१० महिनासम्म पनि थपिएन नयाँ क्यिरिङ बैंक, नेपाल धितोपत्र बोर्ड भन्छ-सिसिडएसले टेरेन

  २०७३ पुष ४ गते १६:००     विकासन्युज

काठमाडौं, ४ पुस । नेपाल धितोपत्र बोर्डले थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्यिरिङ लिमिटेडलाई निर्देशन दिएको १० महिना वितिसक्दा पनि अझै क्लियरिङ बैंक थपिएको छैन ।

माघ १३ गते धितोपत्र बोर्डले उनीहरुलाई २०७३ बैसाख १ गतेभित्र थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि निर्देशन दिएको थियो । तर अहिलेसम्म पनि नेप्से र सिडिएसले क्लियरिङ बैंक थप्ने विषयमा वेवास्ता गरेको छ ।

धितोपत्र बोर्डले पटक पटक क्लियिरङ बैंक थप्नका लागि नेप्से र सिडिएसलाई निर्देशन दिएपनि उनीहरुले आलटाल गर्दै आइरहेका छन् । ‘काम अन्तिम चरणमा पुगेको भन्दै बोर्डलाई नेप्से र सिडिएसले अल्मल्याइरहेको छ,’ बोर्डका प्रबक्ता निरज गिरीले भने ।

पटक पटक नेप्से र सिडिएसलाई क्लियरिङ बैंक थप्ने बारेमा स्पष्ट पार्न भनिएपनि विभिन्न बहाना बनाएर उनीहरु तर्किने गरेको गिरीले जानकरी दिए ।

गिरीका अनुसार बोर्डले छिट्टो काम गर भनेर दवाव दिनुबाहेक अन्य विकल्प छैन । बोर्डले कारबाहीको नाममा पनि जरिवाना गराउन सक्छ तर त्यसले केही असर गर्दैन, प्रबक्ता गिरीले भने ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत देशप्रकाश गुप्ता भने आगामी सञ्चालक समितिको बैठकमा क्लियरिङ बैंक थप्नेबारेमा निर्णय हुने बताउँछन् । उनले भने,‘आगामी सञ्चालक समितिको बैठकमा हामी प्रस्ताव लिएर जान्छौ । ‘सम्पुर्ण काम सकिएको छ सञ्चालक समितिबाट निर्णय हुनेवित्तिकै सार्वजनिक सुचना प्रकाशित गरी टेन्डर आव्हान गर्दछौ,’ गुप्ताले भने । प्राविधिक काम भएकोले समय लागेको उनले बताए ।

बोर्डले ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो ।

बोर्डले आफ्नो निर्देशनको अवज्ञा गरे कारवाही गर्ने चेतावनी दिएपछि क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाउन नेप्से र सिडिएस बाध्य भएका थिए । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । सेयर बजारको आकार र कारोबार निकै ठुलो भैसकेकाले राफसाफ प्रक्रिया चुस्तदुरुस्त बनाउन भन्दै बोर्डले क्लियरिङ बैंक थप्नुपर्ने आवश्यकता औल्याएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.