वार्षिक सेयर कारोबार १५० प्रतिशतले वृद्धि, नेप्सेको नाफा १२८ प्रतिशतले बढ्यो, सेयरधनीलार्इ ५० प्रतिशत नगद लाभांश

  २०७३ पुष १ गते १८:०६     विकासन्युज

काठमाडौं, १ पुस । गत आर्थिक वर्षमा सेयर कारोबार १५० प्रतिशतले वृद्धि हुँदा नेपाल स्टक एक्सचेञ्जको नाफा १२८ प्रतिशतले वृद्धि भएको छ । नेप्सेले आर्थिक वर्ष २०७१/७२ मा २१ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेकोमा २०७२/७३ मा रु.४८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

लेखापरिक्षण प्रतिवेदनअनुसार नेप्सेले आ.व. २०७१/७२ मा रु. ३८ करोड २६ लाख आम्दानी गरेकोमा आ.व. २०७२/७३ मा रु. ७८ करोड ३४ लाख आम्दानी गरेको छ । गत विहीबार सम्पन्न नेप्सेको ३५ औं वार्षिक साधारणले आर्थिक वर्ष २०७२/७३ को ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

nepseआर्थिक वर्ष २०७१/७२ मा ६५ अर्ब ३३ करोड बराबरको धितोपत्रहरुको कारोबार भएकोमा आर्थिक वर्ष २०७२/७३ मा १५०.९६ प्रतिशतले वृद्धि भई १६३ अर्ब ९५ करोड बराबरको कारोबार भएकोले नेप्सेको नाफामा वृद्धि भएको हो । दैनिक औसत कारोबार अघिल्लो आर्थिक वर्षमा ३० करोड २८ लाख रहेकोमा गत आर्थिक वर्षमा वृद्धि भई दैनिक ७० करोड ६६ लाख पुगेको छ ।

आ.व. २०७१/७२ मा ४ लाख ७७ हजार २ सय ७८ वटा कारोबारबाट १५ करोड ९७ लाख १७ हजार एक सय ७४ कित्ता शेयर खरिद बिक्री भएकोमा आ.व. २०७२/७३ मा ८ लाख ३१ हजार ९ सय ९७ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार ९ सय ५०कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आ. व. को तुलनामा आ.व. २०७२/७३ मा कारोबार संख्यामा ७४.३२ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा ८९.०९ प्रतिशतले वृद्धि आएको छ ।

आ.व. २०७१÷७२ मा रु. ९ खर्ब ८९ अर्ब रहेको बजार पुँजीकरणमा ९१.०३ प्रतिशतले वृद्धि आई आ.व. २०७२/७३ मा रु. १८ खर्ब ९० अर्ब कायम भएको छ । गत आ.व. मा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २३२ रहेकोमा आ.व. २०७२/७३ मा थप १५ वटा कम्पनी सूचीकृत भएका छन् भने १८ कम्पनीहरु मर्ज तथा प्राप्ती भई यो संख्या २२९ कायम भएको छ । समीक्षा वर्षमा १२८ कम्पनीको रु. २१ अर्ब २ करोड बराबरको बोनस शेयर एवम् २८ कम्पनीको रु. ३ अर्ब ७४ करोड ७७ लाख बराबरको हकप्रद शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक आ.व. २०७१/७२ को अन्त्यमा ९६१.२३ पुगेको थियो भने समीक्षा वर्षको अन्त्यमा १७१८.१५मा आइपुगेको थियो । उक्त परिसूचक अघिल्लो आ.व.को तुलनामा आ.व. २०७२/७३ मा ७८.७४ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.