स्थानीय निर्वाचनमा जनताले मलाई भारी मतसहित विजयी गराउनु भयो । मैले त्यतिबेला पनि उहाँहरुले गरेको विश्वासलाई मर्न दिइन् । मेरो कामको मूल्याङ्कन गर्दै पार्टीले पनि मलाई विभिन्न जिम्मेवारी सुम्पिदैँ आएको छ । म दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । अहिले पनि म एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छु । महानगरमा मैले नेकपा (एमाले)का तर्फबाट महानगर राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा लामो समयदेखि काम गर्दै आएको छु । यसले मलाई मलाई महानगर बुझ्न निकै सजिलो भएको छ । महानगरको विकास कसरी गर्ने, महानगर विकासमा के कुराको कमी छ । त्यो सबै मैले बुझेको छु । यो मेरो जित्ने अर्को आधार हो ।

चौथो आधार भनेको काँग्रेस–माओवादी गठबन्धन सरकारले नौ महिने सत्ता चलाउँदा गरेका एकपछि अर्को कमजोरीले जनता दिक्क भएका छन् । सरकार कहिले प्रहरी प्रमुखको विषयलाई लिएर त कहिले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर एकपछि अर्को वदनामी कमाउँदै आएको छ । सरकार सञ्चालन गरेको नौ महिना पूरा भएको छ । तर, अहिलेसम्म यो सरकारले जनतालाई उत्साहित हुने काम केही गर्न सकेको छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मृत अवस्थामा रहेका सपनालाई व्यूँझाउने काम गर्नुभएको थियो । नेपाली जनता संवृद्धिको सपना देख्न थालेका थिए । नेपाली जनताले देखेका सपना पूरा गर्न महानगरपालिकामा एमाले बाहेको नेतृत्व अहिले नेपाली जनताले कल्पना पनि गर्न सकेका छैनन् । यी सबै आधारले पनि काठमाडौँमा मात्रै होइन देशैभरी एमालेको विजयी सुनिश्ति छ भन्न ढुक्कले सकिन्छ ।

अहिलेसम्म चुनाव प्रचार–प्रसारका क्रममा तपाईँले के–कस्ता प्रतिवद्धता लिएर जनताका बीचमा जानु भएको छ ?
मैले जनतालाई म काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाँच वर्षमा यो सहर दक्षिण एसियाकै सबैभन्दा बसोबास गर्न लायकको सहर हुनेछ । पाँच वर्षभित्र यस सहरलाई शिक्षा, व्यवसाय तथा विभिन्न अवसरहरु प्राप्त हुने र गर्व गर्न लायक सहरका रुपमा विकास गर्ने छु । महानगरका वासिन्दा म मेयर भएको पाँच वर्षमा एक आपसमा हातेमालो गर्दै समुदायलाई सशक्तिकरण गरेर व्यवसाय गर्ने र आनन्दको जीवन बिताउन सक्ने हुनेछन् । म मेयर निर्वाचति भएपछि काठमाडौँलाई एक दिगो सहरका रुपमा विकास गर्नेछु । जहाँ हरित पूर्वाधार, सहरी कृषि, बैकल्पिक यातायात लगायत रहनेछन् । नवीन सोचका साथ यी योजनाहरुलाई अघि बढाउने छु ।

भूकम्पपछि ध्वस्त भएको पूनःनिर्माणमा तपाईँको योजना के–छ ?
‘व्युल्ड व्याक वेटर’को अवधारणाबाट भूकम्प पुनःनिर्माण को योजना अनुरुप भूकम्पबाट क्षति भएका भौतिक संरचनालाई पहिलाको भन्दा अझ अत्याधुनिक र नयाँ ढंगले निर्माण गरिने छ । त्यसका ‘वल्ड हेरिटेज सिटी’ लागि भित्रि काठमाडौँलाई ‘रिभाई र रिग्रेट’ गरिने छ । यो योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु । यस्ता थुप्रै योजना छन् । जसले भूकम्पपछि थिलथिलो भएको महानगरपालिका जुरुक्क उठ्ने छ ।

आर्थिक विकासका पनि त केही योजना होलान नि ?
अवश्य, म मेयर भएपछि आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना शहर बनाउने छु । काठमाडौँ र सहरलाई सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री वाताबरण बनाउने छ । अहिले दैनिक हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । म त्यसलाई कम गराउने समय सापेक्ष रोजगारमूलक वातावरण निर्माण गर्नेछु । युवाहरुका लागि रोजगारमूलक तालिम दिने र ठाउँ–ठाउँमा अनलाइन रोजगार सूचना केन्द्रको व्यवस्था गर्नेछु । त्यसैगरी मझौला व्ववसाय तथा साना व्यवसाय सुरु गर्नेहरुलाई (स्टार्ट अफ) लगानीमैत्री विनियमहरु बनाइने छ । सहरका मुख्य–मुख्य केन्द्रमा (इन्टरपेनर हव) को स्थापना गर्नेछु ।

काठमाडौँवासीका केही सपनाहरु छन् । ती सपनासँग म नजिकबाट साक्षात्कार छु । महानगरवासीका सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु, राम्ररी बुझेको छु । सुन्दर, शान्त महानगर यहाँका जनताको मात्र होइन मेरो पनि सपना हो । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । फेसबुकमा हावादारी सपना बांडेर मात्र सफल हुंदैन त्यसका लागि काम गर्नुपर्छ । काम गर्न कार्यान्वय गर्न सक्ने ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ ।

अहिले महानगरभित्र रहेको अस्तव्यस्त यातायात सबैको टाउको दुखाई बनेको छ । यसलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्दछ । नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापनाका लागि मैले जोड दिनेछु । महानगरमा केवलकार, मोनोरेल, तथाअत्याधुनिक बससेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरु संचालनमा ल्याइनेछ । त्यसैगरी काठमाडौंलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गरिनेछ । स्मार्ट सिटीको पूर्वाधार तयार गर्नकालागि महानगरीय ‘ब्रोडव्याण्ड नेटवर्क’ स्थापना गर्नेछु । महानगरको नागरिक हुनुमा गौरवान्वित महसुस हुने गरी र जनतालाई सुलभ तथा द्रुत सेवा प्रदान गर्नका लागि ‘महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गर्नेछु ।

महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सर्पोटेशन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने छु । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गर्नेछु । त्यसैगरी साइकल लेनको निर्माण गरिनेछ । साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ । ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेशन निर्माण गर्नेछु । काठमाडौँ महानगरभित्र ‘स्मार्ट पार्किड सिष्टम’को व्यवस्था गर्नेछु । विभिन्न ठाउँमा स्वचालित ‘भर्टिकलकार पार्किङ र अण्डरग्राउण्ड पार्किङ सिष्टम’को व्यवस्था गर्नेछु । स्थानीय तथा आगन्तुकहरुको लागि ठुला होटेल रेस्टुराँ, सपिङ मलहरु, डे र नाइट मार्केटहरु ठाउँ–ठाँउंमा स्थापना गर्नेछु् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.