भोलि सबै निजी सवारी साधनले पेट्रोल पाउने, पेट्रोल हाल्न ब्लुबुक अनिवार्य

  २०७२ असोज २५ गते १५:०३     विकासन्युज

काठमाडौं, २५ असोज । नेपाल आयाल निगमले भोलि (२६ असोजमा) सवै निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्दैछ ।

भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो ।

दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल निगमले निजी सवारीलाई पनि तेल दिने निर्णय गरेको हो । निगमले मंगलबार काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । दिउँसो १ बजेदेखि सबै पम्पमा पेट्रोल/डिजेल वितरण सुरु गर्ने तयारी गरिएको छ । एक स्थानमा तेल भरेकाले अर्को स्थानमा गएर भर्न पाउने छैनन् ।

उपत्यकामा रहेका झण्डै १ सय २५ पेट्रोलपम्पहरुले निजी सवारीलार्इ इन्धन वितरण गर्नेछन् । ‘मंगलबार निजी सवारी साधनलाई पेट्रोल वितरण गरिने छ,’ नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भने । निगमले सहजरुपमा तेल लिने वातावरण बनाउन सबै पम्पहरुलाई तेल दिन लागेको उनले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक सवारीलाई भने बसपार्क क्षेत्रका केही पम्पहरूमा मात्र तेल पाउने छन् । निगमले गरेको ब्यवस्था अनुसार निजी मोटरसाइकलले ५ लिटर मात्रै पेट्रोल पाउने छन् । यस्तै चारपांग्रे कार, जिप/भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको छ ।

निगमले सार्वजनिक यतायात अन्तरगत जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।

यस्तै अत्यावश्यक बस्तु ढुवानीमा संलग्न साना गाडीहरुले जोरबिजोरका आधारमा १० लिटर तेल पाउँदै आएका छन् । अतिआवश्यक सेवाका दमकल, एम्बुलेन्स लगायतलाई दैनिक १० लिटर तेल उपलब्ध गराउने क्रम चलिरहेको छ । ट्याक्सीले सातामा १० लिटर पेट्रोल पाउँदै आएका छन् ।

निगमले तेल भर्न आउँदा सवारीको ब्लुबुक बोकेर आउन आग्रह गरेको छ । तोकिएको परिमाणअनुसार इन्धन भरेर ब्लु बुकमा आयल निगमको लोगो अंकित छाप लगाउने व्यवस्था गरिएको प्रवक्ता बरालले बताए ।

‘सवारीसाधनमा इन्धन भरेपछि मिति उल्लेख गरी ब्लु बुकमा आयल निगमको छाप लगाउँछौं, ‘त्यसैका आधारमा एक ठाउँमा तेल भरेको सवारीले अन्यत्र तेल भर्न पाउँदैन,’ बरालले भने ।

दसैँमा सवारीसाधन चलाउन सजिलो गराउन र उपत्यकाबाट बाहिरिनेलाई पनि ध्यानमा राखेर निगमले आफ्नो क्षमता अनुरुप अधिकतम तेल वितरण गरिने स्पष्ट गरेको छ । उपत्यकामा मंगलबार ६ लाख लिटर पेट्रोल वितरण गर्ने योजना छ ।

भारतबाट तेल आउन कम भएपछि निगमले कोटा निजी सवारीलाई तेल दिन बन्द गरेको छ । तर, मंगलबार एक दिन मात्र निजी सवारीलाई तेल दिन लागिएकाले पेट्रोल पम्पहरुमा भिड सोमवारदेखि नै लागिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.