साढे १३ अर्ब खर्चेर काठमाडौंमा सहरी केवलकार बनाइने, अनुमति पाएको २ वर्षभित्र संचालनको तयारी

  २०७३ फागुन २४ गते १२:५२     विकासन्युज

काठमाडौं । काठमाडौंमा सहरी केवलकार बनाउन पञ्चकन्या इन्डस्ट्रियल ग्रुप, कालिका कन्ट्रक्सन ग्रुप, फ्रान्सेली कम्पनी पोमा सास र काठमाडौं एयर ट्राम एण्ड केवलकारले संयुक्त रुपमा प्रक्रिया अगाडि बढाएका छन् । यी चारवटा कम्पनीले गरेको संयुक्त प्रयासबाट काठमाडौं उपत्यकाको विभिन्न चार वटा स्टेशनबाट केवलबार संचालन गर्न सकिने उल्लेख छ । केवलकार संचालनका लागि करिब साढे १३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको काठमाडौं एयर ट्राम एण्ड केवलकारका अध्यक्ष श्याम श्रेष्ठले बताए ।

उनका अनुसार प्रक्रिया अगाडि बढाइएको छ । ‘अहिले सरकारसँग केवलकार निर्माण गर्न अनुमति माग्ने र लगानी जुटाउने काम भइरहेको छ,’ श्रेष्ठले विकास न्युजसँग भने । सरकारी अनुमति पाउनसाथ निर्माण चरणमा जाने गरी तयारी भइरहेको छ । सरकारले निर्माण अनुमति दिएको २ वर्ष भित्रमा काठमाडाै‌मा केवलकार संचालन गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार जम्मा काठमाडौं भित्र संचालन हुने यस्तो केवलकार २५ देखि ४० किलोमिटरमा हुने उल्लेख छ । २५० वटासम्म गोन्डोला अर्थात केवलकारकाे डिब्बा रहेने छन् । यो केवलकारमा प्रति गोन्डोलाको यात्रु क्षमता १२ जनासम्म हुने छ । काठमाडौंमा संचालन हुने यस्तो केवलकारमा भएको योे लगानी ८ वर्षमा नै फिर्ता हुन सक्ने अनुमान गरिएको छ ।

हरेक स्टेशनबाट दैनिक एकतर्फि नै २० हजार यात्रुलाई सेवा दिन सक्ने क्षमताको यो केवलरमा दुइतर्फि भने ४० हजार जना रहने उल्लेख छ ।  प्रति यात्रु जार्च ६० रुपैयाँ हुने यस्तो केवलकारमा पर्यटकका लागि भने १ सय देखि १२० रुपैयाँसम्मको प्रस्ताव गरिएको छ ।

के छ विस्तृत संम्भाव्यता अध्ययन प्रतिवेदनमा ?
काठमाडौंकाे सहरि केवलकारको नाममा भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन यस अघि नै फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले तयार पारिसकेकाे उल्लेख छ ।

प्रतिवेदनमा काठमाडौंमा केवलकार सञ्चालनका लागि चारवटा लाइनहरुको पहिचान गरिएको छ । लगनखेल—जमल, टंकेश्वर—गोंगबु, कलंकी—रत्नपार्क र बौद्धनाथ—बिष्णुमति गरी चारवटा लाइनमा केवलकार सञ्चालन गर्न सकिने उल्लेख छ ।

प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतिसम्म केवलकारको दुरीमा ७ किलोमिटर हुनेछ । यसमा एक एक किलोमिटर दुरीमा ७ वटा स्टेशन हुनेछन् । बौद्धनाथ, चावहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, दरबार क्षेत्र र विष्णुमतिमा स्टेशन हुने उल्लेख छ । यी बाहेक अन्य लाइनमा पनि एक एक किमिकाे स्टेशन हुने छन् ।

काठमाडौं अर्बन केवलकार परियोजनाको डीपीआरका लागि फ्रान्सेली कन्सल्ट्यान्ट कम्पनीसँग भौतिक मन्त्रालयले सन् २०१५ फेबुअरीमा सम्झौता गरेको थियो । एक वर्षभन्दा बढी समय लगाएर कन्सल्ट्यान्ट कम्पनीले सन् २०१६ मा नै प्रतिवेदन बुझाएको थियो । यो प्रतिवेदनमा अहिले निर्माण कम्पनीले सरकारबाट गो अ हेड भन्ने अनुमाति मात्रै पर्खिरहेको पनि श्रेष्ठले बताए ।

प्रक्रिया अगाडि बढाउने र लगानी जुटाउनेसँगसँगै
यो केवलकार परियोजना लागि लागनी जुटाउने र निर्माणका निम्ति आवश्यक प्रक्रिया सँगसँगै अगाडि बढाउने काम भइरहेको पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार ठूलो लगानी भएको र एउटैले जुटाउन नसक्ने भएकोले विदेशी लगानीकर्ता र दातृ निकायसमक्ष पनि आग्रह गर्ने काम भइरहेको उनले बताए ।

नेपाली लगानीकर्ता, फ्रान्सेली लगानीकर्ता, एसियाली विकास बैंक (एडीबी) विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायतलाई सहभागी बनाएर पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा केवलकार निर्माण गर्ने योजनासमेत रहेको उल्लेख छ ।

केवलकारले यात्रुको ५० देखि ६० प्रतिशत समय बचत गरिदिने हुने, निजी सवारी सञ्चालनको खर्च घट्ने, सवारीको जाम ५० प्रतिशतसम्मले नै घट्ने, प्रदूषण कम गर्ने र वातवरणमैत्री हुने दाबी कम्पनीको छ । सहरीकरणको तीब्र विकाससँगै केवलकार आवश्यकता भएको पनि श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.