तराईका २ सडक चार लेनका बन्दै, एडिबीको सहुलियत दरमा १८ अर्ब १५ करोड ऋण

  २०७३ पुष ३ गते १७:३०     विकासन्युज

four-lane_highwayकाठमाडौं, ३ पुस । नारायणगढ–बुटवलको ११५ किलोमिटर र भैरहवा–लुम्बिनीको १८ किलोमिटर सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकमा स्तरोन्नति हुने भएका छन् । भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर सडक आगामी ३ बर्षभित्रै चार लेनको सडकमा विस्तारित हुँदैछ भने नारायणगढ–वुटवलको ११५ किलोमिटर सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सुबिधा सम्पन्न सडकमा रुपान्तरित हुँदैछन् ।

त्यसका लागि एसियाली विकास बैंकले १८ अर्ब १५ करोड रुपैंयाँ सहुलियत दरको ऋण उपलब्ध गराउँदैछ । त्यस्तो सम्झौतामा आगामी जनवरी महिनामा हस्ताक्षर गर्ने अन्तिम तयारी भैरहेको छ । त्यस्तै, लुम्बिनीदेखि तौलिहवासम्मको २२ किलोमिटर खण्ड पनि २ लेनको सडक बन्नेछ । हाल भैरहवा लुम्बिनी सडक २ लेनको र लुम्बिनी तौलिहवा सडक सिंगल लेनका छन् ।

लुम्बिनी क्षेत्र विकास कोषले पौराणिक महत्वका समान नष्ट हुन सक्ने भन्दै लुम्बिनी तौलिहवामा भने डबल लेनको सडक मात्रै बनाउन सकिने बताएको छ । यो सडकको स्तरोन्नति ३ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत सो सडकको स्तरोन्नतिका लागि सहुलियत ऋण उपलब्ध गराउन लागेको हो ।

एडिबीले नारायणगढ–बुटवल खण्डका लागि १६ अर्ब र भैरहवा–लुम्बिनी–तौलिहवा खण्डका लागि २ अर्ब १५ करोड रुपैंयाँ ऋण दिन लागेको हो । यी दुबै सडक निर्माण गर्दा खरिद गरिने समानमा लाग्ने भ्याट भने नेपाल सरकारले व्यहोर्नुपर्नेछ ।

यी दुबै सडकहरुको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार भैसकेको सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय(एडिबी)का इञ्जिनियर प्रदिपराज शाक्यले बताए । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा ८ किलोमिटर सडक भने डबल लेनको मात्रै हुनेछ त्यसमा फुटपाथ र साइकल लेन राखिने विभागका इञ्जिनियर शाक्यले जानकारी दिए ।

यो आयोजना आगामी साढे तीन बर्षभित्रै सम्पन्न हुने उनले जानकारी पनि दिए । ‘तराईका जनताको जिवनस्तरसँग जोडिएका यी सडककको निर्माण तिब्र गतिहा अघि बढ्नेछ’, विभागका सिनियर डिभिजनल इञ्जिनियर कमलदेव प्रसाद साहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.