नेपालको अन्तर्राष्ट्रिय हवाई रुट २० मिनेट छोट्टियो, भारतको अधिकांश आकास नेपालका लागि खुला

  २०७३ पुष ७ गते ९:१९     विकासन्युज

काठमाडौं ७, पुस । नेपाल र भारतबीच हवाई सेवाको पहुँच विस्तारको विषयमा नयाँ सम्झौता भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार र विहिबार भएको हवाई सेवा तथा हवाई ट्राफिक संचालन गर्ने तथा हवाई मार्ग र प्रवेश विन्दु सम्वन्धमा नयाँ सम्झौता भएको छ । नेपाल र भारतबीच भएको दुईपक्षिय हवाई सेवाको हिमालयन रुट २ (बाग्डोग्रा—गुहाटी— सिलचर —इम्फाल) नामक हवाई रुट निर्धारण गर्न भारतीय पक्षले सहमति जनाएको छ ।
atr-aircraft
दुई पक्षिय सम्झौता अनुसार नेपालले मागेको हिमालयन रुटमा सहमति भएको हो । यो सहमति पश्चात काठमाडौं, बागडोरा, गुहाटी, सिलचर, इम्फाल, कुन्मीङ हुँदै हङ्कङ जोड्ने हवाई रुट खुला भएको छ ।

अहिले नेपालबाट हङ्कङ जान वंगलादेश हुँदै जानुपर्ने लामो दुरीलाई यो हिमालयन रुटको अनुमतिले एक सय नटिकल माइल तथा करीब २० मिनेटको हवाई दुरी छोटो हुने भएको छ ।

यो सहमति पछि नेपालबाट बाहिरिने र भित्रने हवाई रुट बढाउन नेपालले गरेको प्रस्तावलाई भारतले औपचारिक रूपमै सहमति दिएको उल्लेख छ । यो रुटबाट नेपाल भित्रदा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले हाल सीमरामाथिको आकाश हुँदै आउनुपर्ने एउटै मात्र रुटलाई भारतले थप गरिदिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । उनले बुधबार र बिहीबारको नेपाल भारत सहमतिको विज्ञप्ती पनि सार्वजनिक गरेका छन । विज्ञप्तीमा थप हवाई रुट दिने सहमति भएको उल्लेख छ ।

काठमाडौबाट विराटनगर तथा महेन्द्रनगर हुँदै भारतको आकाश भएर उडान गर्ने वायुसेवाले नयाँ र छोटो रुट पाएको हो । हिमालय रुट २ को अनुमतिले युरोप र हङकङ जाने रुटसमेत छोटो हुने भएको छ । यो अनुमतिले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तर्राष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्ने भएकोले नेपालले आर्थिक लाभ समेत पाउने भएको छ ।

हिमालयन रुटको अनुमतिले टोकियोबाट लण्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गरेर गर्न सक्ने भएकोले हवाई क्षेत्रको राजस्व बढ्ने प्राधिकरणको भनाइ छ । उड्डयन नियम अनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाई ओभर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तो शुल्क देश अनुसार फरक फरक हुन्छ । नेपालले यो रुट खुला भएपछि अब उड्डयन नियमावलीमै यो फ्लाई ओशर शुल्क तोकिने भएको छ । अहिले भने प्राधिकरणले न्युनतम एरोनटिकल चार्स मात्र लिने गरेको जानकारी दिएको छ ।

हरेक उडानमै कम्तिमा साढे तीन लाख फाइदा
हिमालयन रुटलाई अनुमति दिने सहमति पछि नेपाल वायुसेवा निगमलाई एउटा अन्तर्राष्ट्रिय उडानमा कम्तिमा साढे तीन लाख फाइदा हुने भएको छ । काठमाडौंबाट हङ्कङ जाँदा बंगलादेश हुँदै जाने गरिएको अव हिमालय रुट २ प्रयोग गर्दा करीब २० मिनेटको दुरी छोटो पर्ने भएको छ ।

यो दुरी घटेपछि निगमलाई १३ सय लिटर इन्धन बचत, एकतर्फि उडानमै एक सय डलर, फ्लाई ओभर शुल्क घट्ने भएकोले हरेक उडानमा तीन लाख ६४ हजार रुपैयाँ फाइदा हुने छ । यसबाट समय, जहाजको इन्जिन आवर, इन्धन तथा नगद खर्चमा नै कम हुने उल्लेख छ ।
उडान दुरी छोटो भएपछि सम्वन्धित देशको आशास प्रयोग गरेवापत निगले तिर्दे आएको फ्लाई ओभर शुल्क उडानको दुरी अनुसार कम हुन्छ ।

हाल निगमले हरेक अन्तर्राष्ट्रिय उडानमा नेपाली आकाशको प्रयोग गरेवापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बाहिरिदा र भित्रदा ३४५/३४५ डलर बुझाउने गरेको छ । ओभर फ्लाइ ओभर शुल्कबापत सम्वन्धित मुलुकले लिने यस्तो रकममा भारत जाँदा २७० डलर, फर्कदा ३११ डलर, वंगलादेश जाँदा ४२० डलर, फर्कदा ४२० डलर नै तिर्दै आएको छ ।

निगमले चीन जाँदा ३०२ र फर्कदा २७० डलर, हङ्कङ जाँदा आउँदा १४२ डलर, म्यान्मार जाँदा÷आउँदा २३८ डलर तिर्दे आएको छ । यसरी विदेशी आकाश प्रयोग गरेवापत बुझाउनुपर्ने शुल्क निगमले काठमाडौबाट हङ्कङसम्म जादा १६ सय १० र फर्कदा १५ सय ४० डलर तिर्ने गरेको निगमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.