बैशाखमा ठूलो मात्रामा रकमान्तर, एमाले र एमाओवादी नेताले संहालेको मन्त्रालयमा बढी गयो

  २०७३ जेठ २४ गते १२:४८     विकासन्युज

काठमाडौं, २४ जेठ । गत बैशाख महिनामा सरकारले ठूलो मात्रामा बजेट रकमान्तर गरेको छ । नयाँ गठन भएका मन्त्रालयको लागि आवश्यक बजेटको ब्यवस्थापन गर्न र सरकारमा सहभागी राजनीतिक दलहरुको राजनीतिक कार्यक्रमलाई सहयोग गर्न यसरी रकमान्तर गरिएको हो । अर्थमन्त्रालयले बैशाख महिनामा गरेको रकमान्तरलाई आधार मान्दा विकास निर्माण र पूजी निर्माणको लागि रकम खर्च भएको देखिदैन ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार बैशाख महिनामा सरकारले हालै गठन गरेको राष्ट्रिय युवा परिषदलाई १ करोड रुपैयाँभन्दा बढी बजेट रकमान्तर गरेर दिइएको छ । परिषदलाई अर्थमन्त्रालयले एक पटक ९० लाख, अर्काे पटक १६ लाख २९ हजार र तेस्रो पटक १ लाख रुपैयाँ गरी १ करोड ७ लाख २९ हजार रुपैयाँ रकमान्तर गरी बजेटको ब्यवस्था गरेको हो ।

सरकारले केही महिना अगाडि मात्रै सत्ताको नेतृत्व गरेको पार्टी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई उपाध्यक्ष बनाएर परिषद गठन गरेको थियो । परिषदलाई भैपरी आउने साधारण प्रशासन, भौतिक सुविधा र भैपरि आउने विकास कार्यक्रम शिर्षकमा बजेट दिइएको छ ।

अर्थले रकमान्तर गरी सुचना तथा संचार मन्त्रालयलाई ३० लाख रुपैयाँ बैशाख महिनामा दिएको छ । संचारलाई पानी तथा विजुली शिर्षकमा नपुग रकम दिइएको अर्थमन्त्रालयले जानकारी दिएको छ । संचार मन्त्रालय एमालेकै नेता शेरधन राई मन्त्री छन् ।

बैशाख महिनामा अर्थमन्त्रालयले गृहमन्त्रालयलाई खुसी पार्न निकै धेरै रकम रकमान्तर गरी दिएको छ । एमाओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेतृत्व गरेको गृहमन्त्रालय अन्तरगतको अध्यागमन कार्यालयहरुको कार्यसंचालनको लागि रकमान्तर गरी ९१ लाख ५३ हजार रुपैयाँ बजेट दिइएको छ ।

गृहमन्त्रालयलाई अन्य शिर्षकहरुमा पनि रकमान्तर गरी मोटो रकम उपलब्ध गराइएको छ । राष्ट्रिय अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी अस्पताल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान, क्षेत्रीय प्रहरी कार्यालयहरु, महानगरीय प्रहरी र जिल्ला प्रहरी कार्यालयहरुलाई गरी ८३ करोड १८ लाख रुपैयाँ रकमान्तर गरी बजेट दिइएको छ ।

नयाँ गठन भएको बाणिज्य मन्त्रालयको लागि पनि मोटो रकम उपलब्ध गराइएको छ । ब्यवस्थापिका संसद अन्तरगतको अर्थसमितिलाई पूर्बबजेट छलफल कार्यक्र संचालनको लागि अर्थमन्त्रालयले १८ लाख ८२ हजार रुपैयाँ बजेट दिइएको छ ।

एमाओवादी केन्द्रकै नेताले संहालेको उर्जा मन्त्रालयलाई राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धि कार्ययोजना कार्यान्वयनको लागि विधयेक समितिलाई कार्यक्रम खर्च भन्दै साढे ७ लाख रुपैयाँ रकमान्तर गरी बजेट दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.