निक्षेप ३ अर्ब ५१ करोड ३० लाख, ब्याज एक प्रतिशत मात्रै !

  २०७३ पुष २२ गते १३:०२     नारायण पौडेल

dipositकाठमाडौं, २२ पुस । बजारमा तरलता अभाव भएसँगै निजी तथा सरकारी वित्तिय संस्थाहरुले निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याइसकेका छन् । अझ निजीस्तरका बाणिज्य बैंकहरुबिच त उच्च ब्याजदर अघि सारेर निक्षेप कर्तालाई तान्ने होडबाजी नै चलेको छ ।

जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ, मेघा बैंकले १० प्रतिशत ब्याज नै दिने भनेको छ, शुक्रबारदेखि सिभिल बैंकले १११ दिने मुद्दति खातामा ११ दशमलव १ प्रतिशत व्याज दिने योजना अघि सारेको छ ।

तर नेपाल आयल निगमले भने विगत साढे २ बर्षदेखि एक प्रतिशत ब्याजदरमा मोटो रकम डिपोजिट गर्दै आएको छ ।निगमले यतिबेला ३ अर्ब ५१ करोड ३० लाख रुपैंयाँ राष्ट्रिय बाणिज्य बैंकमा एक प्रतिशत ब्याज आउने गरि करेण्ट कल खातामा राखिरहेको छ ।

निगमले सो खातामा एक प्रतिशत ब्याज आउने गरि आर्थिक बर्ष २०७१/७२ सालदेखि नै रकम राख्दै आएको देखिन्छ । निगमले सो आर्थिक बर्षमा २ अर्ब ६१ करोड रुपैंयाँ डिपोजिट गरेको थियो । त्यस्तै, आर्थिक बर्ष २०७२/७३ सालमा ६९ करोड ८१ लाख रुपैंयाँ थपियो । चालु आर्थिक बर्षको मंसिर १५ सम्ममा थप २० करोड ४९ लाख रुपैंयाँ सोही खातामा एक प्रतिशत ब्याज आउने गरि राखेको छ ।

nepal_oilनिगमले यो साढे दुई बर्षको अवधीमा ३ अर्ब ५१ करोड ३० लाख रुपैंयाँ एक प्रतिशत ब्याज आउने गरि करेण्ट कल खातामा किन राखेको भन्ने प्रश्नको जवाफमा नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले भने-‘मलाई पनि जानकारी छैन, अरु साथीसँग बुझ्नुपर्छ, यस्तो प्रश्न्न अहिलेसम्म कसैले गरेको थिएन ।’

उता, आपुर्ति मन्त्रालयका उप सचिव प्रेम प्रसाद आचार्यले पनि निगमले किन एक प्रतिशत ब्याज दरमै त्यति ठुलो रकम निक्षेप राख्यो भन्नेबारे मन्त्रालयलाई जानकारी नभएको बताए ।‘कतिपय कुरामा निगमल स्वायत्त पनि छ, किन त्यति थोरै ब्याजदरमा निक्षप राखियो भन्ने कुरा मन्त्रालयलाई थाहा छैन, फेरी मूल्यस्थिरिकरण कोष पनि निगमले नै सञ्चालन गर्ने हो’, मन्त्रालयको संस्थान शाखाका उप सचिव आचार्यले विकासन्युजसँग भने ।

उनले किन त्यति थोरै ब्याजदरमा निक्षेप राखियो भन्नेबारे मन्त्रालयले अध्ययन गर्ने जानकारी पनि दिए । बजारमा तरलता अभाव भएसँगै बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गरिरहँदा पनि निगमले पनि एक प्रतिशत ब्याजमै ठुलो रकम डिपोजिट गर्नुले आंशका जन्माएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.