विश्व स्काउट महिलाको क्षेत्रीय सम्मेलन काठमाडौंमा शुरु

  २०७३ भदौ १३ गते ११:२१     विकासन्युज

काठमाडौं, १३ भदौ । विश्व स्काउट महिला सङ्गठनको १२औँ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल स्काउटको आयोजनामा होटल याक एन्ड यतिमा पाँच दिनसम्म सञ्चालन हुने क्षेत्रीय सम्मेलनको एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका छन्।

scout

नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २६ देशका २५० स्काउट प्रतिनिधिको सहभागिता रहेको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङलाई जनमुखी बनाई विशेष गरी युवापुस्तालाई व्यावहारिक सीप र ज्ञान दिन सरकारको तर्फबाट विशेष भूमिका निर्वाह हुनुपर्ने विचार व्यक्त गरे ।

उनले स्काउटिङ क्रियाकलापमा महिलाको सहभागिता र उनीहरुको क्षमता अभिवृद्धिमा स्काउटिङ अभियान सफल होस् भनी शुभकामना व्यक्त पनि गरे । राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङ सुरु भएको छ दशकको अवधिमा बालबालिका, युवा–युवती तथा किशोर–किशोरको सर्वाङ्गीण विकासका साथै राष्ट्रप्रति समर्पित कर्तव्यबोध नागरिक तयार पार्ने कार्यमा नेपाल स्काउटले शैक्षिक अभियानका माध्यमबाट खेलेको भूमिकाको सराहना गरेका छन्।

प्राकृतिक विपत्ति, विनाशकारी भूकम्पका बेला नेपाल तथा विश्व स्काउटले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै उनले देश अहिले पुनःनिर्माणको अभियान अगाडि बढेको सन्दर्भमा स्काउटको परोपकारी भूमिकालाई अरु व्यापक बनाउने कार्यमा सरकारका सम्बन्धित निकायले थप सहयोग र समन्वय गर्नुपर्ने खाँचो औँल्याए ।

राष्ट्रपति भण्डारीले नेपाल स्काउटले नेपाली जनताको समृद्धिका लागि संविधानको भावना र मर्मअनुसार आफ्ना नीति तथा कार्यक्रमलाई जनमुखी बनाउन थप अग्रसर हुने विश्वास व्यक्त गरेका छन्। युवा तथा खेलकुदमन्त्री दलजीत पाइलीले नेपालमा स्काउट्री क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पुर्याएको योगदानको सराहना गर्दै स्काउट सेवालाई विद्यालय तहमै पाठ्यक्रममा समावेस गरिने बताए ।

स्काउट एसिया प्रशान्त क्षेत्रीय प्रमुख लोली जाङले एकतामा विविधतासँगै नेतृत्व विकास र क्षमता अभिवद्धिमा विश्व स्काउटका करिब ३५ लाख स्वयम्सेवकले सेवा दिइरहेको उल्लेख गरे । नेपाल स्काउटका प्रमुख आयुक्त रवीन दाहालले युवापुस्तालाई क्षमतावान् र कर्तव्यशील नागरिक बनाउन स्काउटिङ गतिविधिले सहयोग पुगेको बताए।

नेपाल स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीका अनुसार हरेक तीन वर्षमा यस्तो सम्मेलन आयोजना हुने गरेको छ । सम्मेलनमा महिला नेतृत्व तथा क्षमता विकास, विपद् व्यवस्थापनका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यशाला सञ्चालन हुनेछन् । ‘विश्वलाई नै जोड्नु, उत्पादन र प्रभाव पार्नु’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको प्रतीक चिह्न ‘हाम्रो डाँफे’ राखिएको छ ।

सम्मेलनले स्काउटको अध्यक्षसहित चार सदस्यीय एसिया प्रशान्त क्षेत्रीय कार्यसमितिको पनि निर्वाचन गर्ने सचिव भण्डारीले जानकारी गराए। स्काउटिङ पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने र विश्व स्काउटका संस्थापक वेडेन पावेलको नामकरण गरिएको रसुवाको ‘उर्केमा’ हिमाल आरोहणमा स्काउटको सहभागिता बढाउने उद्देश्यले सम्मेलन काठमाडौंमा गरिएको आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.