महानगरका सडकमा ५० हजार सौर्य बत्ती जडान गर्न ५ अर्ब लाग्ने, जडित बत्ती धुलोका कारण बलेन

  २०७३ पुष १ गते ११:५५     विकासन्युज

काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिका भित्रको सबै सडकमा सौर्य बत्ती जडान गर्नको लागि करिब ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा शहरी क्षेत्र त्यसमा पनि महानगर क्षेत्रमा रातको समय पनि उज्यालो राख्न सौर्य बत्ती जडान कार्यक्रम घोषणा गरेको थियो ।
solar_lights_roadsमहानगरपालिका भरि सौर्य बत्ती जडान गर्न ५० हजार पोल आवश्यक रहेको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले बताए । सडकमा एउटा सौर्य बत्ती राख्न पोल, सोलार प्यानल, लाईटसहित १ लाख २० हजार रुपैयाँ पर्ने उनले बताए । सरकारले स्रोत जुटाइ दिएमा न्यूनतम ३ देखि अधिकतम ५ वर्षभित्र सो कार्यक्रम सम्पन्न गर्न सकिने उनले बताए ।

हाल महानगरपालिकाले उपभोक्ता समितिहरुसँगको सहकार्यमा चालू आवमा एक हजार वटा सौर्य बत्ती जडान गर्ने योजना बनाएको छ । रेग्मीका अनुसार अहिलेसम्म महानगरले विभिन्न १८ स्थानमा सौर्य बत्ती जडान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

धुलोका कारण बल्दैनन् बत्तीः

मापदण्ड जति राम्रो भएपनि महानगर भित्र जडित बत्ती नियमित बल्दैनन् । सौर्य बत्ती जडान गरिएका स्थानका सौर्य बत्तीहरु राती नपर्दै निभिसकेको देखिन्छ । महानगरका अनुसार सोलार प्यानलमा धूलो जम्नुनै बत्ती नबल्नुको मुख्य समस्या भएको बताएको छ ।

‘प्यानलहरु सफा नगरिएकाले राती अवेरसम्म बत्ती बल्न नसकेको हो, ’रेग्मीले भने ‘सफा गरे बत्ती बल्छ,’ कुनै पोलमा बत्ती (बल) जलेको कारण पनि निभेको हुन सक्छ ।’ समय समयमा यसको मर्मत सम्भार तथा अनुगमन गरिनु पर्ने र महानगरले जडान गरेको स्थानमा अनुगमन पनि भइरहेको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले बताए ।

महानगरले हालसम्म जडान गरेको २ हजार सौर्य बत्ती पनि ६० ओटा उपभोक्ता समितिसँग मिलेर जडान गरेको हो । उपभोक्तासँगको सहकार्यमा सौर्य बत्ती जडान गर्दा लाग्ने खर्चमा उपभोक्ताको १५ प्रतिशत, महानगरको २५ र नेपाल सरकारको ६० प्रतिशत लाग्ने व्यवस्था तय गरिएको छ । स्थानीय सहभागिता भए दिगो संरक्षण हुने भन्दै महानगरपालिकाले स्थानीयलाई सहभागी गराएको हो । कतिपय ठाउँमा भने स्थानीयकै कारणले पनि बत्ती जडान ढिलाइ भएको महानगरपालिकाले जानकारी दिएको छ ।

सौर्य बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड छ भने ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष ग्यारेन्टी भएको हुनुपर्ने उल्लेख छ । एक पोलदेखि अर्को पोलको दुरी २५ मिटर र पोलको उचाइ ७ मिटरको हुनुपर्ने प्रावधान राखिएको छ ।

करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ भित्री सडकमा १ हजार ७ सय सौर्य बत्ती तिहारसम्ममा जडान गरिसक्ने महानगरको योजना थियो । तर विभिन्न कारणले सो काम अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन । बत्ती जडान गर्न आवश्यक पोल, ब्याट्री, प्यानललगायत सामग्री समयमै उपलब्ध नहुँदा ढिलाइ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.