सवा दुई अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, निक्षेप लिन बैंक तथा वित्तीय संस्थाले ११ वटा शर्त पूरा गर्नुपर्ने

  २०७३ पुष २२ गते ११:२८     विकासन्युज

nrbकाठमाडौं, २२ पुस । बैक तथा वित्तीय संस्थामा तरलता अभाव हुँद गएको मौका छोपेर नेपाल राष्ट्र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा सवाँ दुई अर्ब लगानी गर्ने लागेको छ । राष्ट्र बैंक विभिन्न ११ वटा शर्तहरु राखेर मापदण्ड पूरा गर्ने बैंक तथा वित्तीय संस्थामा उक्त रकम १ वर्षका लागि राख्न लागेको हो । राष्ट्र बैकले आउँदो २०७३ माघ २ गतेदेखि २०७४ माघ १ गतेसम्मका मुद्दती निक्षेपका रूपमा उक्त रकम राख्न लागेको हो ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ अर्ब २८ करोड ७८ लाख ६६ हजार रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले कर्मचारीको रिटायरमेन्ट फन्टमा जम्मा भएको रकम लगानी गर्न लागको हो ।

राष्ट्र बैंकमा एक हजार दुई सय कर्मचारी कार्यरत छन् । यस्तै बैक तथा वित्तीय संस्थामा आफ्नो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कहरूमा १ अर्ब ८३ करोड २ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी ‘ख’ वर्गका बैंकमा ३४ करोड ३१ लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा. ११ करोड ४३ लाख ९३ हजार रुपैयाँ मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो ।

तरलता अभाव भएको बेला राष्ट्र बैंकबाट सो रकम बजारमा पढाउँदा बैंकहरुमा देखिएको तरलता कमीको समस्या थोरै भए पनि हल हुनेछ भने उता राष्ट्र बैंकले पनि व्याज पाउने छ । नियामक निकायबाटै यस्तो अवस्थाको व्यवस्थापन गर्न सहयोग भएका हाल बढ्दै गएको ब्याजदरमा पनि समायोजन हुन सक्नेछ । हाल बैंकहरुमा तरलता रित्तिदै गएपछि बैंकहरु एकपछि अर्को गर्दै बढी ब्याज दिने होडमा लागेका छन् ।

रकम राख्न इच्छुक तीनै किसिमका बैक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्ने छ । साथै न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) ५ प्रतिशतभन्दा कम भएको र खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेका हुनुपर्ने पनि शर्तका रूपमा रहेका छन् ।

मुद्दती निक्षेप राख्न बैंक तथा वित्तीय संस्थाहरूले कुल लगानीयोग्य रकममध्ये मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई राष्ट्र बैंकमा दर्ता गर्नुपर्ने छ । केन्द्रीय बैंकका अनुसार लगानीयोग्य हुन तोकिएका संस्थाको कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने छ ।

साथै अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र रियल इस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको बैंक तथा वित्तीय संस्थाले मात्र यसमा सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले रियल इस्टटेमा कुल लगानीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यसैगरी राष्ट्र बैंकबाट जरीवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक भएको बैङ्क तथा वित्तीय संस्था पनि यसमा सहभागी हुन पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.