एनसेललाई टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स, देशैभर फोरजी सेवा विस्तार गर्ने

  २०७४ वैशाख २२ गते १२:२६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स पाएको छ । दुर सञ्चार सेवाको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा सञ्चालनका लागि टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिएको हो ।

‘फोरजी सेवा सञ्चालनका लागि एनसेलललाई टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स दिने निर्णय भएको छ, कम्पनीले अब देशका प्रमुख शहरहरुमा फोरजी सेवा विस्तार गर्नेछ’, दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले विकासन्युजसँग भने ।
अर्यालका अनुसार एनसेलललाई ९०० मेगाहर्ज र १८०० मेगाहर्जमा टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिइएको हो ।

अहिले यी दुबै फ्रिक्वेन्सीमा २ जी र ३ जी सेवा सञ्चालन भैरहेको छ । एनसेलले ९०० मेगाहर्जमा ३ जी सेवालाई ग्रामिण क्षेत्रमा विस्तार गर्ने तयारी गरेको छ भने १८०० मेगाहर्जबाट फोरजी सेवा सञ्चालन गर्नेछ । एनसेलले यहि जुन १ तारिख देखि फोरजी सेवा आरम्भ गर्नेछ ।
हाल नेपाल टेलिकमले १८०० मेगाहर्जमा टेक्नोलोजी न्युट्रालिटी मार्फत काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालन गरिरहेको छ ।

फोरजी सेवामा एनसेलको प्रवेशले गुणस्तर र शुल्कमा प्रतिष्पर्धा हुने र उपभोक्ताले लाभ पाउने प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।
एनसेलले आगामी १२ महिनाभित्रै ३ जी सेवालाई ६० प्रतिशत जनताको पहुँचमा पुर्याउने रोडप्याप पेश गरेको छ । त्यस्तै, सन २०१८ भित्र ८५ प्रतिशत जनताको पहुँचमा ३ जी सेवा विस्तार गर्ने पनि कम्पनीको प्रस्तावमा उल्लेख गरिएको छ ।
एनसेलले सन २०१८ भित्र ठुला १५ वटा शहरमा फोरजी विस्तार गरिसक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.