आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित हुने

  २०७१ फागुन ४ गते १७:०२     विकासन्युज

४ फागुन । यस आर्थिक बर्षको आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सिमित हुने नेपाल राष्ट्र बैंकले बताएको छ ।
‘कृषिको वृद्धिदर दुई प्रतिशतभन्दा कम रहेको छ, यसलेगर्दा हामीलाई छ प्रतिशतको वृद्धि हासिल गर्न सम्भव नभएको हो, ’ गभर्नर डा. युवराज खतिवडाले बताए । राष्ट्र बैंकले सोमवार मौद्रिक नीतिको अद्र्धबार्षिक समिक्षा सार्वजनिक गरेको छ । आर्थिक वृद्धिदर छ प्रतिशत हुन अन्य क्षेत्रको वृद्धि आठ प्रतिशत हुनुपर्ने भएपनि यसको सम्भावना नरहेकोले आर्थिक वृद्धिदर लक्ष्य गरिएभन्दा कम हुने बैंकले बताएको छ ।
यस बर्ष मूल्य वृद्धिदर भने आठ प्रतिशतमा सिमित हुने प्रक्षेपण राष्ट्र बैंकको छ । ‘हाम्रो मूल्यवृद्धिको आन्तरिक प्रक्षेपण सात प्रतिशतको हो, तर पनि आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या लगायत गैर मौद्रिक कारणलाई आधार मानेर केही स्पेस छोडेका हौं,’ गभर्नर डा. खतिवडाले भने । मूल्यवृद्धि सात प्रतिशतमा नै राख्ने लक्ष्य लिएको पनि बैंकले स्पष्ट पारेको छ । छ महिनामा उपभोक्ता मुद्रास्फिती (मूल्य वृद्धिदर ६.८ प्रतिशत) रहेको छ । गत बर्ष छ महिनाको अवधिमा यो ९.७ प्रतिशत रहेको थियो ।
सरकारी खर्च बढ्दा सरकारी ढुकुटीमा यस बर्ष ७२ अर्ब १६ करोड रुपैयाँ थुप्रिएको छ । गत बर्षको बाँकी सञ्चिती समेत गर्दा ७५ अर्ब ६६ करोड रुपैयाँ सञ्चिती रहेको छ ।
छ महिनाको अवधिमा कुल आयात १३ प्रतिशतले बढेपनि निर्यात ३.९ प्रतिशतले घटेको कारण व्यापार घाटा १६ प्रतिशतले बढेको छ । यसले गर्दा शोधान्तर बचत पनि केही कम भएको छ । यसपटक शोधान्तर बचत ३४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । अघिल्लो पटक ७७ अर्ब १९ करोड रुपैयाँ बचत रहेको थियो ।
यस बर्ष रेमिट्यान्स (विप्रेषण) भित्रने क्रम भने घटेको छ । गत बर्ष विप्रेषण ३४.४ प्रतिशतले बढेकोमा यसपटकको यस्तो वृद्धिदर ३.९ प्रतिशत रहेको छ ।
‘अहिले विदेशमा रहेका नेपालीहरुले बिनिमय दरको कारण रेमिट्यान्स पठाउन केही समय कुरेका हुन सक्छन, केही समय अघि रेमिट्यान्सको प्रवाह नकारात्मक देखिएको थियो अहिले पुन सुधार भएको छ, यसले उनीहर पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्छ,’ गभर्नर खतिवडाले भने । उनले विप्रषण प्रवाह यो बर्षको अन्त्यसम्ममा नकारात्मक नहुने विश्वास गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.