५ सय र एक हजार दरका भारु नोट नेपालमा पनि नचल्ने, राष्ट्र बैंकको ढुकुटीमा २ लाख मात्रै

  २०७३ कार्तिक २४ गते ११:०९     नारायण पौडेल

ic_1000_500काठमाडौं, २४ कात्तिक । भारतले ५ सय र एक हजारका भारतीय रुपैंयाँ सञ्चालनमा रोक लगाएपछि नेपालले पनि सो मुद्राको कारोबारमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि ५ सय र एक हजार दरका भारतीय नोट कारोबारमा रोक लगाएको प्रवक्ता नारायण पौडेलले विकासन्युजलाई जानकारी दिए ।

राष्ट्र बैंक सञ्चालक समितिले नयाँ व्यवस्था नभएसम्मका लागि भन्दै सो दरका भारतीय नोट कारोबारमा रोक लगाएको हो ।
भारत सरकारले कालोधन नियन्त्रणका लागि भन्दै मंगलबार राती १२ बजेबाट ५ सय र एक हजार दरका नोट कारोबारमा रोक लगाएको थियो ।

प्रवक्ता पौडेलका अनुसार नेपाल राष्ट्र बैंकमा ५ सय र एक हजार दरका करिब २ कराेड रुपैंयाँ मात्रै रहेको छ ।‘हाम्रो थापाथली कार्यालयमा एक हजार दरका ६० हजार र पाँच सय दरका २० हजार नोट मात्रै छन्, बैंकहरूसँग पनि उक्त दरका नाेट ठूलाे परिणाममा छैन , प्रवक्ता पौडेलले भने ।

विगतमा पनि लामो समयसम्म नेपालमा ५ सय र एक हजार दरका भारतीय रुपैंयाँको कारोबारमा रोक लागेकाले नेपालीहरुसँग सो दरका नोट खासै नरहेको पनि उनले बताए ।‘नेपालमा पहिले पनि ती नोटमा रोक लागेको थियो, त्यसैले ५ सय र एक हजार दरका भारतीय नोट नेपालीको प्राथमिकतामा थिएनन्, हात पर्ने वित्तिकै साट्दै आएका थिए’, प्रवक्ता पौडेलले भने ।

उनले सर्वसाधारणसँग भएका त्यस्ता नोट सटही गरिदिनेबारे भने अहिले नै राष्ट्र बैंकले केहि निर्णय नगरेको र गर्न नसक्ने पनि स्पष्ट पारे ।‘हामीले बजारबाट नोट उठाउँला तर भारतले साट्न मानेन भने के गर्ने ? त्यसकारण अब यो सवाल सरकारको कोर्टमा पुगेको छ । कुटनीतिक माध्यमबाट सुल्झाउनुपर्छ’, पौडेलले भने ।

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.