काठमाडौं, २९ साउन। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा १० अर्ब अमेरिकी डलर सञ्चित गरेको छ । यो सञ्चिति अघिल्लो आवको तुलनामा २० प्रतिशत अर्थात् १ अर्ब ६७ करोडले बढी हो ।
अघिल्लो आवमा केन्द्रीय बैंकसँग ८ अर्ब ३३ करोड डलर सञ्चित थियो । चालू आर्थिक वर्षमा इन्धन आयातमा कमी तथा रेमिट्यान्स धेरै भित्रिएपछि डलर सञ्चिति बढेको हो। भूकम्पका कारण विदेशी सहायता पनि बढी आउँदा डलर बढेको अधिकारीको भनाइ छ ।
वैदेशिक व्यापारमा निर्यात बढी भएमा डलर परिमाण बढी भित्रने र वस्तु तथा सेवा आयात गर्दा डलर बाहिरिन्छ । गत आवकोे डलर सञ्चितिले करिब डेढ वर्षको वस्तु आयात धान्ने छ । सञ्चितमध्ये ८५ प्रशित केन्द्रीय बैंक र बाँकी १५ प्रतिशत वाणिज्य बैंकहरूमा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
डलर सञ्चिति बढेपछि सर्वसाधारणका लागि डलरको कारोबारको सीमासमेत बढाइएको छ । डलरमा बैंक खाता हुने सर्वसाधारणले वार्षिक १० हजारबाट अब १५ हजारसम्मको कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।
गत वर्ष कुल व्यापारघाटा ७ खर्ब ४ अर्ब ४५ करोड भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ०.४९ प्रतिशत बढी हो । अघिल्लो वर्ष ७ खर्ब ९९ करोड रुपैयाँ व्यापारघाटा थियो ।
आयात ७ खर्ब ८६ अर्ब १९ करोडबाट १.४६ प्रतिशतले घटेर ७ खर्ब ७४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निर्यात ८५ अर्ब १९ करोडबाट घटेर ७० अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हुनाले पनि डलर बचेको हो ।
विकसित मुलुकहरूले ३ देखि ५ महिना, विकासशील मुलुकले ६ महिना तथा कम विकसित मुलुकले ९ देखि ११ महिनासम्मलाई पुग्ने वस्तु तथा सेवा खरिद गर्न सकिने परिमाणमा डलर सञ्चित गर्छन् ।